काठमाडौं (अस) । नेपाल एग्री बिजनेस इन्नोभेसन सेन्टर (नेबिक) ले बिजनेस अक्सिजनका प्रमुख कार्यकारी अधिकृत सिद्धान्तराज पाण्डेलाई सञ्चालक समिति अध्यक्षमा नियुक्त गरेको छ । काठमाडौं विश्वविद्यालयका डिन सुवास केसीले नेबिक अध्यक्षबाट राजीनामा दिएपछि पाण्डे अध्यक्ष भएका हुन् ।
काठमाडौं विश्वविद्यालयबाट सेवानिवृत्त भएसँगै केसीले नेबिकको अध्यक्षबाट राजीनामा दिएका थिए । नेबिकको सञ्चालक समितिमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी, कृषि तथा पशुपक्षी मन्त्रालयका प्रतिनिधि बद्रीप्रसाद दाहाल, महालक्ष्मी श्रेष्ठ र काठमाडौं विश्वविद्यालयका सविनविक्रम जोशी सदस्य छन् ।
नेबिकका प्रमुख कार्यकारी अधिकृत भूषण शाह हुन् । नेबिक नेपालकै पहिलो कृषिमा केन्द्रित व्यवसायका लागि अन्वेषण गर्ने मञ्च हो । कृषिमा आधारित व्यवसाय र नवप्रवर्तनलाई लक्ष्य हासिल गर्न सघाउने उद्देश्यले नेबिक स्थापना भएको हो ।