ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

सूचना प्रविधिको क्षेत्रमा सहकार्यका लागि भर्टेक्स ग्लोबल र नेपाली कम्पनीहरूबीच समझदारी

२०७७ फागुन, १३  
समाचार
NA
author avatar अभियान संवाददाता

काठमाडौं । सूचना प्रविधिको क्षेत्रमा शैक्षिक क्षेत्रमा तालीम, विकास तथा जीवन निर्वाह सम्बन्धी कार्यक्रममा सहकार्यका लागि भर्टेक्स ग्लोबल सर्भिसेस इण्डिया र सम्बद्ध नेपाली कम्पनीहरूबीच समझदारी भएको छ । नेपाल–भारत उद्योग वाणिज्य संघद्वारा बुधवार आयोजित कार्यक्रममा भर्टेक्स ग्लोबल सर्भिसेस इण्डिया तथा नेपालका कम्पनीहरू आइडा कन्सल्टिङ प्रालि, काठमाडौं इन्ष्टिच्युट अफ टेक्नोलोजी प्रालि र टीम भर्टेक्स सर्भिस नेपाल प्रालिबीच सोसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारीपछि भर्टेक्स ग्लोबल सर्भिसेस इण्डियाले आगामी दिनमा नेपालका युवा जनशक्तिलाई विश्वमा सूचना प्रविधिको क्षेत्रमा काम गरिरहेका उद्योगको माग बमोजिम तालीमका लागि सघाउनेछ । साथै उनीहरूको स्तर निर्धारण तथा योग्यता स्तरोन्नति गरी विभिन्न स्तरमा रोजगारी उपलब्ध गराउन पहल गर्नेछ ।

कार्यक्रममा संघका अध्यक्ष सृजना राणाले गत पुस २८ गते संघले आयोजना गरेको ‘राउण्ड टेबल मिटिङ अन बिजनेश एण्ड इन्भेष्टमेण्ट अपच्र्युनिटिस इन नेपाल’ कार्यक्रमपछिको निरन्तरताको रूपमा उक्त समझदारी भएको बताइन् । नेपाल–भारत उद्योग वाणिज्य संघ नेपाल–भारत बीचको आर्थिक सम्बन्ध सुदृढ बनाउन लागिपरेको भन्दै उनले भारतीय कम्पनी र नेपाली कम्पनीहरूबीच सहकार्यको वातावरण बन्नु सुखद रहेको धारणा राखिन् ।

नेपाल–भारत उद्योग वाणिज्य संघको कार्यक्रम, जनसम्पर्क तथा प्रकाशन समितिका सदस्य आर अशोक कुमारले यो कार्यक्रम नेपालमा सूचना प्रविधि क्षेत्रमा अध्ययन गरिरहेका तथा यस क्षेत्रमा विशेष रुचि राख्ने युवा बिद्यार्थीका लागि लक्षित रहेको बताए । भर्टेक्स ग्लोबल सर्भिसेस इण्डिया र नेपालका सम्बद्ध कम्पनीहरूसँगको सहकार्यले युवावर्ग बढी लाभान्वित हुने अपेक्षा उनले व्यक्त गरे ।

कार्यक्रममा नेपालका स्पर्श एजुकेशनल फाउण्डेसन प्रालि तथा भारतको आईटी–आईटीईएस सेक्टर स्कील्स काउन्सिल, नोयडाबीच पनि स्कील टेस्टिङको क्षेत्रमा सहकार्य गर्ने सहमति भच्र्युअल रूपमा भएको छ ।

सो अवसरमा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सञ्जय शर्माले अबको शिक्षा उत्पादित जनशक्तिको दक्षता अभिवृद्धिमा केन्द्रित हुनपर्नेमा जोड दिए । यसका लागि दुई देशबीचका यस्ता संस्थाहरूको साथ र सहयोग महत्त्वपूर्ण हुने उनले बताए ।

भारतीय दूतावास कमर्श वीङका प्रथम सचिव अभिषेक उपाध्यायले नेपाल तथा भारतीय कम्पनीहरूको सहकार्यको सफलताको कामना गरे । यस्तै विश्वविद्यालय अनुदान आयोगका सदस्य सचिव प्रा शंकरप्रसाद भण्डारीले आयोगले विश्वविद्यालयहरूलाई पनि आफ्नो उत्पादनमा ध्यान दिएर माग र आपूर्तिबीच खाडल कम गर्न निर्देशन तथा प्रोत्साहन दिने गरेको बताए ।

कार्यक्रममा भर्टेक्स ग्लोबल सर्भिसेस इण्डियाका प्रमुख कार्यकारी अधिकृत गगन अरोराले नेपालमा विशेषगरी युवाको दक्षता अभिवृद्धिको क्षेत्रमा धेरै काम गर्न सकिने बताए । यस्तै भर्टेक्स ग्लोबल सर्भिसेस इण्डियाका भाइस प्रेसिडेन्ट–कपोरेट रिलेशन अस्लिन मेधकले यसका लागि विभिन्न कोर्स तयार गरिसकेको तथा अझै नयाँ कोर्स तयार गर्ने क्रममा रहेको जानकारी दिए ।

यस्तै दक्षता अभिवृद्धि सम्बन्धी विज्ञ दिनेश वशिष्ठले शिक्षित बन्नु र रोजगार बन्नु दुई फरक विषय भएको भन्दै दुईपक्षीय सहकार्य युवालाई रोजगार जनशक्तिको रूपमा अगाडि ल्याउन सहयोगी हुने विश्वास व्यक्त गरे । कार्यक्रममा नेपाल एसबिआई बैंकका चिफ फाइनान्स अफिसर मोहमद रिजवान आलमले यस्ता खालका सहकार्यमा वित्तीय सहयोगका लागि एसबिआई बैंक तयार रहेको बताए । नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सैवाल घोषले दुईदेश बीचका संस्थाहरूबीच सहकार्यको सम्झौता हुनु सकारात्मक रहेको बताए ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्