फागुन १०, काठमाडौं । सोमवार शेयर बजारमा दोहोरो अंकको करेक्सन भइरहेको छ ।
यो समाचार तयार पार्दाको समय १२: ३५ बजेसम्मको कारोबार अवधिमा नेप्से परिसूचक २७ दशमलव ८९ अंक अर्थात् १ दशमलव शून्य ६ प्रतिशतले घटेको छ । निरन्तर बढेको बजारबाट अल्पकालिन लगानीकर्ताले नाफा बुक गरिरहदाँ सोमवारको बजार दोहोरो अंकको करेक्सन देखिएको हो ।
घटिरहेको बजारमा आधा दर्जन कम्पनीको शेयरभने उच्च दरमा बढेको छ । उक्त अवधिसम्म आँखुखोला जलविद्युत् कम्पनी र नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयरमूल्य १० प्रतिशत बढेको छ भने नेपाल हाइड्रो डेभलपरकोे ९ दशमलव ९३ प्रतिशत, अपर तामाकोशीको ९ दशमलव ८३ प्रतिशत, शिवश्री हाइड्रोको ९ दशमलव ६३ प्रतिशत र खानीखोला हाइड्रोको ९ दशमलव ४० प्रतिशतले शेयरमूल्य बढेको छ ।
सोमवार जलविद्युत्, अन्य समूह र म्यचुअल फण्ड वाहेकका सबै समूहगत परिसूचक घटेको छ । जलविद्युत् समूहको परिसूचक सर्वाधिक २ दशमलव ८८ प्रतिशतले बढेको छ भने अन्यको १ दशमलव २९ प्रतिशत र म्युचुअल फण्डको शून्य दशमलव ८९ प्रतिशत बढेको छ ।
सोमवारको बजारमा बैंकिङ र व्यपारिकसँगै जीवन बीमा समूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।