ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बाँदरहरूले किताब किन च्याते ?

२०७७ फागुन, ७  
तीतो मीठो
author avatar मदन लम्साल

कुरा हालसालैको हो । थुप्रै विद्यार्थीहरू झोलामा किताबहरू बोकेर पढ्न जाँदै थिए । एक्कासि एक हुल राता बाँदरहरू आए र विद्यार्थीहरूको किताब खोसेर धमाधम च्यात्न थाले । विद्यार्थीहरूको भागाभाग भयो । म अचम्ममा परेँ । शुरूमा त लाग्यो कि बाँदरहरू झोलामा खानेकुराहरू खोजिरहेछन् । तर होइन रहेछ । आखिर यी बाँदरहरूले आफ्ना रिस यी किताबमाथि किन पोखे ?

के बाँदरहरूलाई लाग्छ कि अहिलेका किताबहरू पढ्न लायक छैनन् ? अथवा मानिसहरूले पढेर समाजमा ज्ञान र विवेक बढ्नुको साटो घट्दै गइरहेकाले किताबको अर्थ बाँदरहरूले नदेखेका हुन् कि ?

अर्काथरी राता बाँदरहरूले पहिले जंगलमा बसेर, पछि शहर पसेर मानिसलाई वर्षाैंसम्म दिनु दुःख दिएकै हुन् । प्रायः रूखमा बस्नुपर्ने बाँदरहरू शहर किन पसे ? बाँदरहरूले आफ्नो घर बनाउँदैनन् र अर्काको घर पनि भत्काइहिँड्छन् भन्ने त सुनेकै हो । अर्काथरी बाँदरहरूले आफू महलमा बस्ने तर अरूको भने झुपडी पनि बनाउन नदिने गरेको पनि देखेकै हो । तर आफू पनि नपढ्ने र अर्काले पढ्ने किताब च्यातिहिँड्ने बाँदर चाहिँ अहिले देखियो ।

के बाँदरहरूलाई लाग्छ कि अहिलेका किताबहरू पढ्न लायक छैनन् ? अथवा मानिसहरूले पढेर समाजमा ज्ञान र विवेक बढ्नुको साटो घट्दै गइरहेकाले किताबको अर्थ बाँदरहरूले नदेखेका हुन् कि ?

देशका इतिहासकारहरूले इतिहासलाई, संविधानका मस्यौदाकारहरूले संविधानलाई तोडमोड गरेकाले यी बाँदरहरूले किताब च्यातेका हुन् त ? कि बाँदरहरूलाई विपक्षी दलको समेत मौन सहमतिमा संवैधानिक निकायहरूमा असंवैधानिक नियुक्तिमा चित्त नबुझेको हो ?

देशमा बढ्दो बलात्कार, हिंसा, सामाजिक, आर्थिक अपराधमा मानिस मौन बसेपछि बाँदरहरूको मन विचलित हुँदै गइरहेको हो कि ? या यसै पनि किताब आखिरमा धमिराले नै सिध्याउने हुन् । त्योभन्दा पहिले आफूले नै सिध्याइदिनु उचित ठहर्‍याएकोले पो हो कि ?

यस्ता सयौं प्रश्नबीच फेरि लाखौं रुपैयाँको यही प्रश्न मेरो अगाडि घुमिरहेको छ कि आखिर बाँदरहरूले किताबलाई नै निशाना किन बनाए ? कुन कुन किताब च्याते र अब बाँकी कुन कुन च्यात्दै जानेछन् ? के बाँदरहरूलाई विधान, संविधान वा साहित्यप्रति जन्मजात दुश्मनी नै छ कि ? नत्र यति रुष्ट किन भए ? तिनलाई किताब च्यात्न कसले उक्साए ? के कुनै विरोधी लेखकले उक्साए कि ? वा कुनै विदेशी शक्ति यसको पछाडि काम गरिरहेको छ कि ?

यदि बाँदरहरूको यो चर्तिकलाको पछाडि कुनै ईष्र्यालु लेखकहरूको दिमागले काम गरिरहेको रहेछ भने त हामी पनि सतर्क हुनुपर्ने देखिन्छ है ! किनकि पछिल्ला तीन दशक कलम र जुत्ता खियाएरै भए पनि आफूले पनि केही किताबहरूको संकलन गरिएको छ । भोलि कुनै विरोधीले उक्साएको भरमा बाँदरले हाम्रो लाइब्रेरीमा पनि धावा बोल्न सक्छ ।

त्यसैले अहिलेको अहं प्रश्न नै यो हो कि आखिरमा बाँदरले किताब किन च्याते त ?

