ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

आपूर्ति व्यवस्था सुदृढ गर्न बाइडेनद्वारा कार्यकारी आदेशमा हस्ताक्षर    

२०७७ फागुन, १३  
अन्तरराष्ट्रिय
Image Not Found

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिकी आपूर्ति प्रणालीलाई सुदृढ गरी उत्पादन उद्योग ९म्यानुफ्याक्चरिङ० मा रोजगारी अभिवृद्धि गर्ने उद्देश्यले एक कार्यकारी आदेशमा बुधवारहस्ताक्षर गरेका छन् ।    
     
यो आदेशले खासगरी उच्च प्रविधियुक्त ब्याट्री, औषधि (फर्मास्युटिकल्स), अति महत्वपूर्ण खनिज तथा सेमिकन्डक्टर्सका क्षेत्रलाई सम्बोधन गर्नेछ ।     
     
पछिल्ला वर्षहरुमा संयुक्तराज्य अमेरिका यी वस्तुको आयातमा बढी निर्भर हुन थालेपछि चिन्ता बढ्दै गएको थियो । अब अमेरिकालाई आवश्यक पर्ने यी वस्तुको उत्पादन देशभित्रै बढाउन कार्यकारी आदेशले सघाउने छ । बाइडेन प्रशासनले यी वस्तुलाई राष्ट्रिय सुरक्षा र आर्थिक जोखिमका दृष्टिबाट निकै महत्वपूर्ण रहेको बताएको छ ।     
     
साथै, राष्ट्रपति बाइडेनले मजबुत तथा भरपर्दो आपूर्ति प्रणाली सुनिश्चित गर्न अन्तर्राष्ट्रिय साझेदारसँग पनि मिलेर कार्य गर्न चाहेको बताएका छन् ।     
        
ह्वाइट हाउसका अधिकारीहरुले राष्ट्रपतिको कार्यकारी आदेशले म्यानुफ्याक्चरिङ क्षेत्रमा रोजगारीका अवसर सृजना हुने बताएका छन् । पछिल्लो समयमा अमेरिकी राष्ट्रपतिहरुले यस्तै प्रतिबद्धता व्यक्त गरेपनि मिश्रित नतिजा मात्र प्राप्त भएका छन् ।     
     
अमेरिकी श्रम तथ्याँक विभागका अनुसार अमेरिकामा हाल १ करोड २२ लाख म्यानुफ्याक्चरिङ रोजगारी उपलब्ध रहेको छ जबकी सन् २००० को यस क्षेत्रमा १ करोड ७० लाख रोजगारी उपलब्ध थियो ।     
     
बाइडेन प्रशासनले म्यानुफ्याक्चरिङ क्षेत्रमा कति रोजगारी सृजना हुन्छ भन्ने बारेमा प्रष्ट बताएको छैन । ह्वाइट हाउसको राष्ट्रिय आर्थिक परिषदकी उपनिर्देशक समीरा फजिलीले म्यानुफ्याक्चरिङ क्षेत्रका कारण सेवा क्षेत्रमा पनि रोजगारी बढ्न सक्ने बताइन्।     
     
राष्ट्रपति बाइडेनले कार्यकारी आदेशमा हस्ताक्षर गर्नुअघि विपक्षी रिपब्लीकन र सत्तारुढ डेमोक्रेट पार्टीका सांसदहरुसँग परामर्श गरी सहमति गरेका थिए । पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत वर्ष अति महत्वपूर्ण खनिजको अमेरिकामै उत्पादन बढाउन एक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए ।     
     
बाइडेनले देशका लागि निकै महत्वपूर्ण मानिसका क्षेत्रलाई देशभित्र बढावा दिन रिपब्लीकन र डमोक्रेट दुबै पार्टी सहमत रहेको बताए। आफू राष्ट्रपति भएयताका पाँच हप्ताको अवधिमा यो निकै महत्वपूर्ण सहमतिमा हस्ताक्षर गर्न पाएकामा आफू निकै खुशी रहेको पनि बाइडेनले बताएका छन् ।  

एक अध्ययन अनुसार, चिनियाँ कम्पनीहरुले सन् २०१२ मा विश्वमै सेमिकन्डक्टर्सको कुल उपभोगको आधा हिस्सा ओगट्न थालेका थिए, र पछिल्ला वर्षहरुमा यसको माग अझ बढेको थियो किनभने चीनले विश्व बजारको झण्डै ९० प्रतिशत मोबाइल फोन, ६७ प्रतिशत साना स्मार्ट टेलिभिजन र ६५ प्रतिशत पर्सनल कम्प्युटर उत्पादन गर्न थालेको छ ।  रासस/ एपी
 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्