ई –पेपर | हाम्रो बारेमा | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बर्ड फ्लु रोग नियन्त्रणमा सबै संयन्त्र परिचालित छन्

२०७७ फागुन, १२  
अन्तरवार्ता
Image Not Found

पछिल्लो समय नेपालमा पनि बर्ड फ्लु रोग देखिएको छ । पहिले काठमाडौंको साङ्लाखोला क्षेत्रमा देखिएकोमा सुर्खेतमा समेत यो रोगको संक्रमण पुष्टि भएको छ । प्रस्तुत छ, नेपालमा यो रोग देखिनुका कारण, यसका प्रकार, रोकथामका उपाय लगायत विषयमा वरिष्ठ पशु अधिकृत डा. चन्द्र ढकालसँग आर्थिक अभियानका प्रशान्त खड्काले गरेको कुराकानीको सार :

भारतमा देखिएको बर्ड फ्लु एकाएक काठमाडौंमा कसरी देखियो ? कुन माध्यमबाट यहाँ आइपुगेको हुन सक्छ ?
स्वाभाविक प्रश्न गर्नुभयो । तर भारतको पनि कर्नाटकमा देखिएको छ, केरलामा देखिएको छ, जुन नेपालको सीमानाबाट करिब २ हजार किलोमिटर टाढा हो । त्यहाँबाट नेपालमा हाल कुनै पनि पन्छी तथा तज्जन्य पदार्थ आउँदैनन् । त्यसैले त्यहाँका पन्छीहरूबाट आउने सम्भावना न्यून छ । किनभने भारतको विहारमा यो रोग देखिएको र यहाँ पनि काठमाडौंमा नभई वीरगञ्ज आसपासका क्षेत्र अथवा तराईमा देखिएको भए त्यताबाट आयो कि भन्ने सम्भावना हुन्थ्यो । त्यसैले काठमाडौंमा चाहिँ भारतबाट आएको हुन सक्ने सम्भावना न्युन छ ।

यसको मतलब हाल नेपालमा देखिएको बर्ड फ्लु भारतबाट आएको होइन ?
होइन नै त भन्न सकिँदैन । तर हुन सक्ने सम्भावना न्यून आकलन गर्न सकिन्छ । अध्ययनले पुष्टि नगरीकन हामीले ठ्याक्कै यही हो भन्न त सक्दैनौं । तैपनि यो अहिले जति पनि ठाउँमा देखिएको छ । जस्तै– शुरूमा भारतका केही ठाउँमा देखियो । त्यसपछि काठमाडौंको तारकेश्वरमा, सुर्खेतमा देखियो र अहिले रूसमा पनि देखिएको छ । यी सबै ठाउँमा एउटै बर्ड फ्लुको ‘एचफाइभएनएट’ प्रजाति नै देखिएको छ ।

अहिले पानीहाँसहरू (कर्‍याङकुरुङ पनि भनिन्छ)बाट आएको हो भनिएको छ । साइबेरियामा चिसो बढेपछि ती हाँसहरूको खेल्ने र खाने पानीका स्रोतहरूमा हिँउ जम्छ र खानेकुरा पाउन छाडेपछि ती हाँसहरू पानी नजमेका ठाउँ खोज्दै बसाइ सरेर भारत, बंगलादेश, थाइल्यान्ड, म्यानमार, लाओस, नेपाल लगायतका ठाउँमा आउने गर्दछन । यही क्रममा यिनै हाँसबाट रोग सरेको हुन सक्ने अधिक सम्भावना छ । काठमाडौं पनि ती चराहरूको बसाइसराइको मार्गमा पर्दछ । यहाँसम्म भाइरस फैलिनुमा त्यो पनि कारण हुन सक्छ ।

यो रोग मानिसमा सर्छ कि सर्दैन ?
यो रोग मान्छेमा सर्छ । यसको नियन्त्रणका उपाय पनि छन् । हामी कुनै पनि सूचना उपभोक्ताबाट लुकाउँदैनौं । जुन ठाउँमा बर्ड फ्लु फैलिन्छ, त्यस ठाउँलाई तत्कालै नियन्त्रणमा लिन्छौं र सही सूचना आमजनमानसमा विज्ञप्ति मार्फत पठाउँछौं । यसका लागि हामी पशु स्वास्थ्य सेवा विभाग र यससम्बन्धी विज्ञहरू, नार्क र अन्य सरोकारवाला निकायहरूसँग विस्तृत बुझेर मात्रै सूचना सम्प्रेषण गर्छौं । यसबाट आत्तिहाल्नुपर्ने अवस्था होइन । किनभने हामी यसमा अति संवेदनशील छौं । एकदमै सूक्ष्म रूपमा अध्ययन गरिरहेका छौं । भारतमा आउनेबित्तिकै हामीले खोजेर पो भेटियो । नखोजेको भए भेटिँदैन थियो नि ।

