काठमाडौं । नेपाल आयल निगमको थानकोट डिपोमा ट्यांकर व्यवस्थापन, पार्किङलगायत पूर्वाधारका क्षेत्रमा तीव्ररुपमा सुधार भइरहेको छ । विगतमा मुख्य सडकबाट डिपोमा छिर्ने सडकमा ट्यांकरको अव्यवस्थित पार्किङ र डिपोमा जाने बाटो धुलाम्मे हुने हुँदा स्थानीयवासीसमेत डिपोका कारण प्रभावित बनेका थिए । अहिले स्थिति फेरिएको छ ।
एक वर्षअघि सो डिपोको प्रमुख भएका प्रदीपकुमार यादवका अनुसार यहाँ अहिले वरिपरि पक्की पर्खाल बनाइएर सुरक्षा चुनौतीको खतरा हुने स्थितिको अन्त्य गराइएको छ । दैनिक करिब ६०० किलोलिटर पेट्रोल र ८०० किलोलिटर डिजेलको सप्लाई हुने यस डिपोलाई सामान्य तारबारले घेरिँदा असुरक्षा हुँदै आएकोमा अहिले व्यवस्थित तुल्याइएको छ ।
नेपाल–भारत पेट्रोलियम पाइप विस्तारका समयमा अमलेखगञ्ज डिपोका प्रमुख भई परियोजना सफल बनाउन भूमिका निर्वाह गरेका यादव थानकोटको जिम्मेवारीमा आएपछि सुधारका कामले गति लिएकोे निगमले बताएको छ ।
हाल निगमको स्वामित्वमा डिपोमा रहेको ३९ रोपनी जग्गालाई प्रयोग गरेर तीन सय ट्यांकर अट्नसक्ने पार्किङ बनाइएको छ । पार्किङसँगै व्यवस्थित शौचालय र बाथरुमको व्यवस्था गरिएको छ, यसले गर्दा अव्यवस्थित पार्किङको समस्या समाधान भएको छ ।
तेलको आपूर्तिमा भइरहको ढिलाइ अन्त्य गर्न ट्यांकरमा तेल भर्ने प्वाइन्टको संख्यालाई बढाएर दोब्बर बनाइएको डिपो प्रमुख यादवले बताए । रासस