ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

घारखोलामा पक्की पुल निर्माण शुरू

२०७७ फागुन, १२  
गण्डकी प्रदेश
NA

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ५ र ६ को सिमानास्थित घारखोलामा मोटर चल्ने पुल निर्माण शुरू भएको छ । पोखरेबगरदेखि नेपाने हुँदै पाउद्वार जोड्ने सडकअन्तर्गत घारखोलामा निर्माण हुन लागेको पुलको विघटित प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाले हालै शिलान्यास गरेका छन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ, म्याग्दीले ठेक्का लगाएको एक वर्षपछि पुल निर्माण शुरू भएको हो ।  

रू. ३ करोड ४८ लाख ९४ हजार ७० लागत अनुमान गरिएको पुल निर्माण गर्न फेवा–बीएम जेभी पोखराले २ करोड ८१ लाख ७८ हजार ६४६ मा ठेक्का लिएको छ । २०७६ माघ १७ गते ठेक्का सम्झौता भएको पुल २०७८ साउन २४ गतेसम्ममा सम्पन्न गर्ने लक्ष्य छ ।     

परामर्शदाताले गरेको गलत डिजाइनका कारण सम्झौता गरेको करीब एक वर्षपछि पुल निर्माण शुरू भएको हो । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) र पुल निर्माण गर्ने ठाउँको भूगोल तथा दूरी नमिलेपछि पुल निर्माणमा ढिलाइ भएको निर्माण कम्पनीका प्रतिनिधि विमलेश आचार्यले बताए ।

पुलको पाउद्वारतर्फको पिलर निर्माण शुरू गरेको निर्माण कम्पनीले पोखरेबगर तर्फको पिलरको जग खन्ने तयारी गरेको छ । २५ मिटर लामो पुल बनाउनुपर्नेमा काठमाडौंको परामर्शदाता कम्पनी ग्रिड कन्सल्टेन्सीले २० मिटर लामो पुलको डीपीआर बनाएको थियो । सोही डीपीआरको आधारमा ठेक्का लगाइएकाले पुल निर्माण प्रभावित भएको अन्नपूर्ण–५ का कार्यवाहक वडाध्यक्ष राजेश तिलिजाले बताए ।

भूकम्प प्रभावित सडकअन्तर्गत प्राधिकरणले पोखरेबगर–चित्रे सडक र घारखोला मोटरेबल पुल योजना छनोट गरेको थियो । बेनीमा कार्यालय स्थापना हुनुअघि नै तयार भएको डीपीआरमा ठेक्का लगाइसकेपछि प्राविधिक त्रुटि भेटिएपछि पुनः डिजाइन गरेर काम अघि बढाएको एकाइका प्रमुख नारायण ढकालले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्