ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

कान्ति राजमार्गको कालोपत्र चालू आवभित्रै सकिने

२०७७ फागुन, १०  
वाग्मती प्रदेश
NA

काठमाडौं । काठमाडौंलाई हेटौंडासँग जोड्ने वैकल्पिक सडक कान्ति राजमार्गको स्तरोन्नति चालू आवभित्रै सम्पन्न गर्ने योजना बनाइएको छ । सडक निर्माण शुरू भएको लामो समय बितेकाले सडक विभागले दुई लेन निर्माण गर्ने लक्ष्य लिएको छ । ८६ किमीमध्ये १५ किमी कालोपत्र बाँकी रहेकोमा कठिन भूगोलका कारण करीब ५ किमी सडकमा अझै केही वर्षसम्म कालोपत्र नगरिने कान्ति राजमार्ग विभागले बताएको छ ।    

त्यसबाहेक १० किमी सडक चालू आवभित्रै निर्माण हुने योजनाका सूचना अधिकारी दीपेश रजकले बताए । ‘अहिले चालू ठेक्का सकेसम्म चाँडो सम्पन्न गरेर पुरानो ठेक्का सकौं र नयाँ काम नयाँ ठेक्काबाट गरौं भन्ने लक्ष्य छ,’ उनले भने । पछिल्ला केही वर्षयता वर्षेनि वर्षाका समयमै पहिराले गर्दा सडक अवरुद्ध हुने गरेको करीब ५ किमी सडक तत्कालका लागि कालोपत्र नगरिने विभागको लक्ष्य छ । ललितपुरको छपेली आसपास एक किमी र बीचबीचमा विभिन्न खण्ड एवं थोरै मकवानपुर खण्डमा काम गर्न कठिन रहेको सूचना अधिकारी रजकले बताए ।     

नयाँ सडक भएकाले त्यहाँ कालोपत्र गरिए पनि नटिक्ने उनले जानकारी दिए । केही वर्षसम्म हेरेर जमीन स्थिर भएपछि मात्र कालोपत्र गर्न उपयुक्त हुनेछ । सो स्थानमा कालोपत्र बाँकी राखेर अरू काम चालू आवभित्रै गरेर आवतजावतमा सहज बनाइने विभागको लक्ष्य छ ।

विगतमा विभिन्न समस्याका कारण सडक निर्माणले गति लिन सकेको थिएन । गत आवमा विश्वव्यापी कोभिड–१९ संक्रमणको जोखिमका कारण सडक निर्माण हुन नसकेपछि अहिले ६ महीना अवधि थपिएको योजनाले बताएको छ । चालू आवमा भने राम्रो गतिमा निर्माणको काम अघि बढिरहेको उनले जानकारी दिए ।
 
कुनै समस्याले निर्माणमा अवरोध आएमा नसकिने भए पनि सबै सहज भए यस वर्ष कालोपत्र सक्ने लक्ष्य लिइएको सूचना अधिकारी रजकले बताए । चालू आवमा कालोपत्र गर्ने भनिएको १० किमी सडकमा नाली बनाउने, पर्खाल लगाउनेलगायत आधारभूत काम भइरहेको छ ।
    
गत आवमा १५ किमी सडक कालोपत्र गर्ने लक्ष्य लिइए पनि साढे ८ किमी कालोपत्र भएको र आवश्यक पूर्वाधारसमेत अघि बढाइएको थियो । कालोपत्रको काम अपेक्षा गरिएअनुसार नभए पनि अरू प्रगति लक्ष्यअनुसार रहेको योजनाले बताएको छ ।    
 
सडकको रेखांकनमा रहेका तीन पुलको निर्माण सम्पन्न भइसकेको छ । पुलको चौडाइ कम भएकाले त्यसलाई सडकको चौडाइजतिकै बनाउन खाँचो रहेको सूचना अधिकारी रजकले बताए । सडकको ट्र्याक दुई लेन भएकाले पुललाई पनि त्यत्तिकै चौडाइमा स्तरोन्नति गर्ने योजना बनाइएको छ ।

निर्माण शुरू भएको ६ दशकपछि कान्ति लोकपथ अन्तिम चरणमा पुगेको छ । आव २०७२/७३ पछि सरकारको प्राथमिकतामा परेसँगै सडकको स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढिरहेको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्