ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

खोजमूलक आर्थिक पत्रकारिताको खाँचो

आर्थिक पत्रकारिताको अवस्था र दायित्व

२०७७ फागुन, १३  
लेख | दृष्टिकोण
Image Not Found

नेपालमा आर्थिक पत्रकारिताको स्तरको कुरा गर्ने हो भने त्यो विवरणात्मक, सूचनामूलक र परिचायक किसिमको नै बढी देखिन्छ । खास गरेर यो क्षेत्रमा अनुसन्धानपरक र खोजमूलक सामग्रीहरूको उजागरको अभाव देखिन्छ । यदाकदा त्यस खाले सामग्री कुनै आर्थिक जगत्का पत्रपत्रिकाले प्रकाशन गरी नै हाले भने पनि तिनको निरन्तरता वा दह्रो फलोअप भने भएको पाइँदैन । मूलतः यो क्षेत्रमा त्यस खाले सामग्रीका लागि भरोसायोग्य स्रोतकै अभावका कारण पनि आर्थिक पत्रकारिताले बलियो जग बसाउन नसकेको अनुभूति हुन्छ । जस्तो विगतमा सञ्चारजगत्मा सनसनी मच्चाउने गरी सार्वजनिक भएका कुनै बैंकिङ प्रकरणहरू होउन् वा भ्याट छलीका प्रकरणहरू हुन् वा प्रतीतपत्र र सुनकाण्डकै प्रकरणहरू नै किन नहोऊन् केही पत्रिकाले तिनको समाचार बाहिर ल्याए पनि पछि तिनको जगजाहेरी गर्न सकेका भने देखिएनन् । त्यस्ता सामग्रीको मूल स्रोत सरकारकै निकाय भएकाले पनि निजीक्षेत्रका आर्थिक पत्रकारहरूमा सहज पहुँच कठिनै हुने यथार्थ पनि हो । यसका लागि पत्रकारिता जगत्को जिम्मेवारीबोधलाई तत्तत् निकायको सम्पूर्ण सहयोग नरहेसम्म आर्थिक पत्रकारितामा खोजपूर्ण र अनुसन्धानमूलक पत्रकारिता फस्टाउन नसक्ला । नेपालका आर्थिक पत्रकारितामा लागेका, लाग्ने पत्रपत्रिकाहरूले यस कुरामा ध्यान पुर्‍याउने हो र तिनका मेहनतलाई सरोकारीहरूले पनि सहयोग गर्ने हो भने आर्थिक पत्रकारिताले पनि अन्य समाचारमूलक पत्रकारिताले जस्तै बलियो जग बसाउन सक्छ । तर, आर्थिक पत्रकारहरूका लागि ती सामग्रीको भित्री जालोसम्म पहुँचको सुविधा नभएर पनि तिनको वास्तविकतासम्म पुग्न कठिन भएको हुन सक्छ । यस खाले सामग्रीको खोजी र अनुसन्धानमा जोखिम उच्च रहने भएकाले पनि हत्तपत्त पत्रकारहरू त्यस्तो जोखिम उठाइहाल्न नचाहने पनि हुन्छन् । तर, प्रकाशक, सम्पादकलगायत त्यस खाले अनुसन्धानलाई सरोकारीहरूले बलियो गरी साथ दिने हो भने यस खाले पत्रकारिता अघि बढ्न सक्ने देखिन्छ ।

केही वर्षपहिलेसम्म यो क्षेत्रमा दैनिक पत्रिका सञ्चालन हुनसक्ने अवस्थाको परिकल्पना पनि थिएन । अर्थात् आर्थिक पत्रकारिताको भविष्य होला ? भन्नेमा नै शंका हुन्थ्यो । तर, अहिले कमसे कम दुई थान दैनिक पत्रिका प्रकाशन भइरहेका छन् ।

पत्रकारिता भनेको जोखिमको पेशा पनि हो । जोखिम लिन नसकिएर पनि यो क्षेत्रमा उजागर हुनुपर्ने कुराहरू बाहिरै आउन सकेका छैनन् । अर्को कुरा आर्थिक पत्रकारिता भनेको एक खाले विषयविज्ञता आवश्यक पर्ने क्षेत्र पनि हो । जस्तो आर्थिक गतिविधि बुझ्नका लागि कमसे कम अर्थतन्त्रका भेरिएबल्सहरू त बुझ्नुपर्‍यो । यस्तै अर्थशास्त्रलगायत वाणिज्य विषय र बैंकिङ र वित्तीय क्षेत्रकै पनि केही ज्ञान त हुनैपर्‍यो र सामान्य समाचार पत्रकारिताको ज्ञानले मात्र पुग्दैन होला । उदाहरणका लागि : देशमा कुनै बैंकमा प्रतीतपत्र घोटाला भएछ र त्यसका बारेमा आर्थिक पत्रकारितामार्फत आम नागरिकको चासो सम्बोधन गर्न त्यस्तो पत्रकारिता गर्ने पत्रकारमा कमसे कम पनि प्रतीतपत्रबारे जानकारी हुन आवश्यक मात्र नभएर त्यसका यावत् प्रक्रियाकै बारेमा भित्री तहसम्मको जानकार पनि हुनुपर्छ ।

अहिले नेपालको वित्तीय कारोबार डिजिटल युगमा प्रवेश गरेकाले साइबर अपराधको जोखिम पनि उच्च देखिएको छ । सम्पत्ति शुद्धीकरणका घटनाको जोखिम पनि बढ्दो छ ।

रेमिट्यान्स कम्पनीहरूमार्फत कालो धन सेतो गर्ने क्रमको जोखिम पनि यदाकदा सुनिने गरेकै हो । करछली त सामान्य कुरा नै भइगयो । आर्थिक क्षेत्रमा नीतिगत तहमा बस्नेहरूले कहिलेकाहीँ नीतिगत भ्रष्टाचार गरेका सामाचार बाहिर आउने गरेका भए पनि र ती भ्रष्टाचार नदेखिने किसिमको भएकाले खासमा त्यस्तो भ्रष्टाचार भनेको के हो ? कसरी हुनेगर्छ ?

