ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

११ दिनमा १ लाखभन्दा बढीले खोले हितग्राही खाता 

२०७७ फागुन, ११  
लगानी
Image Not Found
author avatar अभियान संवाददाता

फागुन ११, काठमाडौं । धितोपत्र कारोबारका लागि अनिवार्य गरिएको हितग्राही खाता फागुन लागेयता १ लाखभन्दा बढीले खोलेका छन् ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडले दिएको जानकारी अनुसार फागुन ११ गतेसम्म २९ लाख २५ हजार ८९७ जनाले हितग्राही खाता खोलेका छन् । यो संख्या माघ मसान्तसम्म २८ लाख १३ हजार २५० रहेको थियो ।

११ दिनमा १ लाख १२ हजार ६४७ जनाले हितग्राही खाता खोलेको सिडिएससीको तथ्याङ्कले देखाउँछ । साउन महीनादेखिको तथ्याङ्कलाई हेर्दा मंसिर, पुस र माघ महीनामा बढी हितग्राही खाता खोलिएको छ ।

मंसिर मसान्तसम्म २२ लाख ६९ हजार १४९ रहेको हितग्राही खाताको संख्या पुस मसान्तसम्म २५ लाख ३ हजार ८८७ पुगेको थियो भने माघ मसान्तसम्म यो संख्या बढेर २८ लाख १३ हजार २५० पुगेको थियो । कात्तिक महीनापछिको तीन महीनामा साढे ६ लाखभन्दा बढी हितग्राही खाता खोलिएको छ ।

विगत चार वर्ष निरन्तर घटेको बजार देशमा कोरोना संक्रमण भित्रिएसँगै उकालो लाग्न थालेको हो । दोस्रो बजारको सकारात्मक गति र प्राथमिक बजारमा सार्वजनिक निष्कासनमा आएका राम्रा कम्पनीहरुको शेयरका कारण पनि हितग्राही खाताको संख्या बढेको सिडिएससीका प्रबक्ता सुरेश न्यौपानेको भनाइ छ । 

यसवर्ष धितोपत्र दोस्रो बजारमा राम्रा कम्पनीहरुको प्रवेश भएको छ । विगतका वर्षहरुमा निरन्तर बजार घटेर अर्बौं सम्पत्ति गुमाएका लगानीकर्ताहरुलाई यो एक वर्षको बजारको सकारात्मक गतिले राहत मिलेको न्यौपाने बताउँछन् । 

धितोपत्र बजारमा नयाँ लगानीकर्ताको प्रवेश निरन्तर भइरहेको बजार सम्बद्ध निकायहरुले उपलब्ध गराएको तथ्याङ्कले बताउँछ । प्राथमिक बजारमा सार्वजनिक निष्कासनका क्रममा करीब १६ लाख लगानीकर्ताको आवेदन पर्नु र दोस्रो बजारमा ५ लाखभन्दा बढी लगानीकर्ता सहभागी हुनुलाई पछिल्लो समय शेयर बजारप्रति आम लगानीकर्ताको चासो र आकर्षण बढेको पुष्टि हुन्छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्