ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सीएनआईको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान

२०७७ फागुन, १२  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । उद्योगी व्यवसायीको छाता संगठन नेपाल उद्योग परिसंघ (सीएनआई)ले प्रत्येक वर्ष एक हजार नयाँ उद्योग स्थापना गरी डेढ लाख रोजगारी सृजना गर्ने ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालनमा ल्याउने भएको छ ।

सीएनआईले अघिल्लो साता मुख्य सचिव शंकर दास वैरागीको उपस्थितिमा ‘उद्योगका कुरा, परिवर्तनका कुरा’ शीर्षकमा केन्द्रित रही उद्योग विकासका माध्यमबाट देशको अर्थतन्त्र कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गरेको थियो । सोही कार्यक्रममा सीएनआईले उक्त अभियान सञ्चालन गर्ने घोषणा गरेको थियो ।

मंगलवार उक्त अभियानबारे विस्तृत जानकारीसहितको प्रेस विज्ञप्ति सार्वजनिक गर्दै सीएनआईले उद्योग र रोजगारी सृजना गरी सन् २०३० सम्ममा कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा २६ प्रतिशत योगदान पुर्‍याउने बताएको छ । यसैगरी आगामी ५ वर्षमा वार्षिक निर्यात करीब रू. ५ खर्ब पुर्‍याउने लक्ष्य लिएको छ । हाल नेपालबाट वार्षिक करीब रू. १ खर्बसम्मको निर्यात हुने गरेको छ ।

सरकारको सहकार्यमा मुलुकको औद्योगिक विकास, उत्पादन, रोजगारी सृजना र नेपाली उत्पादनको निर्यात प्रवद्र्धनका लागि यो अभियान सञ्चालन गर्न लागिएको सीएनआईका अध्यक्ष सतीश कुमार मोरले बताए । ‘कोभिडपछि धराशयी उद्योग विस्तारै तङ्ग्रिन थाले पनि कोभिडको असरले कतिपय उद्योग बन्दै भएका छन्,’ उनले भने, ‘यस्तो परिस्थितिमा स्वदेशी उत्पादन, व्यवसायको प्रतिस्पर्धात्मक क्षमता र नेपाली वस्तु तथा सेवाको माग बढाउने लक्ष्यका साथ सीएनआईले ‘मेक इन नेपाल–स्वदेशी’ अभियान शुरू गरेको हो ।’ यसका लागि योजनाबद्ध रूपमा देशभर उद्योग स्थापना गरिने जानकारी उनले दिए ।

मुख्य सचिव वैरागीले सीएनआईको यो अभियान महत्वपूर्ण भएको भन्दै यसमा सरकारले सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सीएनआईका प्रमुख आर्थिक सल्लाहकार डा. विश्व पौडेलले यो राष्ट्रिय अभिमानको कार्यक्रम भएको बताए । ‘व्यवसाय शुरू गर्ने प्रक्रिया सहज बनाएर डिजिटलाइजेसनलाई प्रोत्साहन गरी हामी डुइङ बिजनेश इन्डेक्समा पाँच वर्षमा ३०औं स्थानमा आउन सक्छौं,’ उनले भने ।

सीएनआईको उक्त योजना अर्थतन्त्र बलियो बनाउन महत्त्वपूर्ण हुने सक्ने भन्दै अर्थविद् रामेश्वर खनालले संख्यात्मक भन्दा पूँजीगत लगानी बढी भएको गुणात्मक उद्योग स्थापना गर्नुपर्ने बताएका छन् । ‘हजारौं उद्योग खुल्नु ठूलो कुरा होइन, साना साना उद्योग वर्षमा एक हजार ओटा खुल्छन् र ९०० ओटा बन्द हुन्छन्,’ उनले भने, ‘नेपाली कच्चा पदार्थमा आधारित दिगो प्रकृतिको, ठूलो लगानी भएको, आर्थिक संकट झेल्न सक्ने उद्योग स्थापना गर्नुपर्छ ।’

कृषि र सेवाक्षेत्रको बलियो प्रभुत्व रहने भएकाले जीडीपीमा उद्योगको ३० प्रतिशत योगदान १० वर्षमा सम्भव नभएको उनको भनाइ छ । उत्पादन गरेको सामानको अन्तरराष्ट्रिय बजारको पहुँच पनि नभएकाले यो सम्भव नभएको उनले बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्