त्यसबाट कोको के कसरी लाभान्वित भए ? आम उपभोक्ता, नागरिकलाई त्यसले केकस्तो असर गरेको छ ? जस्ता खोज आर्थिक पत्रकारिताले बाहिर ल्याउन सकेको खण्डमा यो पत्रकारिताको गरिमा बढ्ने देखिन्छ ।

नेपालमा हाल यो क्षेत्रमा खासै धेरै पत्रिका छैनन् । दैनिकका रूपमा दुईओटा पूर्ण आर्थिक पत्रिकाहरू छन् : आर्थिक अभियान र कारोबार । ती पत्रिका विगत १ दशकदेखि निरन्तर प्रकाशनमा छन् । कारोबार दैनिक यो क्षेत्रकै पहिलो पत्रिका हो । जुन सन् २००९ देखि प्रकाशनमा आएको हो । आर्थिक अभियान ( पहिले आजको अभियान नाममा २०६२ मा साप्ताहिक र पछि आर्थिक अभियान नाममा ) २०६७ देखि दैनिक रूपमा ( शनिवारबाहेक) प्रकाशन हुँदै आएको छ । तीबाहेक अन्य दैनिक समाचार पत्रहरू समेतले अर्थतन्त्रका विविध पक्षलाई लिएर केही पृष्ठ यो क्षेत्रमा समर्पण गर्ने गरेको देखिन्छ । कान्तिपुर, अन्नपूर्ण पोष्ट, गोरखापत्र, राइजिङ नेपाल, हिमालयन टाइम्स आदिले आर्थिक पक्षलाई समेत आफ्ना पत्रकारिताको क्षेत्र बनाउँदै आएको देखिन्छ । दैनिक रूपले प्रकाशन हुँदै आएका माथिका दुई पत्रिका समग्रमा भन्नु पर्दा नेपालको आर्थिक पत्रकारितालाई प्रतिनिधित्व गर्ने अभियानमा अगाडि त छन् तथापि तिनले पनि अनुसन्धानमूलक पत्रकारितालाई भने बढाउन सकेको देखिँदैन । तिनका सामग्रीमध्ये लेख रचना अर्थात् फिचर आर्टिकल भने निकै उत्कृष्ट देखिएका छन् । यसमा पनि आर्थिक अभियान फिचर लेख रचनामा कारोबारको तुलनामा अगाडि देखिन्छ । यो मेरो निजी विश्लेषण हो ।

केही वर्षपहिलेसम्म यो क्षेत्रमा दैनिक पत्रिका सञ्चालन हुनसक्ने अवस्थाको परिकल्पना पनि थिएन । अर्थात् आर्थिक पत्रकारिताको भविष्य होला ? भन्नेमा नै शंका हुन्थ्यो । तर, अहिले कमसे कम दुई थान दैनिक पत्रिका प्रकाशन भइरहेका छन् । केही साप्ताहिक पनि छन् । त्यसबाहेक प्रायः सबैजसो दैनिकले केही पृष्ठ आर्थिक पत्रकारितालाई दिएको देखिन्छ । यो भनेको पत्रकारिता जगत्मा आर्थिक क्षेत्रले पनि महत्त्व पाउँदै जानु हो । यो क्षेत्रमा अहिले पत्रकारहरूको जमात पनि तयार भइसकेको छ । आर्थिक पत्रकारहरूको संगठन सेजन नामक संस्था पनि देखिन्छ । त्यसैले आर्थिक पत्रकारिताको जग भने बसेको छ भन्नुपर्छ । जब जब आर्थिक क्षेत्र चलायमान हुँदै जान्छ आम नागरिकले पनि ती क्षेत्रसित सरोकार बढाउँदै जानुलाई अन्यथा मान्न नसकिएला । समाचारझैं आर्थिक गतिविधिसित पनि नागरिकको चासो बढ्नुले आर्थिक पत्रकारिताकै भविष्य निर्धारण हुन्छ । आर्थिक गतिविधि, कारोबार, आर्थिक घटना, आर्थिक र वित्तीय चलखेल, घोटाला , वित्तीय अपराध, बैंकिङ कसुरलगायत क्षेत्रमा आर्थिक पत्रकारिताले जरैसम्म पसेर सार्वजनिक जानकारीमा ल्याउने र त्यसलाई बढी खोज र अनुसन्धानमूलक बनाउने सके यो क्षेत्रको ओज अरू बढ्नसक्ने सम्भावना छ । अब त्यसको जोखिम लिनसक्ने आँट भने त्यस्तो पत्रकारितामा लाग्नेहरूले गर्न सक्नुपर्छ ।

प्रधान नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्