मेरो विचारमा यो पत्ता लगाउन एउटा आयोग गठन गरिनुपर्छ । आयोग गठन हुँदा दुईओटा फाइदा हुन्छन् । एक त आयोगमा केही खास मान्छे ‘एड्जस्ट’ हुन पाउँछन् । दोस्रो, जनतामा एउटा स्पष्ट सन्देश जान्छ कि सरकार यस विषयमा निकै गम्भीर छ । आयोगको बैठक जब बस्छ, तब थुप्रै नयाँ तथ्यहरू अगाडि आउँछन् । हुन सक्छ कि किताबका पाठकहरूका साथै बाँदरहरूको पनि बयान रेकर्ड गरिनेछ । आखिरमा आयोगले बाँदरहरूलाई कसरी बेवास्ता गर्न सक्छ र ?

आयोगका माननीय सदस्यज्यूहरूलाई बाँदरहरूको भाषा बुझ्न समस्या पर्‍यो भने उनीहरूले मदारीहरूको सहयोग पनि लिन सक्छन् । किनकि बाँदर र मदारीहरूले एकअर्कालाई राम्ररी बुझेका हुन्छन् । हाम्रो देशमा अझै मदारीहरूको कुनै कमी छैन क्यारे ! देशमा कतिपय खान्दानी त कतिपय शौखीन मदारीहरू छँदै छन् । अब यो आयोगमै निर्भर गर्छ कि उसले कुन कुन मदारीको सेवा लिने भनेर ।

यो त बुझिने नै कुरा हो कि जब आयोगले काम शुरू गर्छ र प्रत्यक्षदर्शीहरूको बयान लिन शुरू गर्छ, तब मिडियालाई पनि लेख्ने मसाला प्राप्त हुन्छ । मिडियालाई अहिले त यसै पनि मसालाको खडेरी परेकै छ । मसाला पाउनासाथ केही दिन भने पनि मिडिया चलायमान हुन्छ । मिडियाले आयोगका कामकुराहरू चर्चा गर्न थालेपछि मानिसहरूको ध्यान पनि दुई साँडेका जुधाइ, मुद्दा, बहस, पैरवी, गरीबी, बेरोजगारी, भ्रष्टाचार आदिजस्ता फाल्तु लफडाबाट टाढा पुग्छ । संसद् कि सडक, तेस्रो जनआन्दोलन कि संविधान, प्रमको अधिकार र लोकतन्त्र वा चुनावतन्त्र, दलतन्त्र कि गुटतन्त्र र तथ्यांकमा विकास कि मिथ्यांक, सूर्य वा रूखजस्ताका बहसहरू पनि जनतालाई निरर्थक लाग्न थाल्छन् ।

अनि त देशका सम्पूर्ण जनताका अगाडि केवल एउटा प्रश्न बाँकी रहन्छ कि आखिर बाँदरले किताब किन च्याते त ? भलै हुन सक्छ कि यो कुरामा उनीहरू पनि चिन्तित हुन थाल्छन्, जसले पढ्नु त परको कुरा जिन्दगीमा किताब कस्तो हुन्छ समेत देख्न पाएका छैनन् । उनीहरू पनि बाँदरहरूको यो कर्तुतको विरोधमा मिडियाको क्यामेरा अघि आफ्ना कडा प्रतिक्रिया दिएर सित्तैमा विद्वान् बन्ने मौका पक्कै गुमाउँदैनन् । भलै उनीहरूलाई यतिसम्म पनि थाहा नहुन सक्छ कि लक्ष्मीप्रसाद देवकोटा कवि थिए कि एक धनी व्यापारी भनेर ।

यो पनि हुन सक्छ कि जब आयोगले आफ्नो रिपोर्ट बुझाउँछ त्यसमा यो अचम्मको तथ्य आउन सक्छ : बाँदरहरूले यसकारण किताब च्याते, उनीहरू बुद्धिजीवीहरूको ध्यानाकर्षण गरेर यो सन्देश दिन चाहन्छन् कि मन्दिरको छतमा सुनको जलप लगाउने कुरा उनीहरूलाई कदापि स्वीकार्य छैन ।

तर अहिलेसम्म भने यो प्रश्न अनुत्तरित नै छ कि आखिरमा बाँदरहरूले किताब किन च्याते र यसरी कहिलेसम्म किताब च्यातिरहनेछन् ? यसमा तपार्ईंको चैं विचार के छ त ?

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्