ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

रोजगारी र रैथाने बालीको सम्बन्ध

२०७७ फागुन, ९  
लेख | दृष्टिकोण
Image Not Found

हरेक व्यक्तिले आयआर्जनका लागि रोजगारीको खोजी गर्छ । आय प्रत्यक्ष रूपमा रोजगारीसँग जोडिएको हुन्छ । पछिल्लो समयमा हजाराैं श्रमिकले रोजगारी गुमाउनु परेको नमीठो सत्य हामीसामु छँदै छ । विश्वव्यापी रूपमा फैलिएको कोभिडका कारणले हजारौं श्रमिकले रोजगारीबाट हात धुनु परेकाले समस्या थपिएको छ । जनसंख्या शहरी क्षेत्रमा ज्यादा हुनुका पछाडिको मुख्य कारण पनि रोजगारीको अवसर धेरै हुनु हो । आज उपत्यकाको जनसंख्या ६० लाखभन्दा धेरै भएको पछिल्लो तथ्यांकले देखाउँछ ।  

कृषि नेपालको आर्थिक विकासको महत्त्वपूर्ण आधार भएकाले यस क्षेत्रको विकासमा राज्यले थप प्रभावकारी कार्य गर्नुपर्ने देखिन्छ । खाद्यान्नदेखि तरकारी फलफूल तेलहनजस्ता उपभोग्य वस्तु ठूलो रकम खर्च गरेर किन्न बाध्य छौं । असोजदेखि माघ मसान्तसम्ममा मासिक १ अर्बका दरले तरकारी तथा फलफूल आयात गरेको तथ्यांक कालीमाटी तरकारी तथा फलफूल विक्री केन्द्रले देखाएको छ । हामी उत्पादनमा अब्बल नभएका पनि होइनौं र पनि किन यति ठूलो रकम खर्चेर तरकारी तथा फलफूल आयात गर्छाैं त ? यस्तो हुनुमा बजारको सुनिश्चितता नहुनु मुख्य कारण रहेको देखिन्छ । अनेकाैं समस्याको सामना गरेर बल्ल बल्ल उत्पादन गरिन्छ, जब बजारीकरणको समय आउँछ तब उचित मूल्य नपाउने अवस्था सामान्य नै भएको छ ।

उत्पादन खरीदका लागि बिचौलियाको एकाधिकार हुनु निकै पीडादायी अवस्था हो । किसानले लामो समय पर्खेर मल जल बीउ प्राविधिक सहयोग औषधिको प्रयोग गर्दै बजारमा लैजान्छ तब एकाएक लागतभन्दा पनि कम मूल्यमा उत्पादन विक्री गर्नुपर्ने पीडादायी समस्या हुनुपर्छ । नेपालमा मात्र उत्पादन हुने दर्जनाैं खाद्यान्न नभएका होइनन् । जुम्ली मार्सी धानको चामलको चर्चा गतवर्ष ज्यादा भएको थियो । नेपालमा स्थानअनुसार उत्पादन हुने मन नै लोभ्याउने बास्मती धानले उचित बजार पाउने हो भने निर्यात गरी मनग्गे आम्दानी गर्न सकिन्छ ।

नेपाल कृषिअनुसन्धान परिषद् (नार्क) ले स्थापना गरेको जिन बैंकमा बास्मती धानका २६ ओटा जात रहेको उल्लेख छ । नेपालको रैथाने बालीका रूपमा दाबी गर्दै यूरोपेली संघ (ईयू)मा पेश गरेको अवस्था छ । बास्मती धानमा दाबी गर्ने भारत र पाकिस्तानले पनि ईयूमा आधिकारिकताको पहल जारी राखेको छ । नेपालले आफ्नो दाबीपत्र गत डिसेम्बरमा पेश गरेको छ । नेपालका विभिन्न स्थानबाट सन १९७० देखि संकलन गरिएका ४७ प्रकारका रैथाने बास्मती धानका जातलाई अन्तरराष्टिय जिन बैंकमा पनि राखेको छ । नार्कले राष्ट्रिय जीन बैंकमा भने विभिन्न २४ प्रकारका रैथाने बास्मती जातका धान वर्षौंदेखि नेपालका विभिन्न स्थानबाट संकलन गरी राखिएको छ । यस धानको विषयमा नेपालले सन् १९६० मा नै हाम्रो मौलिक धान हो भनेर प्रमाणसहित दाबी गरेको थियो ।  

