ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

डिजिटल बैंकिङका तगारा

२०७७ फागुन, ११  
लेख | दृष्टिकोण
Image Not Found

अन्तराष्ट्रिय जगत् अहिले पेपरलेस बैंकिङ प्रणालीमा कसरत गर्दै गरेको देखिन्छ । हिजो अमेरिकामा रहेका ठूलाठूला भवनका बैंकहरू अहिले एउटा अपार्टमेन्ट जत्रो क्षेत्रफलबाट सञ्चालन हुन थालेका छन् । जेपी मोर्गान, बैंक अफ अमेरिका, वेल्स फार्गो बैंक, सिटी बैंक या यूएस बैंक— अमेरिकाका यी सबै ठूला बैंकले आफ्ना शाखा बन्द नै गरेका थिए । औसतमा यी बैंकले करीब ८ प्रतिशत शाखा बन्द गरे । बैंकिङ कारोबार अनलाइनमार्पmत गर्न थालेपछि भौतिकताको सार्थकता कम हुँदै गएको हो ।

नेपालमा भने फरक प्रसंग छ । सामान्य अवस्थामा पनि बैंकहरूमा भीड नै हुन्छ । प्रविधिमैत्री हुनुपर्छ भनी मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङलगायत सेवातर्फ ध्यान केन्द्रीकृत गर्न खोजिए पनि बैंकहरूमा भीड कम हुन सकेको छैन ।

कोरोनाको त्रासमय क्षण डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने सुवर्ण अवसर भए तापनि नेपालले यो अवसरलाई पूर्ण उपयोग गर्न सकेको देखिँदैन ।

नेपालमा किन अझै वित्त क्षेत्र डिजिटल प्रणालीबाट बाहिर छ भनी बुझ्न आवश्यक छ । कोरोनाको यो प्रहार अन्त्य भएसँगै डिजिटल वित्त प्रणाली व्यापक रूपमा लागू हुने विश्वव्यापी विश्वास रहे तापनि नेपाल अझै प्रविधीमैत्री नहुनुका पछाडि केही कारण छन् ।

पहिलो कारण त नेपाली जनतालाई डिजिटल ज्ञानकै अभाव छ । पेन्सन हालेको दिन बैंकमा देखिने भीडले यो पुष्टि गर्छ । अहिले पनि नेपालमा करीब १ करोड प्रयोगकर्तासँग मात्र मोबाइल बैंकिङ सेवा छ । यो आफैमा सानो अंक हो, यद्यपि यो तथ्यांकभित्र अर्को पक्ष के पनि छ भने यहाँ खातामा राखेको रकम र झिकेको रकमबारे जानकारी दिने एसएमएसलाई समेत मोबाइल बैंकिङभित्र समावेश गरिएको छ । मोबाइल बैंकिङको सेवा लिएर बैंकिङ कारोबार गर्नेको संख्या न्यून छ । एटीएम प्रयोग गर्न नै नआएर, बैंकको लाइनमा एटीएम गोजीमा राखेर चेक बोकेर उभिनेहरू पनि पाइन्छन् । बैंकमा मात्र होइन, अन्य वित्तीय क्षेत्रतर्फ पनि सोही अवस्था छ । अझै पनि शेयरको प्रमाणपत्र दराजमा राख्नेको उल्लेखनीय संख्या छ । सजिलै घरबाट बीमा गर्न सकिन्छ भन्ने ज्ञानसमेत निकै कमलाई छ । घरमै बसेर लिन सकिने सेवाका लागि समेत बैंकमा जानेको संख्या प्रशस्तै देखिन्छ ।

सहजीकरण नभएकाले पनि मान्छेहरू पुरानै ढाँचाबाट आर्थिक कारोबार गर्न रुचाएको हुनुपर्छ । एटीएम, मोबाइल एप, इन्टरनेट बैंकिङ सेवाहरू सबै प्रयोग गर्दा खर्चिलो देखिन्छ । प्रविधिले लागत घटाउनुपर्नेमा त्यसो हुन सकेको छैन । डिजिटल सेवामा रहने महँगो शुल्कले गर्दा पनि आम सर्वसाधारण पुरानै ढाँचामा रमाएका हुनुपर्छ । चाहना र इच्छा रहे पनि सहजीकरण नभएको हुँदा चौतर्फी रूपमा यस प्रणालीमा प्रवेश गर्न अप्ठ्यारो बनाएको देखिन्छ । प्रविधिप्रतिको अविश्वाससमेत कतिपय मानिसमा देखिन्छ ।

