ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

‘खराब बैंक’ को अवधारणा

‘खराब कर्जा’ व्यवस्थापनमा उपयोगी होला ?

२०७७ फागुन, १२  
लेख | दृष्टिकोण
Image Not Found

जब अर्थतन्त्रमा मन्दी आउँछ र आर्थिक क्रियाकलापहरू चलायमान नभएर अर्थव्यवस्थाको स्वास्थ्य बिग्रन शुरू हुन्छ त्यति बेला त्यो रोगको लक्षण र प्रभावबाट बैंकिङ क्षेत्र मात्र अछुत रहन सक्ने सम्भावना नै हुँदैन । बैंकिङ क्षेत्र नै अस्वस्थ भएपछि समग्र अर्थतन्त्र नै आर्थिक दुश्चक्रमा फस्ने भएकाले यो क्षेत्रको स्वच्छतालाई प्राथमिकताका साथ यथावत् कायम राख्न विश्वव्यापी रूपमा नै विभिन्न प्रयास हुने गरेका छन् । यसै सन्दर्भमा भारतमा पनि कोभिडजन्य आर्थिक संकटबाट बैंकिङ क्षेत्रमा परेको नकारात्मक प्रभावलाई सकारात्मक रूपले सम्बोधन गर्ने प्रयास स्वरूप हालै जारीे बजेटमा ‘ब्याड बैंक’ (खराब बैंक) स्थापना गर्ने घोषणा गरिएको छ । यही परिप्रेक्ष्यमा यो सानो आलेखमा ‘खराब बैंक’को अवधारणा र नेपाली सन्दर्भमा त्यसको आवश्यकताको बारेमा संक्षेपमा चर्चा गर्ने प्रयास गरिएको छ :

बैंकहरूमा हुने खराब कर्जालाई व्यवस्थापन गर्ने गरी ती बैंकको वासलातबाट त्यस्ता कर्जा हटाएर खराब कर्जाका कारण बिग्रिएको बैंकको वित्तीय स्वास्थ्यलाई स्वस्थ बनाउने प्रयास गर्नु नै ‘खराब बैंक’को उद्देश्य हो ।

के हो खराब बैंकको अवधारणा ?
सामान्य तरीकाले बुझ्ने हो भने खराब बैंकको काम खराब सम्पत्तिलाई असल सम्पत्तिमा परिवर्तन गर्नु हो । खास गरी बैंकहरूमा हुने खराब कर्जाहरूलाई व्यवस्थापन गर्ने गरी ती बैंकको वासलातबाट त्यस्ता कर्जा हटाएर खराब कर्जाका कारण बिग्रिएको बैंकको वित्तीय स्वास्थ्यलाई स्वस्थ बनाउने प्रयास गर्नु नै ‘खराब बैंक’को उद्देश्य हो । त्यसैले यस्ता ‘खराब बैंक’ले अन्य बैंकहरूले जस्तो निक्षेप स्वीकार गर्ने र ऋण प्रदान गर्ने काम गर्दैन । वास्तवमा समग्र बैंकहरूको खराब कर्जाको व्यवस्थापन गर्ने अभिभारा बोकेको कारण मात्र यसलाई खराब बैंक भनिएको बुझ्न गाह्रो छैन । भन्नलाई ‘खराब बैंक’ भनिए पनि भारतमा स्थापना गर्न प्रस्ताव गरिएको यस्तो कम्पनीको औपचारिक नाम ‘पुनर्निर्माण तथा सम्पत्ति व्यवस्थापन कम्पनि’ भएबाट पनि यसले बैंकिङ कारोबार नगर्ने कुरा स्पष्ट हुन्छ ।

