फागुन ६, काठमाडौं । साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ । अघिल्लो कारोबार दिनको तुलनामा २४ दशमलव २३ अंक बढेर २ हजार ६३६ दशमलव ६८ विन्दुमा नेप्से पुगेको हो ।
बिहीवार २०६ ओटा कम्पनीको १ करोड ९६ लाख ४६ हजार ५७८ कित्ता शेयरको ९० हजार २०२ पटकमा रू. ८ अर्ब ७६ करोड २१ लाख ४६ हजार ७८५ बरावरको शेयर खरीदविक्री भएको छ ।
बिहीवारको कारोबारमा सबैभन्दा बढी नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । उक्त कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. २७५ पुगेको हो । दोस्रोमा कर्णाली डेभलपमेण्ट बैंकको शेयर मूल्य ९ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ ।
त्यसैगरी बिहीवार सर्वाधिक कारोबार एनआईसी एशिया बैंकको भएको छ । कम्पनीको रू. ५६ करोड १ लाख ८३ हजार बरावरको शेयर खरीदविक्री भएको छ । दोस्रोमा नेपाल इन्फ्रास्टक्चर बैंकको रू. ५० करोड ८२ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ ।
बिहीवारको कारोबारमा आएका १२ ओटा समूहमध्ये लघुवित्त समूहको परिसूचक शून्य दशमलव ६२ प्रतिशत, निर्जीवन बीमा कम्पनीको परिसूचक शून्य दशमलव ३८ प्रतिशत र जीवन बीमा समूहको परिसूचक शून्य दशमलव ५९ प्रतिशतले घटेको छ भने बाँकी समूहको परिसूचक बढेको छ ।
सबैभन्दा बढी विकास बैंक समूहको परिसुचक २ दशमलव ३३ प्रतिशतले वृद्धि भएको छ । त्यसैगरी बिहीवार सबैभन्दा बढी मिर्मिरे माइक्रोफाइनान्स कम्पनीको शेयर मूल्य घटेको छ ।
कम्पनीको शेयर मूल्य ४ दशमलव ९१ प्रतिशतले घटेर प्रतिकित्ता रू. १ हजार ६४५मा झरेको हो । दोस्रोमा हिमालयन उर्जा विकास कम्पनीको शेयर मूल्य ३ दशमलव ७० प्रतिशतले घटेर प्रतिशेयर रू. ३१२ पुगेको छ ।
पछिल्लो सयमममा बैंकिङ समूहले नेप्सेलाई अग्ररता दिइरहेको छ । बैंकहरुको शेयर मूल्य अरुको तुलनामा केहि सस्तो भएको तथा लाभांश क्षमता राम्रो भएकाले पनि बैंकिङ्ग क्षेत्रतिर लगानीकर्ताको आकर्षण बढेको हो ।
साथै अरु समूहभन्दा बैंकिङ समूहमा लगानी बढी सुरक्षित हुनाले पनि यसप्रति लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।