ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

यातायात व्यवस्था कार्यालय वीरगञ्ज : ३ महीनामा ४७ सय लाइसेन्स वितरण

२०७७ फागुन, १०  
प्रदेश ०२
Image Not Found
author avatar अभियान संवाददाता

वीरगञ्ज । यातायात व्यवस्था कार्यालय वीरगञ्जले बितेको ३ महीनामा ४ हजार ७०० सवारी चालक अनुमतिपत्र (लाइसेन्स) जारी गरेको छ । कार्यालयको लाइसेन्स शाखाका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को माघसम्ममा ४ हजार ६९८ ओटा लाइसेन्स वितरण भएको छ ।

कोरोना महामारीका कारण यो वर्ष गत मङ्सिरदेखि मात्रै लाइसेन्सको परीक्षा सञ्चालन भएको थियो । मङ्सिरयता ३ महीनामा ३ हजार २८० सेवाग्राहीले नयाँ र १ हजार ४१८ जनाले वर्गीकरण थपेर लाइसेन्स बनाएका छन् ।

कोरोना महामारी नियन्त्रणका लागि लगाइएको बन्दाबन्दीका कारण लाइसेन्सको परीक्षा स्थगित भएकाले यो वर्ष सेवाग्राहीको चाप बढेको यातायात व्यवस्था कार्यालय प्रमुख सुशील साहले बताए । यो कार्यालयले बितेको चैत ६ यता लाइसेन्सको परीक्षा लिएको थिएन ।

गत असारमा केही दिन कार्यालय खुले पनि नवीकरणको काम मात्रै भएको कार्यालयले बताएको छ । यो वर्षको मङ्सिरदेखि लाइसेन्सको लिखित र ट्रायल परीक्षा पुनः सञ्चालन गरिएको प्रमुख साहले बताए ।

गत चैतमा लिखित परीक्षा दिएका र ट्रायल पास गरेका सेवाग्राहीले समेत अहिले लाइसेन्स लिइरहेका छन् । ‘यातायात व्यवस्था विभागले गत पुस महीनादेख लाइसेन्सका लागि अनलाइनबाटै आवेदन खुला गरेपछि सेवाग्राहीको चाप ह्वात्तै बढेको छ,’ साहले भने । कार्यालयले अहिले हप्तामा २ दिनसम्म ट्रायल लिएको छ । बितेको ७ महीनामा १५ हजार १७४ ओटा नवीकरण, १ हजार १४३ प्रतिलिपि र ७३५ सेवाग्राहीको लाइसेन्स प्रतिलिपि र नवीकरण भएको पनि कार्यालयले बताएको छ । गतवर्ष २०७६/७७ को चैतको शुरू हप्तासम्ममा यो कार्यालयले १५ हजार २२७ ओटा लाइसेन्स वितरण गरेको थियो । चैतको ६ गते लिखित परीक्षा लिएकोमा कोरोना संक्रमणलाई कारण देखाएर सरकारले चैत ७ गतेदेखि २५ जनाभन्दा बढी मानिस भेला हुन रोक लगाएपछि त्यसयता लाइसेन्स वितरण स्थगित भएको थियो ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्