ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

तयारी वस्तुभन्दा कच्चा पदार्थमा बढी भन्सार

२०७७ फागुन, ७  
सम्पादकीय
Image Not Found

कोरोना रोकथामका लागि भारतीय सीमा बन्द गरिएका बेलामा नेपाली बिस्कुट उद्योगहरूले आफ्नो क्षमताअनुसार पूर्ण उत्पादन गरिरहेको अवस्थामा अहिले सीमा नाकाबाट अवैध रूपमा बिस्कुट भित्रिन थालेपछि उत्पादन कटौती गर्नुपर्ने बाध्यता आइपरेको छ । उस्तै गुणस्तर र उस्तै मूल्यमा भारतीय ब्रान्डका बिस्कुट बजारमा उपलब्ध भएपछि उपभोक्ताले नेपाली उत्पादन छाडेर भारतीय उत्पादन रोज्दा माग घटेपछि उनीहरू उत्पादन ५० प्रतिशतसम्म कटौती गर्न बाध्य भएका हुन् । बिस्कुटमात्रै होइन, नेपालका धेरै उद्योगहरूले यस्तै समस्या खेपिरहेका छन् । तर, सरकारले नेपाली उद्योगलाई संरक्षण गर्ने गरी नीति तय गर्न सकेको पाइँदैन ।

तयारी सामानभन्दा कच्चा पदार्थ आयात सस्तो बनाउन सकेमात्रै नेपाली उत्पादन सस्तो पर्न गई उद्योगहरू टिक्न सक्छन् र रोजगारी सृजना हुँदै जान्छ ।

बन्दाबन्दीका समयमा भारतीय सीमाबाट अवैध रूपमा सामान आउन नसक्दा सीमावर्ती नेपाली बजार चकमकाएको र भारतीय बजार सुस्ताएको थियो । त्यति बेला नेपाली उत्पादनले राम्रो बजार पाएको थियो । तर, अहिले फेरि भारतीय उत्पादन विनाभन्सार वा कम भन्सारमा नेपाल भित्रिन थालेपछि स्वदेशी उद्योग मर्कामा परेका छन् । बिस्कुट उद्योगका लागिा कच्चा पदार्थ भारतबाट ल्याउनुपर्ने र त्यसरी ल्याइएको कच्चा पदार्थमा भन्सार शुल्क बढी लाग्ने गरेकाले नेपाली बिस्कुटले भारतीय उत्पादनस“ग प्रतिस्पर्धा गर्न नसकेका हुन् । कच्चा पदार्थमा बढी भन्सार शुल्क लिने र तयारी वस्तुमा कम भन्सार शुल्क लिने सरकारको गलत रणनीतिको शिकार बिस्कुट उद्योग बनेका छन् । त्यही भएर ३५ ओटा बिस्कुट उद्योगमध्ये २१ ओटा बन्द भइसकेका छन् । सञ्चालनमा रहेका उद्योगको अवस्था पनि कमजोर रहेको छ ।

औद्योगिक वातावरणका लागि कच्चा पदार्थका सहज उपलब्धता हुनुपर्छ । विदेशबाट आयात हुने कच्चा पदार्थमा भन्सार लगाइनु हुँदैन । त्यस्तै प्रतिस्पर्धी उत्पादनमा भने भन्सार लगाइनुपर्छ । यसो हुँदा स्वदेशी उद्योगको प्रतिस्पर्धी क्षमता बढी हुन्छ । मूल्यमा प्रतिस्पर्धा भएपछि स्वदेशी उत्पादनले बजार बढी पाउँछ । तर, नेपालमा धेरैजसो कच्चा पदार्थमा भन्सार बढी छ भने तयारी वस्तुमा कर थोरै लगाइएको पाइन्छ । उद्योग खोल्नभन्दा तयारी सामान ल्याएर बेच्न बढी मुनाफा हुने भएपछि सरकारले नै उद्यमीभन्दा पनि व्यापारी उत्पादन गर्न खोजेको देखिन्छ । नेपालमा ठूला व्यावसायिक घरानाहरू नयाँ उद्योग खोल्नुभन्दा सामान आयात गरेर विक्री गर्न बढी संलग्नु हुुनुको कारण पनि यही हो ।

तर, देशको अर्थतन्त्र बलियो बनाउने हो, आयात कम गर्दै जाने हो तथा रोजगारी सृजना गर्दै जाने हो भने धेरैभन्दा धेरै उद्योगहरू खुल्नुपर्छ । सरकारले व्यापार गर्नभन्दा उद्योग खोल्न प्रोत्साहन गर्ने नीति लिनुपर्छ । तर, सरकार राजस्वमुखी हुँदा उद्योगलाई प्रोत्साहन कम गर्ने तर बढी राजस्व असुली गर्ने काममा उद्यत देखिन्छ ।

धेरै औद्योगिक कच्चा पदार्थमा भन्दा उत्पादित सामानमा भन्सार कम लिने प्रवृत्ति सरकारको देखिन्छ । धारामा प्रयोग हुने जेआई फिटिङको आयातमा ७ दशमलव ५प्रतिशत भन्सार लिइन्छ भने यस्तो सामान उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थमा १५ देखि ३० प्रतिशतसम्म भन्सार लिने गरिएको छ । त्यस्तै छपाइको कागज आयात गर्दा १५ प्रतिशतसम्म भन्सार लिइन्छ भने छापिएर आएका पुस्तकमा भन्सार लिन बन्द गरिएको छ । तयारी हेल्मेटमा १४ दशमलव २५ प्रतिशत भन्सार लिइन्छ भने यसको कच्चा पदार्थका लागि ३० प्रतिशत भन्सार तिर्नुपर्छ । औषधि र खाद्यान्न उद्योगीहरूको पनि यस्तै गुनासो छ । त्यस्तै कार्टोन तथा जुट उद्योगमा पनि यही समस्या छ । रङ उत्पादकहरूले पनि यस्तै गुनासो गरेका छन् । स्वदेशी प्याकेजिङ म्याटेरियलका उत्पादकले पनि यही समस्या भोग्नु परेको छ । दर्जनौं प्रकारका उद्योगहरूले यस्तै खाले समस्या भोगिरहेको र तिनले सरकारलाई बारम्बार तयारी उत्पादनमा भन्दा कच्चा पदार्थमा बढी भन्सार नलिन सरकारलाई आग्रह गरिए पनि त्यो सुनुवाइ भएको छैन ।

औद्योगिक कच्चा पदार्थमा नेपाल पर निर्भर छ । यस्तोमा तयारी सामानभन्दा कच्चा पदार्थ आयात सस्तो बनाउन सकेमात्रै नेपाली उत्पादन सस्तो पर्न गई उद्योगहरू टिक्न सक्छन् र रोजगारी सृजना हुँदै जान्छ । त्यसैले राजस्व बढी उठाउनभन्दा स्वदेशी उद्योगलाई प्रतिस्पर्धी बन्न दिने गरी भन्सार शुल्क लगाइनुपर्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्