यो रोग मानिसबाट मानिसमा सर्ने सम्भावना चाहिँ कत्तिको छ ?
वैज्ञानिकहरू यो विषयमा गम्भीर छन् । तर अहिलेसम्म यस्तो देखिएको छैन । पन्छीबाट मानिसमा संक्रमण भएका प्रमाणहरू भने छन् । सन् २००६ मा थाइल्यान्ड, हङकङ लगायत धेरै देशमा बर्ड फ्लु सरेर मानिसको मृत्यु भएको थियो । नेपालमा केही वर्षअघि काभ्रेमा एकजना मानिसको मृत्यु बर्ड फ्लुको संक्रमणबाट भएको पुष्टि भएको थियो । विशेषगरी यसले पन्छीलाई नै असर गर्ने हो । तर यस भाइरसमा म्युटेसन परिवर्तनको क्षमता बढी हुने भएकाले स्वरूप परिवर्तन गरी मानिस र जनावरमा पनि जान सक्ने सम्भावना रहन्छ ।

यसअघि सन् २०१३ मा नेपालमा बर्ड फ्लु फैलिँदा देशैभर त्यसको असर परेको थियो । तर यस वर्ष त्यस्तो हुन पाएको छैन । यसलाई नियन्त्रणको प्रयास सफल भएर हो ?
पहिलो कुरा त हामीले भारतमा संक्रमण देखिनेबित्तिकै सीमा नाकामा कडाइ गर्‍यौं । भारतबाट अवैध रूपमा पन्छी तथा तज्जन्य वस्तु भित्रिँदा त्यसको रोकथाम तथा आवश्यक कानूनी कारबाही गर्न विभिन्न जिल्लामा प्रहरी प्रशासन, स्थानीय निकायसँग समन्वय समेत गर्‍यौं । विभागले पनि वर्षैभरि यसको निगरानी गरिरहेको हुन्छ । कुनै ठाउँमा शंकास्पद तरीकाले पशुपन्छी मरे भने परीक्षण गरी त्यसको कारण पत्ता लगाउँछौं । त्यही क्रममा विभिन्न ठाउँबाट नमूना परीक्षण भइरहेको थियो । वरिपरीको क्षेत्रमा जब भाइरस देखिन थाल्यो, त्यसबेला हामीले हाम्रा निकायहरूलाई सजग बनायौं ।

साथै पहिले किसानलाई प्रदान गरिने क्षतिपूर्ति कम थियो, जसले गर्दा कहीँ कतै पन्छी मर्दा पनि किसानले खुलेर हामीलाई खबर गर्दैनथे । भित्रभित्रै बेचबिखनको काम चलिरहने हुनाले रोग चाँडो फैलिएको थियो । तर हाल जिल्ला दररेट समितिले क्षतिपूर्तिको रकममा निकै सुधार गरेको छ । उक्त समितिले निर्धारण गरेको मूल्यको ७५ प्रतिशत क्षतिपूर्ति किसानले प्राप्त गर्दछन् ।

यसपटक हाँस र टर्कीमा मात्र यो रोगको संक्रमण देखिएको छ । कुखुरामा सर्न सक्ने सम्भावना कत्तिको छ ?
पन्छीहरूमा सर्न सक्छ । तर संक्रमित तथा रोगी पन्छीको सुली, सिंगान, दानापानी, फार्ममा प्रयोग हुने उपकरण, बाहिरी आगन्तुक, जंगली पन्छी वा जनावर र फार्ममा काम गर्ने मानिसबाट पनि सर्न सक्ने सम्भावना बढी हुन्छ । साथै पशुपन्छीजन्य वस्तु ओसारपसार गर्दा पनि संक्रमण हुन सक्छ । त्यसैले यस्ता वस्तुको ओसारपसार नगर्ने वा स्वास्थ्य परीक्षणको प्रमाणपत्र लिएर मात्र गर्ने/गराउने कार्य गर्नु पर्दछ ।

संक्रमण व्यापक रूपमा फैलिएमा नमूना परीक्षणका लागि प्रयोगशालाको पर्याप्तता छ त ?
हामीसँग केन्द्रीय पशुपन्छी अन्वेषण प्रयोगशाला एउटा छ भने पन्छीको मात्रै अन्वेषण गर्ने राष्ट्रिय पन्छीरोग अन्वेषण प्रयोगशाला चितवनको भरतपुरमा छ । यो लगायत पहिलेका पाँच विकास क्षेत्रमा संघीय संरचना अन्तर्गत पशुपन्छी रोग अन्वेषण प्रयोगशाला विराटनगर, जनकपुर, पोखरा, धनगढी र सुर्खेतमा छन् । यी प्रयोगशालामा पनि पीसीआरको सुविधा छ । तर विराटनगर, जनकपुर, पोखरा, धनगढी र चितवनमा चाहिँ कोभिड परीक्षणका लागि प्रयोग भएको छ । जनकपुरको प्रयोगशाला स्वाथ्य मन्त्रालयले हामीलाई फिर्ता गरिसकेको छ । अन्य चारओटामा अहिलेसम्म कोभिड नै परीक्षण भइरहेको छ । हामीलाई उपलब्ध गराइदिन मन्त्रालयमा अनुरोध गरेका छौं । यो रोग यत्तिकै साधारण अवस्थामा रहिरह्यो भने त समस्या पर्दैन । तर व्यापक रूपमा फैलियो भने हालको यो क्षमताले नपुग्न सक्छ ।

