ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

प्राविधिक समस्याका बीच पनि ०.४९ % बढेर बन्द भयो नेप्से, कारोबार रकम ६ अर्ब ७० करोडभन्दा बढी

२०७७ फागुन, १२  
लगानी नेप्से विश्लेषण
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १२, काठमाडौं । बुधवार शेयर बजार शून्य दशमलव ४९ प्रतिशत बढेर बन्द भएको छ ।

यो दिन शून्य दशमलव ४९ प्रतिशत बढेर २ हजार ५९९ दशमलव शून्य ७ विन्दुमा पुगेको हो । २ हजार ६०० दशमलव ३३ विन्दुदेखि खुलेको बजार खुलेको तीन मिनेटमै २ हजार ६२० विन्दुमा पुगेको थियो । 

कारोबार खुलेदेखि नै नेप्सेको सिष्टममा समस्या आउँदा खरीदविक्रीको आदेश राख्न नमिलेपछि सामाजिक सञ्जालमा लगानीकर्ताहरुले आक्रोस पोखेका थिए । बजार घट्दा नबिग्रने सिष्टम बढ्दा किन बिग्रन्छ ? भन्ने प्रश्न लगानीकर्ताहरुले उठाएका छन् । यसअघि पनि विभिन्न समयमा नेप्सेको कारोबार प्रणालीमा यो समस्या आएको थियो । 

टिएमएसको समस्या दोहोरिरहँदा लगानीकर्ताको मनोबलमा नकारात्मक असर पर्ने हुँदा यस विषयमा नियामक निकायले कडाईका साथ अनुसन्धान गर्नुपर्ने माग शेयर लगानीकर्ता संघ नेपालका उपाध्यक्ष तारा प्रसाद फुल्लेलको छ ।

सोमवार र मंगलवार घटेको बजार बुधवार बढ्ने आशामा लगानीकर्ता थिए । सर्वोच्च अदालतले संसद पुनःस्थापनको बाटो खुला गरिदिएपछि बुधवारको बजारले सकारात्मक बाटो लिनेमा ढुक्क रहेका लगानीकर्ताहरु कारोबारको शुरुवाती समयमा भने आत्तिएका थिए । सिष्टमका समस्याका कारण नेप्सेको वेबसाइटमा गलत तथ्याङ्कहरु सार्वजनिक भएका थिए ।

हाल चर्चामा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) को शेयर मूल्य शतप्रतिशत घटेको तथ्याङ्क नेप्सेको वेबसाइटमा सार्वजनिक थियो । उक्त कम्पनीको शेयर खरीदका लागि आदेश प्रविष्ट गर्न नमिल्दा शेयर मूल्यमा नकारात्मक असर परेकाले नेप्सेले केहि समय कम्पनीको शेयर कारोबार बन्द गरेको थियो ।

कारोबार सुचारु पछि निफ्राको शेयरमूल्य ५ दशमलव ३९ प्रतिशतले घटेको छ । प्रतिकित्ता रू. ३२ ले घटेर निफ्राको अन्तिम शेयरमूल्य रू. ५६२ कायम भएको हो । बुधवार निफ्राको रू. ५५ करोड ९९ लाख २९ हजार बराबरको ९ लाख ९२ हजार २०७ कित्ता शेयर कारोबार भएको छ ।

पछिल्ला दिन रू. ८ अर्बभन्दा माथिको शेयर कारोबार हुँदै आएकोमा बुधवार भने रू. ६ अर्ब ७० करोड १८ लाख ७२ हजार बराबरको १ करोड ६७ लाख २६ हजार ४७२ कित्ता शेयर कारोबार भएको छ । यस दिन २०४ ओटा कम्पनीको ६९ हजार ९९४ पटकको व्यापारमा उक्त रकम बराबरको शेयर कारोबार भएको हो । 
यसदिन सर्वाधिक रकमको शेयर कारोबार नेपाल बैंकको भएको छ ।

बैंकको रू. ५८ करोड २५ लाख ७५ हजार बराबरको शेयर कारोबार भएको हो । सर्वाधिक रकमको कारोबार भएको नेपाल बैंकको शेयरमूल्य पनि ५ दशमलव ३० प्रतिशतले बढेको छ । प्रतिकित्ता रू. २४ ले बढेर बैंकको अन्तिम मूल्य रू. ४७७ कायम भएको छ ।

यो दिन जलविद्युतको १ दशमलव ११ प्रतिशत र अन्य समूहको शून्य दशमलव ५१ प्रतिशत परिसूचक घटेको छ भने बाँकी ९ समूहको बढेको छ । यसदिन होटल समूहको परिसूचक सर्वाधिक २ दशमलव ३ प्रतिशतले बढेको छ । 

त्यस्तै बैंकिङ समूहको शून्य दशमलव ८१ प्रतिशत, व्यापारिकको शून्य दशमलव शून्य ६ प्रतिशत, विकास बैंकको शून्य दशमलव ७ प्रतिशत, वित्तको शून्य दशमलव ५१ प्रतिशत, निर्जीवन बीमाको १ दशमलव ४२ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव ९६ प्रतिशत, लघुवित्तको शून्य दशमलव ५ प्रतिशत, जीवन बीमाको १ दशमलव शून्य २ प्रतिशत र म्युचुअल फण्डको १ दशमलव ०९ प्रतिशत परिसूचक बढेको छ ।

यसदिन आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य १० प्रतिशत बढेको छ भने नेपाल फाइनान्सको ९ दशमलव ९७ प्रतिशत र चन्द्रागिरी हिल्सको ९ दशमलव ९४ प्रतिशत बढेको छ ।

 आइएमई जनरल इन्स्योरेन्सको प्रतिकित्ता रू. १०० ले बढेर अन्तिम मूल्य रू. १ हजार १००, नेपाल फाइनान्सको प्रतिकित्ता रू. ३२ ले बढेर अन्तिम मूल्य रू. ३५३ र चन्द्रागिरी हिल्सको प्रतिकित्ता रू. ३१ ले बढेर अन्तिम मूल्य रू. ३४३ पुगेको हो । 
बुधवारको बजारमा सर्वाधिक मूल्य निफ्राको घटेको छ । 
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्