ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

डिजिटल अनुगमन प्रणाली : ढुवानीमा कैफियत गर्नेहरु धमाधम पक्राउ पर्दै   

२०७७ फागुन, ११  
समाचार
Image Not Found
फाइल फोटो

फागुन ११, काठमाडौं । गएको साता भारतबाट झण्डै १० हजार किलो चिनी भन्सार छलेर काठमाडौं आइपुग्यो । राजस्व अनुसन्धान विभागको मालवस्तु ढुवानीमा प्रयोग गरेको डिजिटल अनुगमन प्रणाली (सूचना प्रणाली) मार्फत अनुसन्धान गर्दा उक्त चिनी आयातको स्रोत फेला परेन ।     
     
 चिनी आयातकर्ताले भारतबाट रातारात तस्करी गरेर चिनी नेपाल भित्र्याई नक्कली कागजात बनाएर विभागको सूचना प्रणालीमा प्रविष्ट गराएर काठमाडौं ल्याएका थिए ।

काठमाडौं आएपछि उनलाई अब त राजस्व अनुसन्धान विभागको कारवाहीबाट बचियो भन्ने लागेको थियो होला । तर उनको अनुमानले काम गरेन । अन्तत : उनको कैफियत विभागले प्रयोग गरेको सूचना प्रणालीमार्फत पत्ता लाग्यो ।     

विभागले सबै कपडा पसललाई सिल गरेको छ । अघिल्लो वर्ष १ करोड रुपियाँको कारोबार गरेको व्यावसायिक संस्थाले अहिले ६ करोडको कारोबार भयो भने त्यो विभागको सूचना प्रणालीमा थाहा हुन्छ । कारोबारमा एक्कासी आमूल परिवर्तन देखिंदा उसमाथि अनुसन्धान केन्द्रित हुन्छ । स्रोत नखुले ऊ कारवाहीको भागिदार हुन्छ ।     
     
दुबै घटनाको विषयमा अनुसन्धान नसकिएकाले विस्तृत विवरण सार्वजनिक गरिएको छैन । नाम सार्वजनिक गर्दा संलग्न व्यक्तिहरु भाग्न सक्ने भएकाले गोप्य राखिएको विभागका महानिर्देशक दीर्घराज मैनाली बताउँछन् ।

उनका अनुसार तस्करी गरेर चिनी ल्याउने व्यक्तिले यसरी चार पटक कैफियत गरेको पाइएको छ । उनीविरुद्ध अहिले ८ लाख रुपियाँ धरौटी राखेर अनुसन्धान जारी छ । उनीहरुले रातभर लगाएर भारतबाट मालवस्तु नेपाल प्रवेश गराउने गरेका छन् ।     
     
त्यसपछि नेपालमा नक्कली कम्पनी फर्म खडा गरेर एक फर्मबाट अर्कोमा मालवस्तु विक्री गरेको देखाएर ठूलो रकमको राजस्व छली गर्ने गरेका छन् । अनुसन्धानले त्यो कुरालाई पुष्टि गरेको विभागको भनाइ छ ।

महानिर्देशक मैनाली मालवस्तु ढुवानीमा सूचना प्रणालीको प्रयोगले व्यवहारमै परिवर्तन देखिएको बताउँछन्  । उनले अब आर्थिक अनुशासन कायम राख्ने हो भने सूचना प्रणालीलाई व्यवस्थित गर्नुको विकल्प नभएको समेत बताए।

भन्सार छलेर आयात भएका मालवस्तु र त्यस्तै अवैध कारोबारमा संलग्न व्यक्तिलाई करको दायरमा आउन उक्त सूचना प्रणाली एउटा महत्वपूर्ण माध्यम बन्न पुगेको छ ।     
     
विभागले २०७६ साउनबाट राजस्व चुहावट अनुसन्धान तथा नियन्त्रणको कार्यलाई प्रभावकारी बनाउन, स्वस्थ, व्यावसायिक प्रतिस्पर्धा कायम गरी अनौपचारिक आर्थिक कारोबारलाई औपचारिकतर्फ लैजान भेहिकल कन्साइनमेन्ट ट्र्याकिङ सिष्टम (भीसीटीएस) प्रयोगमा ल्याएको थियो । उक्त प्रणाली लागू भएपछि व्यवसायीलाई आर्थिक अनुशासन कायम गर्न दबाब सृजना गरेको छ । यसले स्वेच्छिक कर सहभागिता बढाएको छ ।     
     
डिजिटल नेपाल अवधारणालाई सहयोग पुर्‍याउन, आर्थिक सुशासन प्रवर्द्धन गर्न, सूचना र प्रविधिको प्रयोग गरी राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐनको दफा १३ ग मा भएको व्यवस्था अनुसार व्यावसायिक प्रयोजनका मालवस्तु तथा ढुवानीका साधनको अनुगमन प्रणाली प्रयोग गरिएको हो ।

विभागबाट प्राप्त विवरण अनुसार यसले राजस्वको दायरासमेत बढेको र करको दायरामा नआएका व्यवसायीलाई दायराभित्र प्रवेश गराउन सहज भएको छ ।     
     
उक्त सूचना प्रणाली छल्न खोज्ने व्यक्ति विरुद्ध झण्डै ३० करोड रुपियाँ विगो कायम गरी मुद्दा चलाइएको मैनालीले बताए । उनले सशस्त्र र नेपाल प्रहरी तथा सम्बन्धित भन्सार विभागको सहयोग जरुरी रहेको बताए ।

पछिल्लो समयमा १ हजार अनुगमनमा यसरी प्रणाली छली गरी मालसामान ढुवानी गर्नेलाई ५ करोड रुपियाँभन्दा बढी जरिवानासमेत लगाइसकिएको छ । 
अहिलेसम्म सूचना प्रणाली प्रयोग गर्ने १ लाख १२ हजार पुगिसकेका छन् ।

उक्त प्रणालीमार्फत ४० खर्ब ११ अर्ब रुपियाँ बराबरको मालवस्तु सूचना प्रणालीमा प्रविष्ट गराइ ओसारपसार भइसकेको छ । यसले राजस्व वृद्धिमा सहयोग पुर्‍याएको विभागको भनाइ छ । रासस  

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्