विश्व बैंकिङ इतिहासमा सबैभन्दा पहिला खराब बैंकको अवधारणालाई कार्यान्वयन गर्न श्रेय भने अमेरिकी ‘मेलन बैंक’लाई जान्छ । यो बैंकले सन् १९८८ मा स्थापना गरेको ‘ग्रेट स्ट्रीट नेसनल बैंक’लाई खराब बैंकको एउटा राम्रो उदाहरणका रूपमा लिइन्छ । यो ‘खराब बैंक’ले मेलन बैंकको १ अर्ब डलर बराबरको खराब कर्जालाई किनेको थियो । मेलन बैंकका शेयर होल्डरलाई पहिले शेयर र पछि लाभांशसमेत दिएर स्थापनाको ७ वर्षपछि उद्देश्यअनुरूपका सम्पूर्ण कार्यहरू सफल रूपमा सम्पन्न गरी सन् १९९५ मा यो बैंक विघटन गरिएको थियो ।

पछि, स्वीडेन, फिनल्यान्ड, फ्रान्स, जर्मनीजस्ता यूरोपका कतिपय सशक्त अर्थतन्त्रहरूमा समेत यस्तै खाले बैंकहरू स्थापना गरिएका थिए । आइरल्यान्डले पनि राष्ट्रिय अर्थतन्त्र मन्दीमा गएको बेला सन् २००९ मा यस्तै ‘खराब बैंक’ को स्थापना गरेको थियो ।

‘खराब बैंक’ – कति ‘खराब’ कति ‘असल’?
अहिले भारतीय सरकारी बैंकहरूको खराब कर्जा मात्र खराब बैंकमार्फत व्यवस्थापन गरिने भनिएका कारण यो एउटा कम्पनीको समस्या अर्को कम्पनीमा स्थानान्तरण गरे जस्तो मात्र हुने र वास्तविक रूपमा यसले अर्थतन्त्रको उद्धारमा मद्दत नपुग्ने विचार पनि कतिपय अर्थशास्त्रीहरूको छ ।

यस्तो खराब बैंकको स्थापनाले बैंकहरूलाई जोखिमपूर्ण व्यवसायतर्पm थप उत्प्रेरित गर्ने भएकाले पनि यसको व्यापक मात्रामा विरोध हुने गरेको छ । यसरी विरोध गर्नेहरूका अनुसार ‘खराब बैंक’ले आफ्नो खराब कर्जालाई व्यवस्थापन गर्ने नै भएकाले मुनाफाको प्रलोभनमा परी कर्जा र परियोजनाको गुणस्तरप्रति ‘असल बैंक’हरूले अनुचित सम्झौता गर्नसक्ने सम्भावना रहन्छ । अन्ततोगत्वा खराब कर्जालाई ‘खराब बैंक’ले किन्ने मानसिकता विकसित हुने भएकाले आफ्नो कर्जाको अवस्था पूर्णरूपमा ‘ध्वस्त’ नहुन्जेल त्यसलाई ‘असल’कै रूपमा देखाई अन्य बैंकले सधैं कृत्रिम नाफा दोहन गरिरहने अवस्था सृजना नहोला पनि भन्न सकिँदैन ।

अर्कोतर्फ खराब बैंकले व्यवस्थापन गर्ने सम्पूर्ण खराब कर्जा सबै नै असुली हुन्छ भन्न सकिँदैन । कतिपय उठ्नै नसक्ने प्रकृतिका कर्जाका कारण यस्तो बैंक स्वयं नै संकटको भुमरीमा पर्न पनि सक्छ । फेरि उच्च मार्जिन दरले खराब बैंकको मुनाफालाई बढाएको देखाए पनि त्यसले खराब कर्जा विक्री गर्ने ‘असल बैंक’ को मुनाफा दरलाई भने तीव्र रूपमा प्रतिकूल प्रभाव पारेको हुन्छ ।

अझ महत्त्वपूर्ण कुरा, खराब कर्जा असुली नै मुख्य काम हुने भएकाले सो प्रयोजनका लागि ‘खराब बैंक’ले अवलम्बन गर्ने प्रक्रिया पनि कतिपय अवस्थामा ‘खराब’ नै नहोला भन्न सकिँदैन ।

