फागुन १०, काठमाडौं । इजीलिंक रेमिट्यान्स र लुम्बिनी विकास बैंक विच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौंता भएको छ ।
उक्त सम्झौतामा इजीलिंक रेमिट्यान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डिपि अर्याल, अपरेशन म्यानेजर सालिक राम दाहाल, सहायक लेखा प्रमुख निराजन अधिकारी र लुम्बिनी विकास बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी, मुख्य प्रबन्धक दिपक खनाल, रेमिट्यान्स प्रमुख सकुन्तला लामाले संयुक्त रुपमा हस्ताक्षर गरेका हुन् ।
उक्त सम्झौतापछि अब इजीलिंक रेमिट्यान्सको कोरियाबाट हानपास रेमिट्यान्स, जापानबाट ट्रान्सरेमिट्यान्स, साइप्रसबाट मसारी पेमेन्ट सर्भिसेज र अष्ट्रेलियाबाट इजीलिंक ट्रान्सफर मार्फत आएको रकम लुम्बिनी विकास बैंकका नेपालभर छरिएर रहेका ६९ शाखाहरुमार्फत सहजै भुक्तानी लिन सकिने भएको छ ।
साथै, लुम्बिनी रेमिटबाट पठाएको रकम पनि इजीलिंक रेमिट्यान्सको नेपालभरी रहेका ६ हजारभन्दा धेरै सहायक प्रतिनिधिहरु मार्फत सहजै भुक्तानी लिन सकिने भएको छ । छिटो, छरितो र सहज तरिकाले विप्रेषण रकमलाइ सेवाग्राहिसम्म पु¥याउन यो सम्झौंताले थप सहज हुने प्रमुख कार्यकारी अधिकृत अर्यालले बताए ।
हाल इजीलिंक रेमिट्यान्सले ग्राहकको चाहनालाई मध्यनजर गर्दै कोरिया, जापान, साइप्रस, अष्ट्रेलियालगायत विश्वका बिभिन्न मुलुकबाट पठाएको रकम बैंक खातामा ५ मिनेटमै जम्मा हुने व्यवस्था मिलाएको छ ।
त्यस्तै, सहायक प्रतिनिधिमार्फत रकम भुक्तानी लिनको लागि एस.वि.एल रेमिट (सिद्धार्थ बैंक), रेमिट टू नेपाल, कामना सेवा रेमिटका सहायक प्रतिनिधिहरुमार्फत ५ मिनेटमै भुक्तानी लिन सकिने समेत व्यवस्था मिलाएको छ ।