काठमाडौं (अस) । कुमारी बैंकको अगुवाइमा सहवित्तीयकरण कर्जाअन्तर्गत तुदी पावर कम्पनी प्रालिले निर्माण गर्ने म्याग्दीको राहुघाट खोलामा बन्न लागेको ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् परियोजनाको वित्तीय व्यवस्थापन गरिएको छ ।
उक्त सहवित्तीयकरण सम्झौताअन्तर्गत कुमारी बैंकबाहेक ग्लोबल आइएमई बैंक सह–अगुवाइ बैंकको रूपमा रहेको छ भने अन्यमा सिद्धार्थ बैंक, नेपाल क्रेडिट एन्ड कमर्स र माछापुच्छ्रे बैंक छन् ।
परियोजनाको कुल लागत खर्च ८ अर्ब ३० करोड रुपैयाँमध्ये सहवित्तीयकरण बैंकबाट जम्मा ऋण कर्जा ५ अर्ब ८१ करोड प्रवाह हुनेछ ।
प्रवर्द्धक कम्पनीको मुख्य लगानीकर्ताको रूपमा हिमालयन इन्फ्रास्ट्रक्चर फण्ड लिमिटेड, तुदी इन्भेष्टमेन्ट कम्पनी र महेश्वरप्रकाश श्रेष्ठ रहनेछन् । यस्तै, वैदेशिक लगानीकर्ताको रूपमा चिनियाँ सिचुवानजी अन्ताई एनर्र्जी डेभेलपमेन्ट कम्पनी लिमिटेड रहनेछ । परियोजनाबाट २०८० सम्म विद्युत् उत्पादन गर्ने लक्ष्य छ ।