फागुन ११, काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले फागुन १९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ८ वर्ष अवधिको ‘८ दशमलव ७५ प्रतिशत प्राइम डिबेन्चर २०८५’ निष्कासन गर्न लागेको हो छ ।
कम्पनीले प्रति ऋणपत्र एक हजार अंकित मूल्यको रू. ३ अर्ब ५० करोड बराबरको ३५ लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । निष्कासन गर्ने कुल ऋणपत्रमध्ये रू. २ अर्ब १० करोड बराबरको २१ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट विक्री गर्नेछ भने बाँकी रू. १ अर्ब ४० करोड बराबरको १४ लाख कित्ता ऋणपत्र सर्वसाधारणहरुमा विक्री गर्न लागेको हो ।
उक्त ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । ऋणपत्रमा आवेदन दिने अन्तिम मिति छिटोमा फागुन २३ गते र ढिलोमा चैत ४ गतेसम्म रहेको छ ।
कम्पनीले निष्कासन गर्ने उक्त ऋणपत्रलाई केयर रेटिङ नेपालले केयर एनपी सिंगल ए माइनस रेटिङ प्रदान गरेको छ । उक्त रेटिङ प्राप्त गर्ने संस्थाहरुलाई समयमा नै वित्तीय दायित्व पूरा गर्ने तथा न्यूनतम कर्जा जोखिम रहने संस्थाको रुपमा लिइन्छ ।
ऋणपत्रको निष्कासन तथा विक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । आवेदकले नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त सि-आस्बा सेवामा सहभागित बैंक तथा वित्तीय संस्थाहरु तथा तिनका तोकिएका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सक्नेछन् ।