फागुन १०, शाङ्हाई (चीन) । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी हुवावेईले दोबार्न मिल्ने नयाँ स्मार्टफोन सार्वजनिक गरेको छ ।
कम्पनीको हातेफोन व्यवसायको भविष्य कस्तो होला भन्ने चिन्ता बढिरहेकै बेलामा हुवावेईले सोमवार मेट एक्सटू सार्वजनिक गरेको हो । यसलाई हाई–एन्ड स्मार्टफोन व्यवसायमा पकड कायमै राख्ने कम्पनीको निरन्तरको प्रयासको रुपमा हेरिएको छ ।
कम्पनीको घरेलु अपरेटिङ सिष्टम हार्मोनी ओएसमा चल्ने यो हुवावेईको पहिलो उपकरण हुनेछ । फोनको २५६ जीबीको संस्करणको मूल्य १७ हजार ९९९ युआन (२ हजार ७८५ डलर) पर्नेछ । ५१२ जीबीको संस्करणको मूल्य भने १८ हजार ९९९ युआन पर्नेछ ।
फोनको बाहिरी डिस्प्ले ६ दशमलव ४५ इञ्चको छ । भित्री डिस्प्ले भने ८ इञ्चको छ । फोनमा किरिन ९००० प्रोसेसर जडान गरिएको छ । फोन चीनमा फेब्रुअरी २५ देखि विक्रीका लागि उपलब्ध हुनेछ । अन्य बजारमा फोन कहिले उपलब्ध हुन्छ भन्नेबारे हुवावेईले केही पनि बताएको छैन ।
अमेरिकी सरकारले लगाएको प्रतिबन्धको दबाब कम्पनीले निरन्तर महसुस गरिरहेको छ । प्रतिबन्धका कारण कम्पनीको विशेषगरी चीन बाहिरको स्मार्टफोन व्यवसायमा क्षति पुगेको छ ।
अघिल्लो वर्षको तुलनामा सन् २०२० को अन्तिम त्रैमासमा हुवावेईको स्मार्टफोन विक्री ४३ प्रतिशतले घटेर ३ करोड २० लाख थानमा आएको थियो । एजेन्सी