ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

निर्यात क्षेत्रका पाँच प्रधान कमजोरी

गुणस्तर र उत्पादन परिमाणमा ध्यान जरुरी

२०७७ फागुन, १०  
लेख | दृष्टिकोण
Image Not Found

आयातमा उच्च वृद्धि र निर्यातमा जडता नेपालको वैदेशिक व्यापारको चरित्रगत विशेषता जस्तै बन्न थालेको छ । आर्थिक वर्ष २०१०/११ मा करीब रू. ६५ अर्बमा रहेको निर्यात आर्थिक वर्ष २०१९/२० मा आइपुग्दा करीब रू.९८ जति पुग्न गएको पाइन्छ । यता उक्त अवधिमा आयात भने रू. ३९८ अर्बबाट बढेर रू.११९७ अर्ब पुगेको छ । सारमा भन्नुपर्दा आयातमा १ दशमलव ५ गुणाले वृद्धि हुँदा निर्यातमा ३ गुणाले वृद्धि भएको पाइन्छ । सो अवधिमा निर्यातको औसत वार्षिक वृद्धिदर ३ प्रतिशतको हाराहारीमा रहेको छ भने आयातको औसत वृद्धिदर करीब १४ प्रतिशत रहेको छ । समग्रमा भन्नुपर्दा निर्यातमा रहेको यसप्रकारको जडताका केही विशेष कारणहरू यसप्रकार छन् ।

बजारको आपूर्ति प्रणालीमा उल्लेख्य उपस्थिति हुने गरी वस्तुहरूको बजारमा प्रवेश जरुरी हुन्छ । आयातकर्ताले आपूर्तिकर्तासँग कारोबार शुरू गर्दा आपूर्तिकर्ताको उत्पादन क्षमतालाई पहिलो योग्यताका रूपमा लिने गर्छन् । बंगलादेशको तयारी पोशाक उद्योग र अमेरिकी आयातकर्ताबीच स्थापित अन्योन्याश्रित सम्बन्धका आधारमा बंगलादेशको तयारी पोशाक उद्योगको उत्पादन क्षमता प्रमुख कारकका रूपमा रहेको छ । रूस, क्यानडा, ब्राजिल, अर्जेन्टिना र अस्ट्रेलियाजस्ता कृषिजन्य वस्तुका ठूला उत्पादनकर्ता मुलुक र भारत, चीनजस्ता ठूला खपतकर्ताबीच स्थापित व्यापारिक सम्बन्ध पनि त्यही परिमाणको सुनिश्चितताबाट सृजित विश्वास नै हो । नेपालमा सन्दर्भमा भने यस्तो परिमाणको सुनिश्चितता हुने गरी नेपाली उद्योगहरूको विकास र विस्तार हुन सकेको छैन । न्यून परिमाणको उत्पादनका कारण बढ्ने लागतले प्रतिस्पर्धात्मक क्षमतामा आएको ह्रासको अर्को पाटो पनि यससँग सम्बद्ध भएर आउने गर्छ ।

उत्पादित वस्तुहरूको गुणस्तरसम्बन्धी विषयहरूले पनि निर्यातको आकार निर्धारण गर्न भूमिका खेलिरहेका हुन्छन् । देशको विश्वसनीयता, समाजको विश्वसनीयता, उत्पादन इतिहास, व्यावसायिक नैतिकता र आचरण, गुणस्तर नियन्त्रण गर्ने निकायहरूको क्षमता र विश्वसनीयता जस्ता विषय सम्बद्ध देशका उत्पादनको विश्वसनीयता निर्धारण गर्छन् । विशेष गरी कृषिजन्य उत्पादनहरूमा गुणस्तरको पक्ष अझ संवेदनशील हुन्छ । नेपालका कृषिजन्य उत्पादनहरू विकसित मुलुकमा यथोचित प्रवेश नपाउनुमा गुणस्तरका प्रावधानहरूको पालनामा भएका कमी कमजोरीहरू पनि प्रमुख रूपमा रहेको सम्बद्ध क्षेत्रका भुक्तभोगीहरूको भनाइ छ ।

