काठमाडौं (अस) । एनआईसी एशिया बैंकले नेपालमा पहिलो पटक भित्र्याएको कार्डमा आधारित अनलाइन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रालि (फिनटेक) ले व्यवसायीमाझ पुर्याउने भएको छ ।
उक्त कम्पनीले राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको सेवा तथा सुविधा गर्ने अनुमति प्राप्त गरेपछि बैंकले ल्याएको अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबरसोर्सको गेटवे प्रणालीले नेपालमा सरल डिजिटल भुक्तानी प्रभावकारी बनाउने विश्वास बैंकको छ ।
यसबाट इच्छुक मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएका कार्डमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गर्न सक्ने बैंकले बताएको छ ।
अमेरिका, चीन, भारतलगायत एसिया, युरोप र अफ्रिकाका विभिन्न देशमा प्रयोग भइरहेको साइबरसोर्स गेटवे प्रणाली उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्वमै प्रतिष्ठित रहेको बैंकले जनाएको छ ।
यो सहकार्यबाट उक्त फिनटेक कम्पनीले नेपालमा भिसा, मास्टरकार्ड, युनियनपेलगायत कार्डबाट भुक्तानी गर्न मिल्ने प्रणालीको विकास गर्नसमेत सघाउ पुग्नेछ ।
यस्तै, नेपालका ठूला तथा मझौला व्यापारीको उत्पादित वस्तु तथा सेवाको सर्वसुलभ रूपमा अन्तर्राट्रिय बजारमा बिक्री वितरणमा सहयोग पुर्याएर व्यवसायीलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ । बैंकले हाल ३ सय ३९ शाखा, ४ सय ७१ एटिएम, ८८ वटा विस्तारित काउन्टर एवं ७८ वटा शाखारहित सेवामार्फत बैंकिङ सुविधा दिँदै आएको छ ।