फागुन ११, सिड्नी (अष्ट्रेलिया) । सामाजिक सञ्जाल फेसबूकले अष्ट्रेलियामा न्यूज कन्टेन्टमाथिको प्रतिबन्ध हटाएको छ । कम्पनीले त्यहाँका प्रयोगकर्ताहलाई पुनः न्यूज कन्टेन्ट हेर्न दिने भएको छ ।
समाचार प्रकाशकहरुलाई उनीहरुको कन्टेन्ट प्रयोगबापत भुक्तानी दिनेबारे सरकारले प्रस्ताव गरेको विधेयकका कारण उत्पन्न विवाद बीच कम्पनीले बिहीवारदेखि अष्ट्रेलियालीहरुलाई न्यूज कन्टेन्ट हेर्न प्रतिबन्ध लगाएको थियो ।
सो विधेयक पारित भयो भने फेसबुक र सर्च इञ्जिन गूगल समाचार प्रकाशकहरुलाई भुक्तानी दिन बाध्य हुनेछन् । फेसबुकका प्रमुख मार्क जुकरबर्गले आफूलाई प्रतिबन्ध आगामी दिनमा अन्त्य हुन सक्ने बताएको अष्ट्रेलियाका अर्थमन्त्री जोश फ्राइडेनबर्गले भनेका छन् ।
विवाद समाधान गर्न दुई पक्ष बीच छलफल भएको थियो । अष्ट्रेलियाले विधेयकमा संसोधन गर्ने फाइडेनबर्गले बताएका छन् । ‘फेसबुकले अष्ट्रेलियालाई पुनः साथी बनाएको छ,’ क्यानबेर्रामा मंगलवार आयोजित पत्रकार सम्मेलनमा उनले भने ।
सरकारले सो कानूनबारे वहस गरिरहेको छ । गत हप्ता यो विधेयकलाई तल्लो सदनले भने पारित गरिसकेको छ । एजेन्सी