काठमाडौं (अस) । पर्वतको फलेवास नगरपालिका र नागरिक लगानी कोषबीच सम्झौता भएको छ ।
फलेबास नगरपालिकाभित्रका असंगठित क्षेत्रका विपन्न मजदुरको ५ सय रुपैयाँ योगदान तथा नगरपालिकाद्वारा ५ सय रुपैयाँ थप गरी मासिक १ हजार रुपैयाँको दरले प्रतिमहिना रकम जम्मा गर्ने गरी कोष र नगरपालिकाबीच सम्झौता भएको हो ।
सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र नगरप्रमुख पदमपाणि शर्माले हस्ताक्षर गरे ।
योजनामा सहभागी करिब ७ सय असंगठित क्षेत्रका विपन्न मजदुरले ६० वर्ष पुगेपछि मासिक रूपमा पेन्सन प्राप्त गर्ने वा सावाँ, ब्याज तथा प्रतिफलसहित एकमुष्ट रकम लिन सक्नेछन् ।
पेन्सन योजनाको बैकिङ पार्टनरको रूपमा एनआईसी एसिया बैंक रहेको छ । नगरपालिकाको यो कार्यक्रममा बैंकको कुश्मा शाखाबाट सेवा प्रदान गरिनेछ ।
पहिलो चरणमा सहभागी प्रत्येकलाई सामाजिक उत्तरदायित्वअन्तर्गत कोषको तर्फबाट १÷१ सय रुपैयाँ उनीहरूको खातामा थप गरिने कोषका कार्यकारी निर्देशक नेपालले बताए । कार्यक्रममा नगरपालिकाका प्रमुख, उपप्रमुखलगायत सहभागी थिए ।