तर, खराब बैंकका सकारात्मक पक्षहरू पनि छन् । ऋण असुलीमा विशेषज्ञता प्राप्त गर्ने भएकाले यो बैंकले प्रभावकारी रूपमा असुली प्रक्रिया सञ्चालन गर्न सक्छ । एकातिर यसले आफ्नो काम प्रभावकारी रूपले गर्छ भने अर्कोतिर खराब ऋणको मार्जिन पनि बढी नै हुने भएकाले यस्ता बैंकहरूको नाफा पनि अधिक नै हुने गर्छ ।

खराब कर्जा जति पन्छाएपछि अन्य बैंकहरूले पनि स्वस्थ कर्जामा मात्र कारोबार गर्ने अवसर प्राप्त गरी आफ्नो नाफा आर्जन क्षमता बढाउन सक्छन् ।

आम लगानीकर्तालाई बैंकको यथार्थ विवरण बुझ्न खराब बैंकमा स्थानान्तरण भएको कर्जाका माध्यमबाट सहज हुनसक्छ ।

यसरी पक्ष र विपक्षमा धेरै प्रकारका तर्कवितर्क गरिएका भए पनि निश्चित रूपमा खराब कर्जा व्यवस्थापनमा नै सम्पूर्ण रूपमा केन्द्रित हुने विशिष्ट कम्पनीको अस्तित्वका कारण अन्य बैंकहरू निर्बाध सञ्चालन हुन सक्ने र त्यसले आम सर्वसाधारणमा समग्र बैंकिङ प्रणालीप्रतिको विश्वास टुट्न नदिने भएकाले ‘खराब बैंक’को अवधारणालाई आम रूपमा सकारात्मक रूपमा नै ग्रहण गर्ने गरिन्छ । तर पनि उद्देश्यअनुरूप खराब कर्जा असुली गर्न सबै ठाउँमा व्यावहारिक रूपमा उत्तिकै मात्रामा सहज नहुन सक्ने भएकाले खराब बैंकको स्थापनालाई देश र संस्थाको सापेक्षतामा मात्र औचित्यपूर्ण हुन्छ कि हुँदैन भनेर हेर्नुपर्ने हुन्छ ।

कोभिडका कारण विश्वभरका नियामकहरूले जस्तै नेपाल राष्ट्र बैंकले पनि ग्राहकहरूको हितका लागि र बैंकहरूको अस्तित्त्व रक्षाको लागि पनि विभिन्न प्रकारका छूट र सहुलियत दिएको छ । त्यसै कारण अहिले बैंक तथा वित्तीय संस्थाहरूको वित्तीय स्वास्थ्य अनपेक्षित रूपमा ‘स्वस्थ’ देखिएको हुनसक्छ । छूट तथा सहुलियतको अवधि समाप्त भएपछि कतिपय नियतवश तथा कतिपय बाध्यतावश ऋण नतिर्नेहरूका कारण बैंकहरूको खराब कर्जा एकैपटक सतहमा प्रतिबिम्बित भएको अवस्थामा त्यसलाई नियन्त्रण गरेर आफ्नो वित्तीय स्वास्थ्य सुधार्न बैंकहरूका लागि त्यति सहज नहुन सक्छ । त्यस्तो प्रतिकूल अवस्थाबाट बैंकहरू तथा समग्र बैंकिङ प्रणालीलाई नै जोगाउन भारतमा जस्तै नेपालमा पनि त्यति बेला ठोस प्रयासको आवश्यकता महसूस हुन सक्छ । यसै सम्भावनालाई ध्यानमा राख्दै नेपालको सन्दर्भमा पनि ‘खराब बैंक’को अवधारणाप्रति सम्बद्ध सबै पक्ष ‘समुचित सावधान’ भई यस दिशामा सार्थक बहस प्रारम्भ गर्न अब धेरै ढिलो गर्नु हुँदैन ।

लेखक बैंकर हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्