डिजिटल प्रणालीतर्फ उन्मुख नहुनुको अर्को मुख्य कारण भनेको प्राविधिक जटिलता हो । प्राथमिक शेयर खुलेको दिन मेरो शेयरमा सधैं समस्या देखिन्छ । यसले गर्दा प्रविधिप्रति अविश्वास बढेको देखिन्छ । अनलाइन प्रणालीप्रति चासो नगएको हुनुपर्छ । शेयरतर्फ मात्र नभएर, यस प्रकारको समस्या अन्य वित्तक्षेत्रतर्फ पनि उत्तिकै देखिन्छ । क्यूआर कोडबाट भुक्तानी गर्दा तत्काल रिपोर्ट नआउँदा प्रयोगकर्ताले झन्झट बेहोर्नु परेको छ । क्यूआर भुक्तानी गरे पनि ग्राहकको खातामा रकम जम्मा भएको सन्देश आउन ढिला हुँदा दोहोर पैसा तिर्नुपरेको र पछि पैसा फिर्ता लिन गाह्रो भएको समेत गुनासो छ क्यूआर कोड वा मोबाइल भुक्तानी गरेका ग्राहकबाट ।

प्राविधिक क्षेत्रमा समस्या आउनु स्वाभाविक हो । यो जहाँ पनि हुन्छ । तर, समस्याको पहिचान भइसकेपछि पनि मूकदर्शक भएर बस्नु लापरबाही हो । समस्या आउँदा कारण के हो भन्ने ग्राहकलाई जानकारी दिने र त्यसमा सुधार ल्याएको सूचना दिने गर्दा पनि ग्राहकको विश्वास जित्न सकिन्छ । तर, नेपालमा यस्तो जिम्मेवारीपूर्ण तरीकाले समस्याको सम्बोधन गर्ने परिपाटी निकै कम छ । त्यसैले सरोकारवाला सबै मिलेर ग्राहकलाई डिजिटल कारोबार गर्नेप्रति सचेत बनाउनुका साथै विश्वास पनि जगाउन आवश्यक छ । डिजिटल साक्षरता बढाउनु अहिलेको आवश्यक हो । प्रविधि भएर पनि त्यो प्रयोग गर्न जानेर पनि अविश्वास गर्नेहरूलाई समेत यसको सबै पक्षको जानकारी दिन सके उनीहरूलाई डिजिटल कारोबारप्रति अभ्यस्त बनाउँदै जान सकिन्छ । कोरोनाको विषम परिस्थितिमा बैंकहरूले डिजिटल सेवा दिएको भनेर जति भने पनि डिजिटल बैंकिङले ठूलै गति लिन भने सकेको छैन । विभिन्न माध्यमबाट अहिले नगदरहित कारोबार गर्न सकिए तापनि नेपाली समाजमा अझै नगदलाई नै प्राथमिकता दिने गरिन्छ । बन्दाबन्दीमा त झन् मान्छेहरूले बैंकको काम फुर्सदमा आनन्दले गर्न पाएको झैं अनुभूति गरेका देखियो । कोरोनाको त्रासमय क्षण डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने सुवर्ण अवसर भए तापनि नेपालले यो अवसरलाई पूर्ण उपयोग गर्न सकेको देखिँदैन । अहिले नेपाल राष्ट्र बैंकले क्यूआर कोडबाट गरिने भुक्तानीलाई निकै महत्त्व दिएको देखिन्छ । तरकारी पसलदेखि सार्वजनिक यातायातसम्म क्यूआर कोडको प्रयोग गर्न प्रोत्साहन गरिँदै छ । साना पसलदेखि ठूला मलसम्म अहिले क्यूआर कोड राख्ने गरिएको छ । तर, इन्टरनेटको सहज उपलब्धता नहुँदा यो प्रभावकारी बन्नेमा आशंका छ । मोबाइलमा डाटा खोलेर कारोबार गर्न बढी खर्च लाग्ने र कतिपय अवस्थामा भुक्तानी नहुने हुँदा धेरैले यसको प्रयोगलाई झन्झटिलो मानेको पनि पाइन्छ । कतिपय कम्पनीले क्यूआर कोडबाट भुक्तानी गर्दा केही छूट दिएका छन् । त्यसले यसलाई प्रोत्साहन गरेको पाइन्छ । इन्टरनेट सहज उपलब्ध हुने हो भने पनि क्यूआर कोडको उपयोग बड्ने देखिन्छ ।

अबको बैंकिङ डिजिटल नै हो भन्नेमा विवाद छैन । शेयरबजार धेरै मात्रामा अनलाइन बनिसकेको छ । तर, डिजिटल वित्तीय साक्षरताका लागि राज्य, वित्त संस्थाहरू र मिडियाले हातेमालो गर्न आवश्यक छ । सेवा छ भन्दा पनि कसरी प्रयोग गर्ने भन्ने बारे जानकार गराउन बढी आवश्यक छ । यस्ता अनलाइन माध्यमहरू सहज र ग्राहक मैत्री हुन उत्तिकै आवश्यक छ ।

लेखक बैंकर हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्