ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

राष्ट्रिय बीमा संस्थानको ५४औं वार्षिकोत्सव : बैंकमार्फत हुने बीमालेख धितो कर्जामा रोक लगाउन राष्ट्र बैंकको ध्यानाकर्षण

२०७७ फागुन, १२  
समाचार
Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बीमा बजारलाई असर गर्नेगरी बैंकले दिएको बीमालेख धितो कर्जामा रोक लगाउन बीमा समितिले नेपाल राष्ट्र बैंकमा पठाएको पत्रमाथि छिटो निर्णय गर्न समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले ध्यानाकर्षण गराएका छन् । काठमाडौंमा मंगलवार सम्पन्न राष्ट्रिय बीमा संस्थानको ५४औं वार्षिकोत्सव समारोहमा उनले यसबारे केन्द्रीय बैंकको ध्यानाकर्षण गरेका हुन् ।

‘बीमा कम्पनीले दिनुपर्ने बीमालेख धितो कर्जा बैंकहरूले दिनु विकृति हो । यस विषयमा राष्ट्र बैंकलाई पत्राचार गरेका छौं,’ उनले भने, ‘त्यसउपर छिट्टै निर्णय हुने आशा गरेका छौं ।’

कोरोना बीमाको दाबी भुक्तानीमा ढिलाइ हुँदा बीमा कम्पनीप्रति आममानिसको विश्वासमा आँच आएको अध्यक्ष सिलवालको भनाइ छ । यद्यपि अहिलेसम्म साढे ३ अर्ब रुपैयाँको भुक्तानी भइसकेको र पछिल्लो समय मात्र समितिले १ अर्ब रुपैयाँको भुक्तानी दिन निर्देशन दिइसकेको उनले बताए ।

पछिल्लो समय बीमा बजारमा अस्वस्थ प्रतिस्पर्धा हुन थालेको टिप्पणी उनले गरे । बजारमा निजी कम्पनी प्रतिस्पर्धी भइरहँदा सरकारी स्वामित्वको राष्ट्रिय बीमा संस्थानले पनि अब नयाँ प्रविधि र योजना ल्याएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा मुलुकको पछिल्लो ६ महीनाको समग्र अर्थतन्त्रको जानकारी दिँदै नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले बैंकले प्रविधिमा फड्को मार्न थालिसकेकाले बीमा संस्थानले पनि भुक्तानी लगायतमा प्रविधिमैत्री बनाउनुपर्ने बताए । विदेशी विनिमयको भार कम गर्न धेरै बीमा कम्पनी हुँदा पनि सीमामा भारतले नेपालीको बीमा गरेर पैसा लैजानु  विडम्बना भएको उनको भनाइ छ । लामो समयदेखि लेखापरीक्षण नहुनु मुख्य चुनौती भएको भन्दै संस्थानका प्रशासक (प्रमुख कार्यकारी अधिकृत) कविप्रसाद पाठकले विगतका समयमा बीमांकीय मूल्यांकनसमेत हुन नसक्दा यस्तो अवस्था आएको प्रष्ट्याए । ‘संस्थानले ६  वर्षको बीमांकीय मूल्यांकन सम्पन्न गरी स्वीकृतिको लागि समितिमा पठाएकोमा ३ वर्षको स्वीकृत प्राप्त भएको छ । बाँकी ३ वर्षको पनि छिट्टै हुने अपेक्षा गरेका छौं,’ उनले भने । यसपछिका बीमांकीय ड्राफ्ट रिपोर्ट प्राप्त भइसकेको र अघिल्ला अवधिको स्वीकृत भएपछि समायोजन गरी यसलाई समितिमा पठाइने उनले बताए । यसलाई छिटो टुङ्गो लगाउन सकारात्मक संकेत देखिएको संस्थानका अध्यक्ष गंगाराम कँडेलले बताए ।

उत्कृष्ट अभिकर्तालाई पदक/सम्मान
संस्थानले वार्षिकोत्सवमा आर्थिक वर्ष २०७६/७७ को आधारमा  उत्कृष्ट १० जना अभिकर्तालाई पदक तथा सम्मान गरेको छ । यससँगै प्रदेशअनुसार उत्कृष्ट अभिकर्तालाई समेत पुरस्कृत गरेको छ । साथै सो अवधिमा उत्कृष्ट व्यवसाय (बीमाशुल्क र बीमालेख) गर्ने शाखा कार्यालयलाई समेत पुरस्कृत गरेको छ ।

वार्षिकोत्सवको अवसरमा संस्थानले यसपटक निःशुल्क आँखा शिविर, विभिन्न खेलकुद कार्यक्रम लगायत आयोजना गरेको गरेको थियो ।

राष्ट्रिय बीमा संस्थानको ५४ औं बार्षिक उत्सवको उपलक्ष्यमा रामशाह पथ मा पानसमा बत्ति बालेर कार्यक्रम को उद्घाटन गर्दै प्रमुख अतिथि तथा बीमा समिति  अध्यक्ष सुर्य प्रसाद सिलवाल । साथमा बिशेष अतिथि राष्ट्र बैङ्क का डे.पु.टी गर्भनर चिन्तामणी शिवाकोटी, राष्ट्रिय बीमा संस्थानका अध्यक्ष गंगाराम कँडेल,  संस्थानका प्रशासक कविप्रसाद पाठक लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्