ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

पर्वतका सबै ग्रामीण सडकका खोलामा पुल निर्माण

२०७७ फागुन, १२  
गण्डकी प्रदेश
Image Not Found
author avatar अभियान संवाददाता

फागुन १२, पर्वत । पर्वतका मुख्य ग्रामिण सडकमा पर्ने खोलाहरुमा धमाधम पुल निर्माण भइरहेको छ । हिउँदमा गाडी गुड्ने तर वर्खामा बन्द रहने ग्रामीण सडकको समस्या पक्की पुल बनेपछि हट्दै गएको छ । हिउँदमा व्यस्त हुने ग्रामीण सडक वर्खामा करीब ७ महीनासम्म स्थानीय नदी तथा खोलाहरुमा पुल नहुँदा ग्रामीण सडकको यात्रा रोकिने गरेको थियो । 

चालू वर्ष मात्रै पर्वतका करिव आधा दर्जन मुख्य खोलानदीहरुमा पुल निर्माण सम्पन्न भइसकेका छन् । केहि खोलाहरुमा निर्माणाधिन पुल आगामी असारभित्रै सम्पन्न हुने चरणमा छन् । पुर्वाधार विकास कार्यालय पर्वत र सडक डिभिजन कार्यालय बागलुङले निर्माण थालेका पक्की पुलले मुख्य राजमार्ग तथा कुश्मा जोड्ने सबै स्थानीय तहलाई सहज बनाउने छ । पर्वतका सातै स्थानीय तह आउजाउ गर्ने सडकको यात्रा अब बाह्रै महीना सहज हुने भएको हो ।

गण्डकी प्रदेशको सबै स्थानीय तहमा पक्की सडक सञ्जाल पुर्‍याउने लक्ष्यसाथ अघिल्लो वर्षदेखि शुरु भएका सबैजसो पक्की पुल आउँदो २०७८ असारभित्रै सम्पन्न हुने तयारीमा छन् । केहि पुल यसअघि नै सम्पन्न भइसकेको सडक डिभिजन तथा पुर्वाधार कार्यालयले जानकारी दिएका छन् । कार्यालयका अनुसार फलेबासको अर्चले भंगरा जोड्ने पुल निर्माण सम्पन्न भइसकेको छ । 

अघिल्लो वर्ष नै कुश्मा २ छमर्के खुर्कोटको रिठेखोला पुल निर्माण सम्पन्न भइसकेको छ । गत महीना कुश्मा नगरपालिका ३ अम्बोटखोला र मोदी गाउँपालिका ६ तिलाहारस्थीत रतिखोला पुलको निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालयले निर्माण गरेका दुवै पुलले कुश्मा तथा मोदी गाउँपालिकालाई मध्यपहाडी राजमार्गसँग जोड्छन् । 

त्यस्तै मोदी गाउँपालिका १ तथा कास्कीको अन्नपुर्ण गाउँपालिका ९ जोड्ने भुरुङ्दीखोला पुल यसै महीनाभित्रै सम्पन्न हुँदैछ । कास्कीको नयाँपुल हुँदै म्याग्दीको घोडेपानीसम्म पुग्ने सडकमा भुरुङ्दीखोलाको पुल निर्माण भएपछि पर्यटकको यात्रामा सहज हुनेछ ।

पुर्वाधार कार्यालयले चालू वर्ष सकिनेगरि पैयुँ गाउँपालिका ७ मा शेराखोला, पैयुँ ४ मा गेडीखोला, मर्दीखोला र शिव्दीखोला पुल निर्माण गरिरहेको छ । कार्यालयका सूचना अधिकारी गौरवदास बैरागीका अनुसार चालू वर्ष नै सक्नेगरि तीव्र रुपमा अघि बढिरहेका पुलमध्ये सबैको प्रगति ७५ प्रतिशत नाघिसकेको छ । ‘अहिलेसम्म सबै काम सकिन्थ्यो, बैरागीले भने,’ कोभिडका कारण केहि समय रोकिएको हो । अहिले धेरै अघि बढिसकेको छ । मनशुन शुरु हुनुअगावै सबै पुल सम्पन्न भएर गाडी चल्छन् ।’

कार्यालय प्रमुख कृष्ण आचार्यका अनुसार भुरुङ्दीखोला पुलको काम अन्तिम चरणमा पुगेको छ । त्यस्तै शेराखोला, गेडीखोला, मर्दीखोला र शिव्दीखोलाको काम तीव्र गतिमा अगाडि बढाइएको छ । ‘लकडाउनले केहि महीना डिस्टर्व गर्‍यो, ‘आचार्यले भने, ‘अब समस्या छैन । जेठ/ असारभित्रै सबै काम सकिन्छ । शेराखोला र गेडीखोला पुल निर्माणको जिम्मा लिएको वाईएसएस निर्माण कम्पनीका प्रतिनिधि यज्ञबहादुर थापाका अनुसार गेडीखोला पुल निर्माण सकिएको छ । शेराखोला र गेडीखोला पुलले पैयुँ, बिहादी र महाशिला गाउँपालिका जोड्छन् ।

सडक डिभिजन कार्यालय बागलुङका अनुसार पर्वतका ग्रामीण सडकलाई सहज हुनेगरि चारओटा पक्की पुल निर्माणको चरणमा छन् । चारमध्ये मोदी गाउँपालिका-५ बाजुङ र कुश्मा नगरपालिका-३ दुर्लुङ जोड्ने अम्बोटखोला पुल निर्माण सम्पन्न भइसकेको छ । डिभिजन प्रमुख रामेश्वर लम्सालले, कुश्मा नगरपालिका २ स्थित रिठेखोला, तथा पर्वतको फलेबास र बागलुङको जैमिनी नगरपालिका जोड्ने कालीगण्डकी पुल निर्माणको चरणमा रहेको बताए । निर्माणाधिन कालीगण्डकीको पुलका लागि आगामी एक वर्ष लाग्नसक्ने उनले बताए । 

कालीगण्डकी पुलले पर्वतको फलेबास नगरपालिका र बागलुङको जैमिनि नगरपालिका जोड्छ । पर्वतमा निर्माणाधिन यि पुलहरुले सबैजसो मुख्य बस्तीलाई समेट्छन् । विगतमा जेठको अन्तिम सातादेखि मंसिरसम्म अवरुद्ध हुने ग्रामीण सडक आउँदो वर्षदेखि बाह्रै महीना सञ्चालनमा आउने स्थानीयको अपेक्षा छ । 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्