नेपालका विभिन्न क्षेत्रमा उत्पादन हुने बास्मती धानलाई स्थान विशेष अनेकौं नामले चिनिन्छ । पोखराको जेठोबूढो नुवाकोटको साहूगाउँ र चनौटे फाँटमा लगाइने गरेको बास्मतीलाई ब्रह्मफूल, कालोकाठे तथा भुन्टेमसिनोजस्ता नामले चिनिन्छ । त्यस्तै नुवाकोटकै शेरा र थान्सिङ फाँट बास्मती धान उत्पादनकै कारण केही वर्ष अगाडिसम्म निकै चर्चामा रहेको थियो । ब्रह्मफूलको भने धान चामल र पराल समेत मगमगी बास्ना आउने हुन्छ । पराल लामो हुने अनि त्यसबाट गुन्द्रीसुकुलजस्ता घरेलु समान निर्माण सहज हुने भएकाले यो धानको माग ज्यादा रहेको छ । यस्ता धानलाई कृषि विभागबाट उत्पादनको पकेट क्षेत्र बनाई थप उत्पादनमा जोड दिनुपर्ने देखिन्छ । सरकारको तालुकदार कार्यालय नार्कले मर्फोलोजी, डीएनए तथा आईसोजाइम टुल्सको सहयोगमा लोकल बास्मती धानका विभिन्न जातलाई चरित्र चित्रणसमेत गरिएको छ । यसका लागि नार्कले ८० ओटा त प्रमाण मात्र पेश गरेको छ ।

यो लोकल धानको उत्पत्ति केन्द्र भने तराई मधेश क्षेत्र नै मुख्य रहेको देखिन्छ । यो तथ्य नेपालको दस्तवेजमा मात्र नभई भारतलगायत विभिन्न देशका दस्तावेजमा पनि पाइन्छ । नेपालमा बास्मती धान र चामलको ब्रान्ड नै बनाएर लामो समयदेखि विक्री वितरण गर्दै आएका छन् । हाम्रो देशले गरेको दाबीका आधारमा प्रमाणपत्र प्राप्त गर्ने हो भने अवश्य नै हाम्रो लोकल र बास्मती धान तथा चामलको बजार व्यापक हुन्छ । यसले कृषक थप उत्साहित भई उत्पादन वृद्धि हुन जान्छ भने रैथाने धान चामलले अन्तरराष्ट्रिय बजार पाउँछ । यसबाट नेपाली उत्पादनमा वृद्धि हुनु ठूलो सहयोग पुग्छ । वर्षेनि आयात बढ्ने निर्यात घट्ने समस्यालाई केही मात्र भने पनि कम गर्न सकिन्थ्यो । आज अर्थतन्त्रमा नकारात्मक असर परिरहेको विषम अवस्थामा यसले प्रमाण पाएमा नेपालको उत्पादनले महŒव पाउने देखिन्छ ।

पछिल्लो समयमा कोरोना संक्रमणका बीचमा पनि वैदेशिक रोजगारमा गएका श्रमिकबाट प्राप्त हुने रेमिट्यान्स रकममा वृद्धि भएको देखिएको छ । हामी रेमिट्यान्स भिœयाउने मुख्य १० देशभित्र पर्छौं । आर्थिक हिसाबले यो सकारात्मक भए पनि युवा जनशक्ति विदेशिनु भनेको दीर्घकालीन रूपमा सही मानिँदैन ।

रोजगारीका धेरै क्षेत्र भएर पनि हामीले त्यसको समुचित विकास गर्न नसक्दा चाहेर पनि स्वदेशमा काम गर्न नसकेका अनगिन्ती दृष्टान्त पाइन्छन् । बास्मती धानको प्रमाणपत्र लिने जुन पहल गरिएको छ, त्यसैगरी अन्य सयौं रैथाने उत्पादनको आधिकारिकताका लागि प्रभावकारी दाबी गर्न सक्नुपर्छ । त्यस्ता सम्भावना भएका नगदेबालीमा अकबरे खुर्सानी, अम्लिसो, अदुवा, अलैंची चिया बेसार जिम्बु सिमीलगायत छन् । स्थान विशेष मात्र पाइने उत्पादनको सम्भाव्यता अध्ययन गर्नुपर्छ, जसले गर्दा विशेष पहिचान नभएका तर छिटपुट विक्री वितरण भने भइरहेका रैथाने उत्पादनले ब्रान्ड पाउने अवस्था सृजना हुनेछ । यसले रोजगारीमा वृद्धि हुने र कृषिमा युवा थप आकर्षित भई अन्ततः आर्थिक रूपले हामी सबल बन्ने मार्गमा जाने थियाैं । नार्कले अन्य नगदे तथा खाद्य बालीमा पनि दाबी गर्नुपर्ने देखिन्छ ।  

लेखक विश्वशान्ति कलेजका समाजशास्त्रका अध्यापक हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्