ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पुनरुत्थानको पर्खाइमा पर्यटन

२०७७ फागुन, ९  
सम्पादकीय
Image Not Found

पर्यटन क्षेत्रका सरोकारवालाहरूले पर्यटन प्रडक्ट र गन्तव्यको विस्तार तथा विविधीकरण गर्नैपर्ने दबाव परेको बताएका छन् । सीमित पर्यटकीय प्रडक्ट र गन्तव्यमा नै नेपालको पर्यटन घुमिरहेकाले यसलाई विविधीकरण गर्नुपर्ने आवाज उठेको धेरै भए पनि यसतर्फ अपेक्षित काम भने भएको पाइँदैन । यद्यपि नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गरी १ सय पर्यटकीय गन्तव्य थपिएको पनि थियो । पर्यटकीय क्षेत्र थपिए पनि पूर्वाधारको विकास हुन नसक्दा तिनको औचित्य पनि स्थापित हुन सकेको देखिँदैन ।

पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटनबाटै आफूलाई जोगाउने प्रयास गरे पनि सरकारले उनीहरूलाई कर छूटलगायत सुविधा दिन आनाकानी गरिरहेको पाइन्छ ।

अहिले कोरोनाका कारण पर्यटन क्षेत्र शून्यप्रायः छ । यद्यपि पछिल्लो समय आन्तरिक पर्यटनमा सामान्य चहलपहल देखिएको भने पाइन्छ । कोरोनाका कारण नेपालको पर्यटन क्षेत्रमा करीब डेढ खर्बजति क्षति पुगेको अनुमान गरिएको छ । त्यस्तै पर्यटन क्षेत्रमा कार्यरत झन्डै १३ लाख जनशक्ति प्रभावित भएको पर्यटन बोर्डको आकलन पाइन्छ । २०२० लाई भ्रमण वर्ष मनाउने तयारी भएकाले निजीक्षेत्रले नयाँ पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि अर्बौं लगानी थपेको थियो । तर, कोरोनाका कारण भ्रमण वर्ष स्थगित भयो भने उडान र सीमा बन्दका कारण पर्यटक आगमन शून्य भयो । बन्दाबन्दी र निषेधाज्ञा अन्त्य भए पनि अन्तरराष्ट्रिय उडान र सीमा नाका सहज नहुँदा बाह्य पर्यटकको आगमन शून्य बराबर रहेको छ भन्न सकिन्छ । खासगरी बाह्य पर्यटकलाई नेपाल प्रवेशमा कडा शर्त राखिएकाले चाहेर पनि पर्यटक नेपाल आउन सकेका छैनन् भने कोरोना त्रासका कारण मानिसहरू पर्यटनका लागि निक्लन पनि डराइरहेको अवस्था छ ।

विश्वमै कोरोनाबाट सबैभन्दा बढी प्रभावित क्षेत्र पर्यटन नै हो । यसलाई संरक्षण गर्न र पुनरुत्थान गर्न विश्वभरिका मुलुकहरूले ठूलो राहत प्याकेज ल्याएका छन् । नेपालले पनि पर्यटन क्षेत्रलाई समेत सम्बोधन गर्ने गरी राहत प्याकेल ल्याए पनि त्यो प्रभावकारी हुन सकेको देखिँदैन । सहुलियत ब्याजदरमा दिने भनिएको पुनर्कर्जा तथा व्यवसाय सञ्चालन कर्जा पनि पर्यटन क्षेत्रले पाउन नसकेको गुनासो पाइन्छ । पर्यटन क्षेत्रमा ठूलो लगानी भएको छ भने विदेशी मुद्रा आर्जनको महत्त्वपूर्ण स्रोत पनि बनेको छ । त्यस्तै पर्यटन क्षेत्र ठप्पप्रायः हुँदा लाखौंले रोजगारी गुमाएको अवस्था पनि छ । अतः यसलाई कुनै पनि हालतमा पुनर्जीवन दिनुपर्ने चुनौती आएको छ ।

कोरोनाको सन्त्रास अझै हटेको छैन, यद्यपि पछिल्लो समय संक्रमणको दर भने निकै कम छ । अझ, राजनीतिक विवादका कारण ठूला प्रदर्शन र कार्यक्रमहरू जारी रहँदा नेपालमा कोरोनाको त्रास हटिसकेको अनुभूत हुन्छ । पछिल्लो समय कोरोना भाइरसको नयाँ संस्करण फैलन थालेको छ । यो अझ बढी छिटो फैलने भएकाले यूरोपका कतिपय देश अर्को चरणको बन्दाबन्दी लगाउन बाध्य भएका छन् । तर, नेपालमा भने लापर्बाही बढ्न थालेको छ । यही कोरोनाप्रति लापर्बाही बढेको सन्दर्भमा बाह्य पर्यटकलाई नेपाल आगमनमा कडाइ गर्नु हुँदैन भन्ने पर्यटन व्यवसायीको भनाइ स्वाभाविक लागे पनि जनस्वास्थ्यको गम्भीर सम्भावित संकटलाई बेवास्ता गर्नु पनि उपयुक्त मानिँदैन ।

जनस्वास्थ्य र अर्थतन्त्र दुवै मुलुकका लागि गम्भीर चुनौती हो । यस्तोमा जनस्वास्थ्यका लागि अर्थतन्त्रलाई बलि चढाउन सकिँदैन भने अर्थतन्त्रका लागि जनस्वास्थ्यलाई बेवास्ता गर्न सकिँदैन । यी दुवै पक्षलाई सन्तुलित गर्दै नीति तय गर्नु सरकारको दायित्व हो । पर्यटन क्षेत्रमा तत्काल बाह्य पर्यटक ठूलो परिमाणमा आउने सम्भावना कमै छ । बाह्य पर्यटकहरूलाई क्वारेन्टाइन अनिवार्य गर्दा उनीहरू नेपाल भ्रमणमा आउने सम्भावना हुन्न । त्यसैले कोरोनो रोकथामका लागि आवश्यक स्वास्थ्य सतर्कता अपनाउँदै पर्यटन क्षेत्रलाई पनि गति दिने रणनीति अपनाउन आवश्यक देखिन्छ ।

पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटनबाटै आफूलाई जोगाउने प्रयास गरे पनि सरकारले उनीहरूलाई कर छूटलगायत सुविधा दिन आनाकानी गरिरहेको पाइन्छ । आन्तरिक पर्यटन प्रवद्र्धन गर्न प्याकेज ल्याउने भनिए पनि ठोस कार्यक्रम अझै आएको देखिँदैन । यस्तोमा अर्बौं लगानी भएको र अर्थतन्त्रको महत्त्वपूर्ण अंश ओगटेको यस क्षेलाई जोगाउन सरकार, पर्यटन बोर्ड र निजीक्षेत्रले मिलेर विशेष कार्यक्रम तय गरिनुपर्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्