फागुन १३, काठमाडौ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएका व्यक्तिको तथ्यांक सच्याइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६१८ जना मृतक थपिएको बताएको छ ।
मन्त्रालयका अनुसार कोभिड १९ को संक्रमणबाट हालसम्म २ हजार ६६ जना संक्रमितको मृत्यु भएको छ । थपिएका मृतकसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६८४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले ६१८ जना मृतक थपिएको बताए।
उनका अनुसार नेपाली सेनाले शव ब्यवस्थापन गर्दा आएको तथ्यांक र मन्त्रालयको तथ्यांकबारे बिस्तृत अध्ययनपछि नेपालमा हाल दर्ता गरिएको मृतकको संख्याभन्दा ६१८ जना थपिएका हुन् । मन्त्रालयले यसअघि दुबै निकायबाट मृतकको फरक तथ्यांक आएपछि समिति गठन गरेको थियो ।
उक्त समितिले कोभिड- १९ सम्बन्धी उच्च स्तरीय समितिमा आफ्नो प्रतिबेदन बुझाएको थियो । प्रतिबेदनको आधारमा मृतकको संख्या थपिएको प्रवक्ता गौतमले बताए ।
शव ब्यवस्थापनका लागि तयार गरिएको निर्देशिका बमोजिम नेपाली सेनाले शव ब्यवस्थापन गर्दा मृतकको तथ्यांक स्वास्थ्य मन्त्रालयले अद्यावधिक गर्न सकेको थिएन ।