भारतमा जब बर्ड फ्लु देखिन्छ, त्यसबेला नेपाली व्यापारीले उताबाट सस्तो मूल्यमा कुखुरा भित्र्याउँछन् । यसले गर्दा नेपालमा बर्ड फ्लु भित्रिन सहयोग पुग्छ भन्ने सुनिन्छ । यस्तो किन हुन्छ ?
यसमा नाफा कमाउने ध्येयले उताबाट सस्तो मूल्यमा भित्र्याइने गरेको देखिन्छ । उता सस्तो मूल्यमा पाएपछि अवैध रूपमा आयात गरेर यहाँ महँगोमा बेच्ने दाउ कतिपय व्यापारीको हुन्छ । उनीहरूले यस्तो गरिरहँदा जोखिम पनि भित्र्याइरहेका हुन्छन् । अवैध काम भएकाले कारबाहीमा पर्ने जोखिम पनि उत्तिकै हुन्छ । यो संवेदनशील विषय भएकाले यस्तोमा संलग्न व्यवसायी नै जिम्मेवार हुनुपर्छ । त्यससँगै नियामक निकायहरू समेत सजग हुन जरुरी छ ।

माघ १६ गते तारकेश्वरमा बर्ड फ्लु देखियो । त्यही दिन कुखुराको मासुको मूल्य ३७० बाट घटेर ३५० रुपैयाँमा झर्‍यो । फेरि अहिले सुर्खेतमा बर्ड फ्लु देखिएपछि पुनः मूल्य बढेर ३७० नै पुगेको छ । यसरी ठाउँ ठाउँमा बर्ड फ्लु देखिरहँदा समेत मासुको मूल्य बढ्दा सही सूचना लुकाइएको हो कि भन्ने पनि सर्वसाधारणको शंका छ । वास्तविकता के हो ?
यसमा कुनै पनि सूचना लुकाइएको छैन । यदि व्यापारीहरूले लुकाए भने पनि त्यो उनीहरूलाई नै नोक्सान हो । व्यापारीलाई त लुकाउनु भन्दा देखाउनुमा फाइदा छ । किनभने सरकारले क्षतिपूर्ति दिन्छ । लुकायो भने त सबै नष्ट भयो । यता कुखुरा पनि मर्‍यो, उता क्षतिपूर्ति पनि पाइएन । त्यसैले यो कतै पनि लुकाइएको छैन । देशैभरका विभिन्न स्थानहरूमा यसको परीक्षण र रोकथामका लागि हाम्रो सबैं संयन्त्र परिचालित छन् । त्यसैले जुन तवरले हल्ला आएको छ, त्यो एक किसिमको भ्रम मात्र हुन सक्छ । बजार मूल्य चाहिँ माग र आपूर्तिले निर्धारण गर्ने कुरा हो । त्यसैले मूल्यको सन्दर्भमा म खासै उल्लेख गर्न चाहन्न । यसमा हाम्रो संलग्नता पनि खासै छैन । यस विषयमा वाणिज्य तथा आपूर्ति विभाग र व्यवसायीहरूको संगठनले बढी बुझेका होलान् । तर पनि बर्ड फ्लु आएको बेला मूल्य घटाउने र नआएको बेला मूल्य बढाउने गर्नु पनि भएन ।

यसबीचमा कुखुरामा अन्य कुनै रोगहरू देखिएको छ ?
अहिले हामीले बर्ड फ्लु परीक्षण गरिरहँदा ‘रानिखेत’ रोग पनि धेरै देखिएको छ । यसको कारणबारे थप अध्ययन अनुसन्धान भइरहेको छ ।

बर्ड फ्लुकै सन्दर्भमा भन्नुपर्दा, यो फुडबर्न डिजिज होइन, कन्ट्याकबाट मात्रै सर्ने भएकाले धेरै आत्तिहाल्नु पर्ने अवस्था छैन । कुनै पनि संक्रमित पन्छी खाद्य श्रृंखलामा आउनु भएन । त्यसमा सबै जना सचेत हुनुपर्‍यो । यसलाई तत्कालै नियन्त्रण गर्ने हाम्रो प्रयास जारी छ । पन्छी तथा तज्जन्य वस्तुको ओसारपसार चेकजाँच गराएर मात्र गर्ने, आफ्नो फार्ममा सरसफाइ राख्ने गरौं ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्