फागुन ८, काठमाडौं । नेपाल बंलादेश बैंकको चावहिल शाखाले काठमाडौं महानगरपालिका वडा नं ७ स्थित चन्द्रविनायक पार्क व्यवस्थापन समाजमा रहेका तरकारी, फलफूल तथा कपडा पसलमा क्यूआर कोडको माध्यमद्वारा गरिने भुक्तानीको शुरुआत गरेको छ ।
शुक्रवार एक समारोहका बिच नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी सिवाकोटीले उक्त कार्यक्रमको उद्घाटन गरेका हुन् । यो एफवान सफ्टसँगको सहकार्यमा क्यूआर कोडको माध्यमद्वारा गरिने भुक्तानीको हो ।
नेपालमा डिजिटल भुक्तानीको शुरुवात भएसँगै यसलाई जनमानसमा नगद रहित क्विक रेस्पोन्स कोड (क्यूआर कोड)मार्फत हुने भुक्तानीलाई देशव्यापी अभियानको रुपमा विस्तार गर्ने नेपाल राष्ट्र बैंकको योजना अनुरुप क्यूआर सेवा शुरु भएको हो ।
कार्यक्रममा डेपुटी गभर्नर सिवाकोटीले सो एरियाका व्यापारी वर्गलाई क्यूआर कोड वितरण गरे । साथै, सो अवसरमा डेपुटी गभर्नर सिवाकोटीले विभिन्न तरकारीहरु खरीद गरी क्यूआर कोडको माध्यमद्वारा भुक्तानी पनि गरेका थिए ।
साथै, डेपुटी गभर्नर सिवाकोटीले डिजिटल प्रविधिको माध्यमबाट सुरक्षित तरिकाले नगद रहित कारोबार गर्दा हुने फाइदाको बारेमा जानकारी दिँदै बैंकले साना तथा महिला उद्यमीहरुलाई प्रदान गर्ने सहुलियतपूर्ण कर्जाको उपयोग गरी आफनो व्यावसाय विस्तार गर्न प्रोत्साहित पनि गरे ।
उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बैंकले प्रदान गर्ने सेवा तथा सुविधाको बारेमा जानकारी गराए ।
बैंकले ग्राहक तथा व्यापारीहरुको सुविधालाई ध्यानमा राखी उक्त स्थानमा वल्र्ड लिंक कम्यूनिकेशनसँगको सहकार्यमा निःशुल्क वाईफाई पनि जडान गरिदिएको जानकारी गराएको छ ।