ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

२७७२ रुग्ण ठेक्काको पुनः म्याद थप्न महासंघको माग

२०७७ फागुन, ११  
वाग्मती प्रदेश
NA
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले २ हजार ७७२ रुग्ण ठेक्काको म्याद थप्न सरकारले नीतिगत निर्णय गर्नुपर्ने माग गरेको छ । सडक विभागका नवनियुक्त महानिर्देशक अर्जुनजंग थापासँग महासंघका अध्यक्ष रवि सिंहसहितका प्रतिनिधिले भेटेर काम हुन नसकेका त्यस्ता ठेक्काहरूको प्राविधिक पुष्ट्याइका आधारमा पुनः म्याद थपका लागि सरकारले नीतिगत निर्णय गर्नुपर्ने माग गरेका हुन् । महासंघको प्रतिनिधिमण्डलले सोमवार थापालाई भेटेर रुग्ण ठेक्का एवं निर्माणको २०७६ फागुनदेखि लागू हुनेगरी १ वर्ष म्याद थप भए तापनि २०७६ चैत ११ गतेदेखि भएको बन्दाबन्दी, क्षेत्रगत रूपमा लागू भएको निषेधाज्ञा, वर्षायाम र चाडपर्वका कारण काम गर्न नसकिएको बताएको छ । महासंघले धरौटी रकम, म्याद थप, डिजेलमा लागेको मूल्य अभिवृद्धि कर फिर्ता, जरीवाना, ब्याज र थप दस्तुर छूट, शान्ति सुरक्षा, योजना हस्तान्तरण, क्रेडिट लाइन कमिशन लगायत माग सम्बोधन गर्न आग्रह गरेको छ ।

यस्तै मूल्यवृद्धि, कोभिड–१९ को मापदण्ड, कानून संशोधन लगायत विषयमा महानिर्देशक थापाको ध्यानाकर्षण पनि महासंघले गराएको छ । कोभिड–१९ को असरले गर्दा निर्माण क्षेत्रमा नगद प्रवाह कम रही बन्दप्रायः रहेको भन्दै महासंघका अध्यक्ष सिंहले निर्माण पुनः सञ्चालन गरी आर्थिक कारोबार चलायमान बनाउन निष्क्रिय अवस्थामा रहेको ५ प्रतिशत धरौटी रकम फिर्ता गराउन माग गरे ।

सरकारले गत असार २९ र माघ ११ को मन्त्रिपरिषद्को निर्णयानुसार म्याद समाप्त भएको मितिदेखि लागू हुनेगरी ६ महीना म्याद थप भए तापनि त्यस अवधिमा लकडाउनका कारण धेरैजसो कल कारखाना बन्द भएको महासंघको भनाइ छ । निर्माण सामग्री सप्लायर्सहरू समेत बन्द रही पर्याप्त मात्रामा सामग्री उपलब्ध हुन नसकेको र निर्माण हुने मुख्य सिजन फागुनदेखि जेठसम्मको समय लकडाउन अवधिमा परेकाले निर्माण हुने मुख्य सिजन उपयोग नभएकाले काम गर्न समस्या रहेको बताइएको छ ।

यस्तै विगत केही समययता देशका विभिन्न भागमा निर्माण क्षेत्रमा खटिएका निर्माण व्यवसायी र निर्माणमा प्रयोग भएका यन्त्र–उपकरणमाथि अज्ञात समूहबाट पटक पटक भइरहेको आक्रमण/आगजनीका घटना रोक्न समेत महासंघले सरकारको ध्यानाकर्षण गराएको छ ।

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्