फागुन ६, काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । बोर्डबाट स्वीकृती पाएसँगै कम्पनीले ६६ लाख कित्ता आईपीओ निष्कासन गर्नेछ । विक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ ।
हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्व ५४ करोड रहेको छ । आईपीओ निष्कासन पछि पूँजी रू.२ अर्ब २० करोड पुग्नेछ । कम्पनीको नाफा गत आवको दोस्रो त्रैमासको तुनलामा चालू आवको सोही अवधिमा ५६ प्रतिशत वृद्धि भएको छ ।
गत आवको दोस्रो त्रैमासमा रू. ६ करोड ८९ लाख नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू. १० करोड ७८ लाखभन्दा बढी पुर्याएको छ ।
कम्पनीको आम्दानी चालू आवको दोस्रो त्रैमासमा ५४ प्रतिशतले वृद्धि भएकाले नाफामा वृद्धि भएको हो । सोही अवधिमा कम्पनीले रू. १ अर्ब ४४ करोड ५४ लाख बीमाशुल्क आर्जन गरेको छ ।
यो बीमाशुल्क गत आवको दोस्रो त्रैमासको तुलनामा ९२ प्रतिशतले वृद्धि भएका हो । कम्पनीले गत आवको दोस्रो त्रैमासमा ७५ करोड १३ लाख बीमाशुल्क आर्जन गरेको थियो ।
चुक्तापूँजी रू. १ अर्ब ५४ करोड रहेको कम्पनीले जगेडा कोषमा रू. ४८ करोड २४ लाखभन्दा बढी सञ्चित गरेको छ । चालू आवको दोस्रो त्रैमासमा कम्पनीको जीवन बीमा कोषमा रू. २ अर्ब ९१ करोड ७९ लाख जम्मा भएको छ । सोही अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू. १४ र प्रतिशेयर नेटवर्थ रू. १३४ दशमलव ८१ रहेको छ ।