लमजुङ । निर्माणाधीन ३० मेगावाट क्षमताको न्यादी आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । आगामी जेठभित्र सबै निर्माण सकेर विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको आयोजनाका सिनियार इञ्जिनीयर विवेक कारान्जितले जानकारी दिए ।
‘हालसम्म ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको र सम्पन्न गर्नुपर्ने बाँकी काम पनि अन्तिम अन्तिम चरणमा पुगेको छ । हालसम्म टनेल, पेनस्टक पाइप लाइनको काम, सुरुङको सबै काम सम्पन्न भइसकेको छ,’ उनले भने । उनका अनुसार बाँधस्थलको पनि ९९ प्रतिशत काम सम्पन्न भइसकेको छ । बाँधस्थलमा एउटा गेट मात्र राख्न बाँकी छ ।
विद्युतगृहको अधिकांश काम सम्पन्न भइसकेको र उपकरण जडान अघि बढिरहेको आयोजनाले बताएको छ । विद्युत्गृहमा दुई उपकरण जडान गर्न बाँकी रहेको बताइएको छ । प्रसारण लाइनको काम पनि ५० प्रतिशत सम्पन्न भएको छ ।
आयोजनाबाट ९ किलोमिटर टाढा ट्रान्समिसन लाइन जोड्न २५ टावर राख्नुपर्नेमा हालसम्म १२ राखिसकेको र १३ राख्न बाँकी रहेको छ । आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले भने, ‘हामीले यही फागुन महीनातिर निर्माण सक्ने लक्ष्य राखे पनि कोभिडलगायत कारणले गर्दा निर्माणको अवधि थपिएको छ ।’ रोकिएका सामग्री आइपुग्ने आयोजनाले बताएको छ ।
२०७३ चैतदेखि निर्माण थालनी गरेको आयोजनाले तीन वर्षभित्र सम्पन्न गरिसक्ने सम्झौता भएको थियो । उक्त सम्झौतानुसार गत चैतमा आयोजनाको निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्नुपथ्र्यो । विविध कारणले निर्माणमा ढिलाइ भइरहेका बेला लकडाउनले समेत आयोजनालाई प्रभाव बनाएकाले लम्बिन पुगे पनि अब भने समय थप गर्न नपर्ने आयोजनाले बताएको छ ।
६ अर्ब लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य आयोजनाको छ । आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा पाँच बैंकले ७५ प्रतिशत अर्थात् साढे चार अर्ब ऋण लगानी गरेका छन् । बुटवल पावर कम्पनीको २५ प्रतिशत लगानी रहेको छ । आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग वर्षायाममा ४ दशमलव ८० र सुक्खायामका लागि ८ दशमलव ४० मा विद्युत् खरीद सम्झौता (पीपीए) गरेको छ ।
उक्त आयोजनाबाहेक पिपुल हाइड्रोपावर कम्पनीद्वारा निर्माणाधीन दोर्दी कोरिडोरकै सबैभन्दा ठूलो दोर्दी गाउँपालिका वडा नं ६ ढोडेनीमा निर्माणाधीन ५४ मेगावाट क्षमताको कोभिडका कारणले प्रभावित बनेको सुपरदोर्दी ‘ख’ आयोजना आयोजनाले आगामी भदौ महीनासम्म बिजुली उत्पादन गर्ने लक्ष्य राखेको छ ।
त्यस्तै सोही पालिकामा हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत्, लिबर्टी इनर्जी लिमिटेडद्वारा निर्माणाधीन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ आयोजनाले आगामी चैतदेखि बिजुली उत्पादन गर्ने भएका छन् । सोही अनुरूप निर्माणलाई तीव्रता दिँदै आएको बताइएको छ । रासस