ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२ अर्ब लगानीमा खाद्य बैंक स्थापना

२०७७ फागुन, ११  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपालमा कृषिक्षेत्रलाई औद्योगिकीकरण गर्ने योजनाअनुरूप २ अर्ब रुपैयाँको लगानीमा राष्ट्रिय खाद्य बैंक लिमिटेडको स्थापना गरिएको छ ।

‘पोषिलो आहारको लागि दिगो कृषि उत्पादन हाम्रो अभियान’ भन्ने नाराका साथ अग्र्यानिक उत्पादनमा जोड दिँदै कृषिक्षेत्रमा आवश्यक ज्ञान, शीप, बीउबिजन, मलजलको समुचित व्यवस्थापन गरी निकट भविष्यमा नै कृषिक्षेत्रमा व्यापक औद्योगिकीकरण गर्ने उद्देश्यअनुरूप खाद्य बैंकको स्थापना भएको हो ।

कृषिक्षेत्रमा काम गर्दै आएका दक्ष जनशक्ति, विशेषज्ञ तथा कृषि वैज्ञानिकहरूको सहभागितामा यो बैंकको स्थापना भएको हो । सातओटै प्रदेशका ७७ जिल्लामा उपस्थिति दर्शाउँदै कृषिक्षेत्रलाई व्यापक बजारीकरण गर्ने संस्थाको मुख्य उद्देश्य छ । त्यसका लागि कृषिमा ठूलो लगानी गरी रोजगारी बढाउने, उत्पादन वृद्धि गर्ने र मुलुकलाई आत्मनिर्भरतातर्फ अघि बढाउने योजना अनुरूप काम अगाडि बढाएको बताइएको छ ।

सोमबार काठमाडौंमा भएको पत्रकार सम्मेलनमा राष्ट्रिय खाद्य बैंक लिमिटेडका अध्यक्ष शंकरनाथ उप्रेतीले यस बैंकले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को अभियानलाई सार्थकता दिन महत्त्वपूर्ण भूमिका खेल्ने दाबी गरे । उनका अनुसार यो बैंक आफैले खाद्यान्न, गेडागुडी, हरियो तरकारी, फलफूल, दूध, दही, माछा, मासु, चिया, जडीबुटीलगायत खाद्य वस्तुको उत्पादन गर्छ ।

देशैभरका किसानहरूसँग सहकार्य गर्नुका साथै कृषि कम्पनी, कृषि सहकारी, कृषि समूहलगायत कृषिक्षेत्रसँग सम्बद्ध सम्पूर्ण संघसंस्थासँग सहकार्य गर्ने लक्ष्य यस बैंकले लिएको छ ।

व्यक्तिगत, सरकारी संस्था र गुठीलगायत खाली जग्गा भाडामा लिएर कृषि उत्पादन गर्ने बैंकको योजना रहेको छ । हालसम्म कैलाली, कञ्चनपुर, बर्दिया, झापा, मोरङ, सुनसरी, धनुषा, चितवन, रूपन्देहीलगायत जिल्लामा जग्गा भाडामा लिने र उत्पादन गर्ने कार्य अघि बढिसकेको छ । यीमध्ये बर्दिया जिल्लाको गुलरिया नगरपालिकास्थित खैरी भन्ने स्थानमा २ सय बिगाहा जग्गा भाडामा लिइसकिएको छ । सोही स्थानमा स्थानीय किसानहरूसँग करीब ५ हजार बिगाहा जग्गामा सहकार्य गर्दै काम गर्ने सहमति भएको छ भने झापा, मोरङ र सुनसरी जिल्लामा १ हजार ४१ बिगाहा र लमजुङमा ५ सय ५० रोपनी जग्गा भाडामा लिने सहमति भएको जानकारी दिइएको छ ।

अल्पकालीन, मध्यकालीन र दीर्घकालीन उद्देश्य राखेर काम गरिरहेको खाद्य बैंकले पहिलो चरणमा धान, गहुँ, मकै, कोदो, आलु, तोरी, गेडागुडीलगायत उत्पादनलाई प्राथमिकतामा राखेको छ । दोस्रो चरणमा माछा, मासु, फलफूल, दूध, तरकारी आदिको उत्पादनलाई जोड दिने र तेस्रो चरणमा ती उत्पादनहरूलाई ठूलो मात्रामा भण्डारण, प्रशोधन, ग्रेडिङ र प्याकेजिङ गरी विभिन्न मुलुकहरूमा निर्यात गरिने बताइएको छ । विगत २ वर्षमा नेपालमा करीब ५६ अर्बको चामल, ७ अर्बको कागती र ७ अर्ब रुपैयाँ बराबरको प्याज आयात भएको सरकारी तथ्यांक छ । सोही विषय उल्लेख गर्दै अध्यक्ष उप्रेतीले अबका दिनमा आयात कम गर्दै निर्यातमा वद्धि गर्न खाद्य बैंकले महत्त्वपूर्ण भूमिका खेल्ने बताएका छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्