ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सिजनमै खाद्यसँग आवश्यकभन्दा कम खाद्यान्न मौज्दात

२०७७ फागुन, ७  
समाचार
Image Not Found
author avatar प्रशान्त खड्का

काठमाडौं । सरकारी खाद्य भण्डार खाद्य व्यवस्था तथा व्यापार कम्पनीसँग धान किन्ने मौसममै पनि आवश्यकताभन्दा कम खाद्यान्न मौज्दात रहेको छ । खाद्यले आफ्नो लक्ष्यअनुसार धान किन्न नसक्दा यस्तो अवस्था आएको हो ।

सरकारले भूकम्प, बाढीपहिरो, महामारीजस्ता विपद्का समयमा तत्काल आपूर्ति गर्न अनिवार्य रूपमा ३३ हजार मेट्रिक टन (मेटन) खाद्यान्न मौज्दात राख्नुपर्ने हुन्छ । तर, खाद्यसँग चामल, गहुँ र अहिले किनिइरहेको धानसमेत गरी करीब ३० हजार मेटन मात्रै खाद्यान्न मौज्दात रहेको छ । खाद्यले आफ्नो लक्ष्यअनुसार धान किन्न नसक्दा आवश्यकताअनुसार खाद्यान्न मौज्दात हुन नसकेको हो ।

खाद्यले चालू आर्थिक वर्षका लागि कुल ६० हजार मेटन धान खरीदको लक्ष्य राखेर किन्ने कार्य शुरू गरेको भए पनि हालसम्म २४ हजार २ सय ७९ मेटन मात्रै धान किन्न सकेको छ । सरकारले न्यूनतम समर्थन मूल्य तोकेको भन्दा फरक जातका जिरा मसिनो, कतर्नी, बास्मती, रञ्जित, मार्सीलगायत धानसमेत खाद्यले किनिरहेको र कम्पनीले तोकेको मूल्यभन्दा स्थानीय व्यापारीहरूले तोकेको बजार मूल्य बढी हुँदा खाद्यले आफ्नो लक्ष्यअनुरूप धान किन्न नसकेको कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपानेले जानकारी दिइन् ।

खाद्य कम्पनीले देशभरका विभिन्न ११ स्थानबाट न्यूनतम समर्थन मूल्यमा धान किनिरहेको छ । सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्वीन्टल २ हजार ७ सय ३५ र मध्यम धानको मूल्य २ हजार ८ सय ८५ रुपैयाँ निर्धारण गरेको थियो । खाद्यले मकवानपुर धान प्रतिक्वीन्टल २८ सय २० रुपैयाँमा किसानहरूसँग किनिरहेको छ ।

तर, बर्दियाको राजापुरका स्थानीय व्यापारीहरूले सोही धान प्रतिक्वीन्टल ३ हजार रुपैयाँले किनिरहेका छन् । यसले गर्दा बर्दियामा खाद्यले लक्ष्यअनुसार धान किन्न सकेको छैन । ४० हजार क्वीन्टल धान किन्ने जिम्मा पाएको राजापुर राइस मिलले हालसम्म करीब ३ हजार ६ सय क्वीन्टल मात्र किन्न सकेको छ ।

‘किसानले बढी मूल्य पाउनु राम्रो कुरा हो । सरकारले त्यसैका लागि समर्थन मूल्य तोक्ने गर्छ । तर, यस्तो हुँदा हाम्रो लक्ष्यअनुरूप किन्न चाहिँ सकेन,’ राजापुर राइस मिलका प्रमुख धर्मराज पन्तले आर्थिक अभियानसँग भने ।

खाद्य कम्पनीको जनकपुर डिपोको समस्या पनि त्यस्तै छ । जनकपुमा यति बेला खाद्यले बास्मती धान प्रतिक्वीन्टल ४ हजार ७ सय ५० रुपैयाँका दरले किनिरहेको छ भने स्थानीय व्यापारीहरूले प्रतिक्वीन्टल ५ हजार रुपैयाँसम्मले किनिरहेका छन् । बुधवारसम्म जनकपुरमा १ हजार क्वीन्टल बास्मती र १६ सय १२ मेटन सोना मन्सुली धान किनिएको खाद्य कम्पनी डिपो जनकपुरका वरिष्ठ लेखा सहायक जयनन्द पाण्डेले बताए ।

खाद्यले हालसम्म धनगढीबाट मकवानपुर धान ५ हजार ३ सय ८६ मेटन, बिर्तामोडबाट सोना मन्सुली १४ सय ९९ र रञ्जित धान ५० मेटन किनेको छ । विराटनगरबाट सोना मन्सुली, रञ्जित र बास्मती धान गरी १५ सय ४८ मेटन, लहानबाट २२ सय ५६ मेटन सोना मन्सुली, वीरगञ्जबाट १० मेटन जिरा मसिनो र २ हजार ९ सय ४८ मेटन सोना मन्सुली धान किनेको छ । भैरहवाबाट १८ मेटन साँवा, महेन्द्रनगरबाट ९ सय ४७ मेटन मोटा धान, नेपालगञ्जबाट मोटा धान १४ सय २८ मेटन र मध्यम धान २३ सय ६१ मेटन किनिएको छ । जुम्लामा हालसम्म मार्सी धान किन्न सकेको छैन ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्