फागुन १०, वाशिङ्टन डीसी (अमेरिका) । भर्चुअल मुद्रा बिट्क्वाइनको भाउले हालैका दिनमा नयाँ नयाँ उचाई छोइरहेको छ ।
गत हप्ता पहिलो पटक ५० हजार डलरको स्तर पार गरेको बिट्क्वाइन आइतबार प्रतिगोटा ५८ हजार डलरमाथि पुग्यो । जनवरीको शुरुदेखि नै बिट्क्वाइन बढ्न थालेको थियो । नयाँ वर्ष शुरु भएदेखि अहिलेसम्मको अवधिमा यो ९० प्रतिशतभन्दा धेरैले बढिसकेको छ ।
यसको कूल बजार पूँजीकरण पनि १० खर्ब डलर माथि उक्लिएको छ । अमेरिकी विद्युतीय सवारी साधन निर्माता कम्पनी टेस्लाले र अन्य ठूला कम्पनीहरुले बिट्क्वाइनलाई भुक्तानीको माध्यमको रुपमा स्वीकार गर्ने बताएपछि पछिल्लो समय यसको भाउ बढिरहेको हो ।
आइतावर क्वाइनडेस्कमा यसको भाउ बढेर प्रतिगोटा ५८ हजार ३३२ डलर ३६ सेन्टसम्म पुगेको थियो । बिट्क्वाइनको भाउ यस अघि पनि पटक पटक अप्रत्याशित वृद्धि र कमी देखिँदै आएको छ ।
क्वाइन डेस्कका अनुसार यस वर्षको शुरुमा बिट्क्वाइनको भाउ २८ हजार ९०० डलर आसपास थियो । फेबु्रअरी १६ मा यो पहिलो पटक यो ५० हजार डलर माथि पुगेको थियो । त्यसयता यसको भाउ निरन्तर बढिरहेको थियो । एजेन्सी