नेपाली उत्पादनहरूको लागत बढी हुने केही अन्तरनिहित कारण छन् । औद्योगिक पूर्वाधारको कमी, प्रक्रियागत र प्रशासनिक जटिलता, अन्तरउद्योग सम्बन्धमा विद्यमान जडता र लागत अधिकीकरणजस्ता नीति, नियम, प्रवृत्ति र न्यून उत्पादन क्षमताका कारण नेपाली उत्पादनहरू तुलनात्मक रूपमा अप्रतिस्पर्धी बन्न गएको यस क्षेत्रका विज्ञहरूको अभिमत छ ।

उत्पादित वस्तुहरूको विश्वसनीय आपूर्तिमा समयको भूमिका पनि महत्त्वपूर्ण पक्षका रूपमा रहेको हुन्छ । आन्तरिक संरचनागत अव्यवस्थाका कारण सृजित जडताका कारण कच्चापदार्थको आपूर्ति, उत्पादन र ढुवानी प्रक्रियाका कारण नेपाली उत्पादनहरू समयमै बजारमा पुग्न नसक्ने समस्या आम रूपमा देखिन्छ । नेपाली कारखानाबाट उत्पादित वस्तुहरू स्थलमार्ग र पानीजहाज हुँदै सम्बद्ध बजारमा पुग्दाका टर्निङ प्वाइन्टहरूमा आउने अवरोधहरू सृजित अनिश्चितताका कारण सृजित समस्याले जुन समय लिने गरेको छ त्यो पाटोले नेपालको निर्यातलाई गम्भीर असर गरिरहेको छ ।

साना देशहरूको व्यापारिक सम्बन्ध सम्बद्ध देशहरूसँगको सम्बन्धले निर्धारण गरिरहेको हुन्छ । सन् १९६० पछि नेपाली हस्तकला सामाग्रीहरूले पश्चिमी बजारमा पाएको विशेष प्राथमिकताहरू यसै सम्बन्धका परिणामहरू हुन् । नेपाली वस्तुहरूलाई विशेष गरी पश्चिमा मुलुकहरूमा प्राप्त सहुलियतयुक्त बजार प्रवेशको अवसर यही सम्बन्धको पक्षको उपज हो । तसर्थ निर्यात अभिवृद्धि, बजार प्रािप्त र बजारमा विशेष मान्यताका लागि सम्बद्ध देशसँगको सम्बन्धले महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ ।

समग्रमा भन्नुपर्दा परिमाण, गुणस्तर, मूल्य, समय र सम्बन्ध यी पाँचओटा तत्त्वले मुलुकको निर्यात व्यापारको आकार निर्धारण गरिरहेका हुन्छ । यी पाँचओटा तत्त्वमध्ये कुनै एउटा पक्षमा कमजोर हुँदा साथ निर्यातमा अवरोध सृजना हुन्छ र निर्यातमा जडताको अवस्था सृजना हुन्छ । नेपालको निर्यातमा पनि यही पाँचओटा पक्षमा रहेका हाम्रा कमजोरीहरूबाट जडता सृजना भइरहेको छ । परिणामतः व्यापारघाटा न्यूनीकरण हुने गरी निर्यात क्षेत्रले भूमिका निर्वाह गर्न सकेको छैन ।

उपर्युक्त पक्षलाई दृष्टिगत गर्दै नेपालको निर्यात क्षेत्रमा व्याप्त जडता तोड्न देहायका विषयमा ध्यान जानु आवश्यक छ । सर्वप्रथम नेपाली उद्योगको उत्पादन क्षमतामा अभिवृद्धि गर्नु आवश्यक देखिन्छ । नेपाललले निर्यात गरिरहेका अधिकांश वस्तुको आयातको आकार पनि विशाल रहेको परिप्रेक्ष्यलाई दृष्टिगत गर्दै आयात प्रतिस्थापन तथा निर्यात प्रवद्र्धनसमेत हुने गरी उत्पादन वृद्धिको रणनीति अंगीकार गर्नु आवश्यक छ । यस प्रकारको रणनीतिले विशुद्ध विदेशी बजारमा आश्रित हुनुपर्ने समस्याको समाधान भई आन्तरिक बजार र निर्यात बजारले एकअर्काका लागि परिपूरक हुने अवस्थाको सृजना हुन जान्छ ।

