फागुन ६, काठमाडौं । भारत सरकारको अनुदान सहयोगमा पुनर्निर्माण हुने काठमाडौं कागेश्वरीस्थित श्री कान्ति भैरव माध्यमिक विद्यालयको विद्यालय भवनको बिहीवार शिलान्यास गरिएको छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र भारतीय राजदूतावासकी मिसन उपप्रमुख नामग्या खम्पाले संयुक्त रुपमा शिलान्यास गरेका हुन् ।
कागेश्वरी नगरपालिका–५, थलीमा पुनर्निर्माण हुन लागेको नमूना विद्यालय भारतीय अनुदान सहयोगमा पुनर्निर्माण हुने लागेको सबैभन्दा ठूलो बजेटको विद्यालय हो । उक्त भवन निर्माण गर्न भ्याटबाहेक २६ करोड ५८ लाख ६० हजार ७४१ रुपियाँमा ठेक्का सम्झौता भएको छ ।
सो अवसरमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नेपाली वास्तुकला झल्कने डिजाइनसहित नमूना भवन बन्न लागेकोमा खुशी व्यक्त गर्दै शैक्षिक गुणस्तरमा समेत विद्यालय नमूना हुने विश्वास व्यक्त गरे।
भारतीय राजदूतावासकी मिसन उपप्रमुख खम्पाले विद्यालय पुनर्निर्माण क्षेत्रमा भारतीय अनुदान सहयोगको संक्षिप्त चर्चा गर्दै कान्ति भैरव माध्यमिक विद्यालयको पुनर्निर्माण दुई देशबीचको मित्रताको अनुपम नमूना हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रममा संविधानसभा सदस्य दीपक कुईंकेल, कागेश्वरी मनहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापा र केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटाको सहभागिता थियो ।
फर्निचर तथा प्रयोगशालासहितका सुविधासहित पुनर्निर्माण हुन लागेको उक्त पाँच तले नमूना विद्यालयमा जम्मा ६० ओटा कोठा हुनेछन् । त्यसमा ३० ओटा कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयका लागि ५ ओटा कोठा, प्रधानध्यापकका लागि एउटा कोठा, दुई ओटा अभिभावक भेटघाट कोठा, एउटा प्रशासन कोठा, एउटा लेखा कोठा, शिक्षक तथा शिक्षिकाका लागि आठ ओटा कोठा र विद्यालयको आवश्यकताअनुसार प्रयोग गर्न मिल्ने थप आठ ओटा कोठा रहनेछन् ।
त्यसैगरी, क्यान्टिन, आगलागी नियन्त्रण गर्ने संयन्त्र, तीन ओटा व्याडमिन्टन कोर्ट र दुईवटा बास्केटबल कोर्ट, कार्यक्रम गर्ने मञ्च पनि निर्माण हुनेछ । भवनको हरेक तलामा दुवैतर्फ छात्र र छात्राका लागि अलग अलग शौचालय हुनेछन् ।
विद्यालयका शिक्षक विष्णु प्रसाद पौडेलका अनुसार विद्यालयमा करीब ९०० जना विद्यार्थी अध्ययनरत छन् । निर्माण अवधि १५ महीना भए पनि निर्माण कम्पनी योगी हनुमान जेभीले एक वर्षमै निर्माण सक्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
भूकम्पपश्चात शैक्षिक क्षेत्र पुनर्निर्माणमा भारतीय अनुदान आयोजनाअन्गर्तत बन्न लागेको उक्त विद्यालयको परामर्शदाता भारतीय संस्था केन्द्रीय भवन अनुसन्धान संस्थान, रुरकी रहेको छ ।
भारत सरकारले विद्यालय पुनर्निर्माणमा ५ करोड अमेरिकी डलर(करीब ५ अर्ब ८० करोड रुपियाँ ) सहयोग गरेको छ । अनुदान सहयोगमा आठ
ओटा जिल्लामा ७१ ओटा संरचनाहरु निर्माण हुनेछन् ।
तीमध्ये आठ ओटा सम्पन्न भइसकेका छन् भने ५६ ओटा पुनर्निर्माणको विभिन्न चरणमा छन् । कान्ति भैरवसहित थप छ ओटा विद्यालयको बिहीवारकै कार्यक्रममा प्राधिकरणअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) का आयोजना निर्देशक रामशरण सापकोटा र भारतीय दूतावासका काउन्सिलर प्रफुल्लचन्द्र शर्मा बीच सझदारीपत्रमा हस्ताक्षर पनि भएको छ ।