ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

विराटनगरका उद्योगी व्यवसायीद्वारा पीसीएको अवधि घटाउन माग

२०७७ फागुन, ११  
प्रदेश ०१
NA

विराटनगर (अस) । सुनसरी मोरङ औद्योगिक कोरिडोरका उद्योगी व्यवसायीले भन्सार जाँचपासपछिको परीक्षण (पोस्ट कस्टम अडिट–पीसीए)को अवधि घटाउन माग गरेका छन् । यससम्बन्धी स्थलगत अनुसन्धानको ४ वर्षसम्मको अवधि लामो भएको भन्दै उनीहरूले त्यसको अवधि एक वर्ष कायम गरिनुपर्ने माग गरेका हुन् ।

उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले उद्योगी व्यवसायीलाई प्रोत्साहन प्रदान गरे मात्र मुलुकमा उद्योग खुल्ने, रोजगारीको अवसर सृजना हुने र मुलुक समृद्धितिर जाने भएको भन्दै उक्त अनुसन्धानको अवधि छोट्याउन सुझाव दिए । भन्सारका अधिकारीले तजबिजको अधिकार सबैको हित हुने किसिमले प्रयोग गर्नुपर्नेमा उनले जोड दिए ।

मोरङ व्यापार संघका कार्यवाहक अध्यक्ष नवीन रिजालले पीसीएको कार्यालय विराटनगर भन्सारमा राख्न र यसको अनुसन्धानको अवधि घटाउन माग गरे । चार वर्षको अनुसन्धान अवधिले उद्योगी व्यवसायीलाई मानसिक र आर्थिक दुवै किसिमको समस्यामा पार्ने भन्दै उनले यसको अवधि एक वर्षको बनाउन सुझाए ।

विराट व्यापार संघका निवर्तमान अध्यक्ष शिव रिजालले कुनै सामान विदेशबाट मगाएर ६ महीनामा विक्री गरेर सकिने, एक आर्थिक वर्षपछि त्यसको कुनै रेकर्ड आवश्यक नपर्ने, तर ४ वर्षपछि भन्सार जाँचपासपछिको परीक्षण कार्यालयले सामानको स्टक जाँच गर्छु भनेमा कहाँबाट ल्याएर देखाउने भन्दै प्रश्न गरे । भन्सार जाँचपासकै क्रममा यसको पनि सम्पूर्ण अनुसन्धान सकिनुपर्ने उनले बताए ।

उद्योग संगठनका उपाध्यक्ष प्रदीप मुरारकाले भन्सार जाँचपासमा आएको सामान बिजक मूल्यको कम भएमा ५ प्रतिशत थप गरेर भन्सारले किन्ने व्यवस्थाको कार्यान्वयन नभएको गुनासो गरे । आर्थिक ऐनमा वाइन्डेड वायर हाउस निःशुल्क हुने उल्लेख भए पनि आफूहरूले त्यसको उपयोग गर्न नपाएको भन्दै मुरारकाले २ वर्षदेखि भन्सार विभागमा आफ्नो फाइल पेन्डिङमा रहेको बताए ।

विराटनगर भन्सार एजेन्ट संघका पूर्वअध्यक्ष प्रवीण जोशीले भन्सार एजेन्टहरू सबै विषयको विज्ञ बन्नुपर्ने बाध्यता रहेको बताए । यही कारण भन्सारले आफूहरूलाई पटक पटक जरीवाना गराउँदै आएको अनुभव उनले सुनाए ।

उद्योग संगठन मोरङका पूर्वअध्यक्ष सुशील धनावतले भन्सार एजेन्टलाई मात्रै नभएर ऊसँगै रहने भन्सारका कर्मचारीलाई पनि जरीवाना हुनुपर्ने माग गरे । युवा उद्यमी पारस लुनियाले ल्याउन नपाइने मालवस्तुको एससी बन्द गर्न आग्रह गरे । अर्का युवा उद्यमी विपीन कावराले उद्योगका लागि सिंगो मेशिन खरीद गरेर ल्याउँदा भन्सारले त्यसभित्रका पार्टपुर्जाको फरक फरक भन्सारदर तोकिदिँदा समस्या परेको गुनासो गरे ।

विराटनगर भन्सार प्रमुख शिव भण्डारीले विराटनगर भन्सारबाट पोलिसी लेभलबाट रोकिएको बाहेक ९९ प्रतिशत काम भइरहेको बताए । उद्योगीले ग्रीन, एल्लो र रेड कुन च्यानलबाट सामान आयात गर्ने भन्ने सुविधा रहेको जानकारी दिँदै उनले तीनओटै च्यानलबाट गरिने आयातको प्रक्रियाबारे जानकार हुन समेत आग्रह गरे ।

भन्सार विभागका महानिर्देशक सुमन दाहालले उद्योगी व्यवसायीलाई समस्या नहोस् भनेर आफूहरूले एड्भान्स रुलिङको सुविधा उद्योगी व्यवसायीलाई उपलब्ध गराएको बताए । त्यसले उद्योगी व्यवसायीको झन्झट कम गराउने विश्वास उनले व्यक्त गरे ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्