नेपाली निर्यातजन्य वस्तुहरूको गुणस्तरसम्बन्धी विश्वसनीयता आर्जन गर्न उत्पादन र ढुवानीका हरेक विन्दुहरूमा विकासित मुलुकहरूले लागू गरेका प्रावधानहरू हुबहु लागू गर्नुपर्छ । कृषि उत्पादनमा असल कृषि अभ्यास, उत्पादन क्षेत्रमा असल उत्पादन अभ्यास लागू गर्नुका अतिरिक्त गुणस्तर नियन्त्रणमा निजीक्षेत्र र सरकार दुवैबाट निष्ठाजन्य सक्रियता पनि त्यत्तिकै आवश्यक छ । गुणस्तर प्रमाणीकरण गर्ने निकायहरूको स्तरोन्नति र सम्बद्ध देशहरूसँग आपसी मान्यता सम्झौता हुनु पनि अपरिहार्य देखिन्छ । यी व्यवस्थाले नेपाली उत्पादनहरूको गुणस्तर सम्बन्धमा सम्बद्ध बजारहरूमा लाग्ने प्रश्नचिह्नको समस्या समाधान हुने देखिन्छ ।

नेपाली उत्पादनको लागत न्यूनीकरणमा भूपरिवेष्टित अवस्थितिबाट सृजित समस्याका अतिरिक्त अन्य तत्त्वलाई सम्बोधन गर्नु आवश्यक छ । प्रक्रियतागत, प्रशासनिक, एकाधिकार, कार्टेल, सिन्डिकेट, असुरक्षा र आपूर्ति असहजता, बल विक्रय र छल विक्रय, अप्रतिस्पर्धा, थोपरिएका लागतहरू (अधिक करका दर, डमेरेज तथा भण्डारण चार्ज) जस्ता पक्ष सम्बोधन गर्ना साथ नेपाली निर्यातजन्य वस्तुहरूको लागत धेरै मात्रामा न्यूनीकरण गर्न सकिन्छ ।

आपूर्ति सुनिश्चिता (मालवस्तु, ऊर्जा र जनशक्ति)को व्यवस्थाले नेपाली निर्यातजन्य वस्तुको समयमै आपूर्तिमा ठूलो योगदान दिने हुँदा यी विषयमा सम्झौतारहित प्रावधानहरू लागू गरिनुपर्छ । शान्त औद्योगिक वातावरण र बहुआयामित ढुवानी सञ्जालको व्यवस्था, भन्सार विन्दु र बन्दरगाहमा सहज र सरल ओसारपसार र जाँचपास प्रक्रियाले पनि नेपाली उत्पादनको समयमै आपूर्तिमा ठूलो योगदान दिने देखिन्छ ।

वैदेशिक व्यापारको सबैभन्दा महत्त्वपूर्ण पक्षका रूपमा रहेको निर्यातकर्ता र आयातकर्ता मुलुकको सम्बन्धलाई सुमधुर राख्न मुलुकको आयातलाई निर्यातसँग जोड्नु आवश्यक देखिन्छ । नेपालको रू. १००० अर्बभन्दा बढीको आयात नेपालको निर्यात प्रवर्द्धनको सबैभन्दा उपयोगी औजार हो । निर्यात प्रवद्र्धनमा परिचालन गरिने आर्थिक कूटनीति यसै परिधिभित्र सञ्चालन गरिनुपर्छ ।

उपर्युक्त पाँचओटा पक्षहरूलाई समानान्तर रूपमा सबल गर्दै जान सक्ने हो नेपालको निर्यात क्षेत्रमा आमूल परिवर्तन आउने र यस क्षेत्रमा विगत लामो समयदेखि व्याप्त जडताको अन्त्य भई बढ्दो व्यापारघाटा नाफामा परिणत हुने निश्चित छ ।

व्यापार तथा निर्यात प्रवर्द्धन केन्द्रका वरिष्ठ अधिकृत बजगाईका यी विचार निजी हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्