ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

मेलम्चीको सुरुङ परीक्षण पुनः शुरू

२०७७ फागुन, ११  
समाचार
Image Not Found
author avatar सुन्दर शिरीष

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरुङ पुनः परीक्षण शुरू गरिएको छ । साढे २६ किलोमीटर सुरुङमा सोमवार औपचारिक कार्यक्रम गरी पानी भर्न परीक्षण शुरू गरिएको हो ।

खानेपानीमन्त्री मणि थापा, युवा तथा खेलकुदमन्त्री दावा तामाङ, पूर्व कानूनमन्त्री शेरबहादुर तामाङ, शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरलगायतको उपस्थितिमा सुरुङ परीक्षणको शुरुआत गरिएको हो । खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी विकास समितिले आवश्यक सम्पूर्ण प्राविधिक काम पूरा गरेसँगै पानी हालेर परीक्षण शुरू गरिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिए ।

सुरुङ भरिन १६ दिन लाग्नेछ । पानी परीक्षणको शुभारम्भ गर्दै खानेपानीमन्त्री थापाले पानी काठमाडौं लगेर वितरण गर्न सकिए ठूलो उपलब्धि हुने बताए । चाँडोभन्दा चाँडो आयोजना सम्पन्न गराउन आफूले पहल गर्ने उनको भनाइ छ । ‘जतिसक्दो छिटो मेलम्चीको पानी उपत्यकामा वितरण गर्ने योजनामा छौं,’ उनले भने, ‘त्यसका लागि विज्ञ र सरोकारवालाहरूसँग आवश्यक छलफल गरिरहेका छौं ।’

परीक्षणको समयमा दुर्घटना नहोस् भनेर सावधानी अपनाइएको छ । ‘विगतको जस्तो दुर्घटना नहोस् भनेर विशेष सतर्कता अपनाएका छौं,’ आयोजनाका कार्यकारी निर्देशक तिरेश खत्रीले भने । उद्धार योजना बनाएर धुलिखेल र काठमाडौंका विभिन्न अस्पतालसँग समन्वय गरिएको उनले बताए ।

गएको असारमा सुरुङमा पानी भनेर परीक्षण गरिएको थियो । तर, हेलुम्बु गाउँपालिका–१ अम्बाथानको अडिटको मुख्य गेट फुटेर निस्केको पानीले आयोजनाका एक इन्जिनीयर र चालकलाई बगाएको थियो । त्यसपछि आयोजनाको मुख्य दातृ निकाय एशियाली विकास बैंक (एडीबी)को अनुदान सहयोगअन्तर्गत चारजना विशेषज्ञको टोलीले सुरुङ, मुहानस्थल, गेटलगायत संरचनाको पुनः जाँच गरेको थियो ।

दुर्घटना भएपछि मन्त्रालयका सहसचिव रमाकान्त दवाडीको संयोजकत्वमा छानविन समिति गठन गरिएको थियो । उक्त समितिले डिजाइनअनुसार भित्रबाट राख्नुपर्ने गेट बाहिरपट्टिबाट राखिएकाले पानीको प्रेसर थाम्न नसकेर दुर्घटना भएको निष्कर्ष निकालेको थियो । सोही प्रतिवेदनका आधारमा अहिले सुधार गरी परीक्षणको काम गरिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनीयर राजेन्द्रप्रसाद पन्तले बताए ।

उनका अनुसार बाहिरबाट भित्रतिर धकेलेर खोल्न मिल्नेगरी गेट राखिएको छ । ग्याल्थुम र अम्बाथान अडिटमा ग्राउटिङ गरेर कंक्रिट प्लग राखिएको छ । उच्च प्रविधिबाट स्थायी हेडवक्र्सको निर्माण गरिएकाले अब सुरुङमा समस्या नदेखिने विश्वास आयोजनाले लिएको छ ।

शुरुआती चरण भएकाले सुरुङको क्षमताअनुसार पानी नछाडिने आयोजना प्रमुख खत्रीले जानकारी दिए । दैनिक १७ करोड लिटर पानी ल्याउने सुरुङको क्षमता प्रतिसेकेन्ड ६ हजार लिटर छ । तर, पहिलो चरणमा क्षमताको ३ प्रतिशत मात्र अर्थात् ३०० लिटर प्रतिसेकेन्ड पानी छाडिने उनले बताए ।

उनले आगामी चैत २५ गतेसम्म सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको जलाशय भरिने बताए । ‘सम्भवतः वैशाखभित्रै पानी वितरण हुन्छ,’ खत्रीले भने ।

उनका अनुसार उपत्यकावासीको घरमा पानी छाड्ने दुईओटा विकल्पबारेमा छलफल भइरहेको छ । पहिलो सुरुङ भरिएलगत्तै तत्काल उपभोक्ताको घरमा पानी छाड्ने, अर्काे तुरुन्तै पानी छाड्नुभन्दा पहिला जाँच गरेर मात्र पानी पठाउने । जाँचको विकल्पमा गइयो भने आगामी वैशाखमा उपभोक्ताका घरमा पानी पुग्नेछ ।

पानी भरिएपछि दुवैतिरको गेट बन्द गरेर १ सातासम्म राखिनेछ । त्यसपछि उक्त पानी प्mलसिङ गर्न १५ देखि २० दिन लाग्नेछ । पानी खाली भएपछि कहीँ केही समस्या छ कि भनेर करीब १० दिन जति निरीक्षण हुनेछ । कुनै समस्या नदेखिए सुरुङमार्ग पानी हाल्नका लागि तयार हुने बताइएको छ । चैतको अन्तिम सातासम्ममा अस्थायी पथान्तरणका लागि सुरुङमार्ग तयार पार्ने लक्ष्य आयोजनाको छ ।

मेलम्ची खानेपानी आयोजना पूरा भएपछि दैनिक १७ करोड लिटर पानी काठमाडौं उपत्यकामा पुर्‍याउन सकिन्छ । उपत्यकामा खानेपानीको माग दैनिक ४१ करोड ५० लाख लिटर रहेको अनुमान छ । त्यसमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले दैनिक १० करोड ७२ लाख लिटर मात्र वितरण गर्छ । यसमा २० प्रतिशत चुहावट छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्