ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

भोजपुरी प्रतिष्ठानको भवनलाई महानगरको ५० लाख बजेट

२०७७ फागुन, ११  
प्रदेश ०२
NA

वीरगञ्ज (अस) । वीरगञ्ज महानगरपालिकाले भोजपुरी भाषाको संरक्षण र विकासको उद्देश्यले भोजपुरी प्रतिष्ठान गठन गरेको छ । महानगरले आइतवार वीरगञ्जमा प्रतिष्ठानको भवन शिलान्यास समेत गरेको छ ।

अन्तरराष्ट्रिय मातृभाषा दिवसको अवसर पारेर प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र महानगरका प्रमुुख विजय सरावगीले संयुक्त रूपमा भवनको शिलान्यास गरेका हुन् । डेढ कठ्ठा जग्गामा बन्ने भवनका लागि महानगरले चालू आर्थिक वर्ष २०७७/७८ का लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरेको नगर प्रमुख सरावगीले बताए । प्रतिष्ठानले स्वर्गीय पण्डित दीपनारायण मिश्रको स्मृतिमा १ लाख रुपैयाँ राशीको ‘पण्डित दीपनारायण मिश्र अन्तरराष्ट्रिय पुरस्कार’ स्थापना गरेको छ । यो पुरस्कार प्रत्येक २ वर्षमा एकजनालाई प्रदान गरिनेछ । ५० हजार रुपैयाँ राशीको राष्ट्रिय भोजपुरी पुरस्कार र ५१ हजार रुपैयाँ राशीको भोजपुरी लोकरंग पुरस्कार प्रत्येक वर्ष एक÷एकजनालाई प्रदान गरिने भएको छ । प्रतिष्ठानका संरक्षकसमेत रहेका प्रमुख सरावगीले भोजपुरी भाषा प्रवर्द्धनका लागि आफूले गरेको चुनावी प्रतिबद्धताअनुसार प्रतिष्ठान स्थापना गरिएको स्पष्ट पारे । मुख्यमन्त्री राउतले प्रतिष्ठानको भवन निर्माणका लागि सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे । प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलले भोजपुरी भाषाको प्रवर्द्धनमा महानगरले थालेको अभियानलाई प्रदेश सरकारको निरन्तर सहयोग रहने बताए । प्रतिष्ठानका अध्यक्ष उमाशंकर द्विवेदीले संसारका ५० करोडभन्दा बढी मानिसले भोजपुरी भाषा बोल्ने बताए ।

प्रतिष्ठानका सदस्यहरूमा गणेश लाठ, अनिता साह, डाक्टर रक्षा झा, कामेश्वर चौरसिया, अजमद अली अन्सारी, रितु राज, पत्रकार रितेश त्रिपाठी, मौसमी कुशवाहा र अशोक कुशवाहा छन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्