ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

एनआरएन डेभलपमेन्ट फन्डको दर्ता प्रक्रिया शुरू

२०७७ फागुन, ७  
विविध
NA

काठमाडौं (अस) । गैरआवासीय नेपाली संघ (एनआरएन)को पहलमा स्थापना हुन लागेको एनआरएन डेभलपमेन्ट फन्डको दर्ता प्रक्रिया शुरू भएको छ । यससम्बन्धी प्रबन्धपत्र नियमावली तथा कम्पनी दर्ता कागजातमा बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा संस्थाका प्रतिनिधिले हस्ताक्षर गरेका छन् ।

फन्ड दर्ता सम्बन्धी प्रबन्धपत्रमा संघका अध्यक्ष कुमार पन्त, संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो, पूर्वअध्यक्ष तथा संरक्षक जीवा लामिछाने, उपाध्यक्षद्वय डा. बद्री केसी र सोनाम लामा, कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, सल्लाहकार हरिबोल भण्डारीसहित डा. खगेन्द्र जीसी र चिरञ्जीवी थापाले हस्ताक्षर गरेका हुन् । उक्त फन्डमार्फत नेपालमा कम्तीमा १० अर्ब लगानी भित्र्याउने तयारी छ । हालसम्म डेढ अर्बभन्दा बढी रकमको प्रतिबद्धता आइसकेको संस्थाले बताएको छ । हस्ताक्षर समारोहमा संस्थापक अध्यक्ष महतोले गैरआवासीय नेपालीले देखेको सपना छिट्टै पूरा हुन लागेको बताए । कम्पनी दर्ताका लागि औपचारिक रूपमा जुटेको सहमतिले गैरआवासीय नेपालीलाई उत्साहित बनाएको उनको भनाइ थियो । नेपालमा लगानी गर्न यसले बाटो खुला गरेको उनले बताए ।

कार्यक्रममा संघका पूर्वअध्यक्ष तथा संरक्षक लामिछानेले यस अभियानमार्फत विशेषतः साना लगानीकर्तालाई प्रोत्साहन गरिने बताए । नेपालमा लगानी गर्न चाहने जो कोही गैरआवासीय नेपालीले यस अभियानमार्फत आफ्नो सानो सानो पूँजी पनि लगानी गर्न सक्ने उनको भनाइ छ । संघका अध्यक्ष पन्तले फन्ड स्थापनापछि नेपालको समृद्धिका लागि गैरआवासीय नेपालीले योगदान गर्ने बाटो खुल्ने बताए । स्वदेशको विकास र समृद्धिमा योगदान गर्ने अभियान अन्तर्गत एक महत्त्वपूर्ण योजना लामो समयको प्रयासपछि मूर्तरूप प्राप्त गर्ने चरणमा पुगेको धारणा उनले राखे । १० अर्ब रुपैयाँको उक्त कोषमा सरकारले ५ प्रतिशत् अर्थात् ५० करोड रुपैयाँ लगानीको प्रतिबद्धता गरिसकेको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्