ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

बजेट अभावका कारण डडेल्धुरा सेमी कभर्ड हल अलपत्र

२०७७ फागुन, १३  
सुदूरपश्चिम प्रदेश
Image Not Found

फागुन १३, डडेल्धुरा । अमरगढी नगरपालिका–४ खलंगामा ३२ वर्ष पहिले निर्माण भएको कभर्ड हल विसं २०७५ असार ३० मा भत्कियो । एक वर्षसम्म भत्किएको जीर्ण घर जस्ताको त्यस्तै रह्यो । 

पुनःस्थापित प्रतिनिधिसभा सदस्य एवम् राज्यको निर्देशक सिद्धान्त नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिका सभापति नीरादेवी जैरुले सोही ठाउँमा गत वर्ष ‘डडेल्धुरा सेमी कभर्ड हल’को शिलान्यास गरे । 

कभर्ड हल शिलान्यासका क्रममा स्वयं जैरु, अमरगढी नगरपालिकाका नगरप्रमुख विशेश्वरप्रसाद ओझा र तत्कालीन जिल्ला खेलकूद विकास समितिका अध्यक्ष राजेन्द्रबहादुर मगरले तत्काल कभर्ड हल निर्माण हुने बताएका थिए तर शिलान्यास भएको २१ महीनाभन्दा बढी हुँदासमेत कभर्ड हल अलपत्र परेको छ । 

उक्त कभर्ड हलको लम्बाइ ३० मिटर, चौडाइ २० मिटर र उचाइ ३० फिटको हुने डडेल्धुरा जिल्ला खेलकूद विकास समितिले जानकारी दिएको छ । 

आर्थिक अभावले गर्दा ‘डडेल्धुरा सेमी कभर्ड हल’ अलपत्र परेको जिल्ला खेलकूद विकास समितिको कार्यालय डडेल्धुराका प्रमुख डम्बर भण्डारीले जानकारी दिए । डेढ वर्षभित्र उक्त कभर्ड हल निर्माण गरिसक्ने लक्ष्यका साथ अगाडि बढेको भए पनि आर्थिक अभावले थप काम अगाडि बढ्न नसकेको भण्डारीको भनाइ छ । 

पिलर निर्माण 
राष्ट्रिय खेलकूद परिषद् (राखेप)बाट उक्त कभर्ड हलका लागि तत्काल रू. १० लाख निकासा गरिएको थियो तर उक्त रकमले कभर्ड हल निर्माणका लागि आठ वटा पिलर मात्रै ठडिएका छन् । राष्ट्रिय खेलकूद परिषद्बाट आएको रकमले जीर्ण कभर्ड हलको सामग्री सार्न र पिलर मात्रै ठडिएको खेलकूद विकास समिति डडेल्धुराले जानकारी दिएको छ । 

पुनः निर्माण शुरु गर्न क्रमागतरूपमा बजेट निकासा हुनुपर्नेमा कोरोनाका कारण बजेट निकासा नहुँदा निर्माण गर्न समस्या भएको कार्यालय प्रमुख भण्डारीको भनाइ छ । ‘राखेपबाट बजेट निकासा भएको छैन । गत वर्ष राखेपबाट नै स्वीकृत भएर बजेट निकासा भएको थियो तर अहिले निकासा भएको छैन । त्यसैले भएर निर्माण अलपत्र छ’, उनले भने, ‘दुई रोपनी जग्गामा आठ पिलरसहितको फाउन्डेसन भएको छ । बजेट नभएर निर्माण ठप्प छ ।’

के गर्दै छ नगरपालिका ?    
देश संघीयतामा गएपश्चात् स्थानीय तहमा बजेट जाने भएकाले स्थानीय सरकारले खेलकूद गतिविधि सञ्चालन गर्नुपर्ने हुन्छ तर कभर्ड हल भत्किएको महीनौँ हुँदासमेत अमरगढी नगरपालिकाको भने यतातिर ध्यान पुग्न सकेको छैन । नगरपालिकाले खेलकूद गतिविधि सञ्चालन गर्न ध्यान नदिएको यहाँका खेलप्रेमी युवाको गुनासो छ तर उता नगरपालिकाले आर्थिक अभावको कारण सेमी कभर्ड हल निर्माण कार्य अलपत्र परेको जानकारी दिएको छ । 

कभर्ड हल अहिले नै बन्न सक्छ भनेर भन्न सक्ने अवस्था नभएको नगरप्रमुख ओझाको भनाइ छ । पेश गरिएको प्रस्ताव स्वीकृत भएपछि कभर्ड हल निर्माण हुने उनले बताए ।

‘जनताका आवश्यकता असीमित छन् । स्रोत साधनको कमी छ । संघीय सरकाले केही बजेट विनियोजन गरेको थियो र हामीले काम अगाडि बढाएका थियौँ’, उनले भने, ‘यो वर्ष पनि कभर्ड हल निर्माणका लागि संघीय सरकारलाई नै हामीले प्रस्ताव पेश गरेका छौँ ।’

जिल्लाको महत्वपूर्ण र एकमात्र कर्भड हल भत्किँदा जिल्लाका ‘इनडोर’ खेलकूदका कार्यक्रमसमेत प्रभावित बनेका छन् । इनडोर खेल खेल्नका लागि हलको प्रयोग हुने हुँदा हाल जिल्लामा खेलकूद गतिविधि शून्य प्रायः बनेको छ । 

ब्याडमिन्टन, टेबलटेनिस, कराँते, बक्सिङ, चेसजस्ता भित्र खेलिने खेल बाहिर मैदानमा खेल्दा हावाले प्रभावित हुने हँुदा कर्भड हलको आवश्यकता पर्ने गरेको कराँते संघ डडेल्धुराका अध्यक्ष हिक्मतबहादुर सिंहले बताए । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्