नेपालमा हिल स्टेशन पर्यटनको सम्भावना बारे निकै चर्चा भइरहे पनि ठोस काम हुन नसकिरहेको अवस्थामा नेपाल पर्यटन बोर्डले मुलुकका ६ ओटा प्रदेशका ३९ जिल्लालाई हिल स्टेशन जोनका रूपमा विकास गर्ने प्रस्ताव अघि सारेको छ । पर्यटन क्षेत्रमा विविधीकरण नहुँदा मुलुकको पर्यटनले अपेक्षित गति लिन नसकिरहेको सन्दर्भमा हिल स्टेशन अवधारणा आउनु सकारात्मक हो । तर, हिल स्टेशनका लागि पर्याप्त पूर्वाधार भएन भने प्रभावकारी हुने सम्भावना कम देखिन्छ ।
केही घण्टाको यात्रामै शीतल स्थानमा आउन पाइने भएकाले भारतीय सीमावर्ती क्षेत्र नै हिल स्टेशन प्रडक्टका लागि राम्रो बजार हुन सक्छ ।
गर्मी याममा शीतल स्थानको खोजीमा आउने पर्यटक लक्षित गरी हिल स्टेशनको परिकल्पना गरिएको हो । नेपाल जस्तै भौगोलिक वातावरण भएका क्षेत्रलाई भारतले हिल स्टेशनका रूपमा विकास गरेको छ । दार्जजिङ, नैनीताल, मसुरी, गान्तोक, मिरिक, श्रीनगरजस्ता स्थल हिल स्टेशनका रूपमा चर्चित छन् ।
ती हिल स्टेशनमा आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने गरेको छ । नेपालले पनि हिल स्टेशनको अवधारणामार्फत गर्मी छल्न आउने पर्यटक आकर्षित गर्न सक्छ । नेपालका सीमावर्ती भारतीय शहरहरूबाट गर्मी छल्न नेपाल आउने पर्यटक प्रशस्त हुने देखिन्छ । केही घण्टाको यात्रामै शीतल स्थानमा आउन पाइने भएकाले भारतीय सीमावर्ती क्षेत्र नै यस प्रडक्टका लागि राम्रो बजार हुन सक्छ । त्यस्तै, यूरोपेली मुलुकका पर्यटकहरू पनि हिल स्टेशनका ग्राहक हुने सम्भावना देखिन्छ । बोर्डले अहिले प्रस्ताव गरेका क्षेत्रमा पर्याप्त भौतिक पूर्वाधार बनाउने हो भने र पर्याप्त प्रचार गर्ने हो भने यी क्षेत्र निकै आकर्षक हुन सक्छन् । ‘गर्मी से बेहाल चलो नेपाल’ जस्ता प्रवद्र्धनात्मक सन्देशले पनि भारतीय पर्यटक लोभ्याइरहेको सन्दर्भमा भारतीय हिल स्टेशनमा जस्तै नेपालले पनि पर्याप्त भौतिक पूर्वाधार विकास गर्नु आवश्यक छ ।
नेपाल प्रचुर पर्यटकीय सम्भावना बोकेको मुलुक हो तैपनि केही लाख पर्यटक आगमनमा चित्त बुझाउनु परिरहेको छ । त्यसमा पनि गुणस्तरीय पर्यटकको संख्या निकै कम छ । पर्यटकीय प्रडक्टमा विविधीकरण हुन नसक्दा दोहो¥याई तेह¥याई आउने पर्यटकको संख्या निकै कम छ । यद्यपि यसको तथ्यांक कतै पनि पाइँदैन । नेपालको कुल गार्हस्थ्य उत्पादनमा ३ प्रतिशतभन्दा बढी योगदान दिएको, १० लाखभन्दा बढीलाई रोजगारी दिएको तथा विदेशी मुद्रा आर्जन गर्ने महत्त्वपूर्ण स्रोत भएको यो क्षेत्र सरकारको उच्च प्राथमिकतामा पर्नुपर्ने हो । तर, पूर्वाधार निर्माण तथा दिगो पर्यटनका लागि सरकारले आवश्यक मात्रामा लगानी र सहजीकरण गर्न सकेको छैन ।
नेपाल आफैमा प्राकृतिक रूपमा पर्यटकीय प्रडक्ट हो भन्न सकिन्छ । यसमा पर्यटकहरूको बसाइ सहज र आरामदायी बनाउनेलगायत केही पूर्वाधार थपिदिने हो भने पर्यटक लोभ्याउन पर्याप्त हुने देखिन्छ । तर, जति नै सुन्दर भए पनि पर्यटकहरूको बसाइ सहज बनाउने खालको भौतिक निर्माण बन्न नसक्दा एकातिर पर्यटकको औसत नेपाली बसाइ बढाउन सकिएको छैन । त्यस्तै पर्यटकीय प्रडक्टमा विविधीकरण नभएकाले उनीहरूले गर्ने खर्च पनि बढिरहेको छैन । संख्या बढेको अनुपातमा बसाइ र खर्च नबढ्दा कुल गार्हस्थ्य उत्पादनमा पर्यटनको योगदान अपेक्षित मात्रामा हुन सकेको छैन ।
हिल स्टेशनको अवधारणा उपयुक्त भए पनि त्यसका लागि गुरुयोजना नै आवश्यक हुन्छ । हिल स्टेशन भनेको केही ठाउँमा होटलहरू बनाउनु मात्रै होइन । त्यहाँको पर्यावरण र प्राकृतिक सुन्दरतालाई समेत खलल नपुर्याई पूर्वाधार निर्माण गर्न आवश्यक हुन्छ । यसका लागि संघीय सरकार, प्रदेश र स्थानीय सरकार सबैको उत्तिकै सहभागिता र सक्रियता अपेक्षित हुन्छ । सरकारले जग्गा एकीकरण, भौगोलिक क्षेत्र निर्धारण, हिल स्टेशनका लागि आवश्यक नीति बनाइदिए पछि त्यसमा निजीक्षेत्रले लगानी गर्ने हो । कतिपय ठूला लगानीका लागि सार्वजनिक निजी साझेदारीको अवधारणमा पनि हुन सक्छ । यी सबैका लागि सरकारसँग स्पष्ट खाका हुनु आवश्यक छ । बोर्डले तयार पारेको खाकामा सरोकारवालाहरूसँग पर्याप्त छलफल गरी यस प्रडक्टलाई व्यापक बनाउने सके सीमित क्षेत्रमा रहेको नेपालको पर्यटनले फड्को मार्न सक्ने देखिन्छ ।