ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

चिराइतोले बजार नपाएपछि खेती छाड्दै

२०७७ फागुन, १४  
प्रदेश ०१
NA

ताप्लेजुङ । विगतमा चिराइतो कृषकको रूपमा स्थापित भएको नाम हो दाबा शेर्पा । उनी सिरिजंघा गाउँपालिका–७ याम्फुदिनका निवासी हुन् । जंगलमा मात्र पाइने चिराइतो ताप्लेजुङमा २०७१ सालमा व्यावसायिक रूपमा बारीमा उत्पादन गरेर चिराइतो कृषकको रूपमा उनी स्थापित भएका हुन् । केही वर्षअगाडि फागुनमा याम्फुदिनमा चिराइतो व्यापारी भरिभराउ हुन्थे ।     

विगतमा उनी चिराइतो संकलन गर्न व्यस्थ हुन्थे । तर आजभोलि निकै फुसर्दिलो भएका छन् । किनकि यस वर्षदेखि चिराइतो खेती गर्न छोडिएको छ । ‘अघिल्लो वर्ष केही चिराइतो व्यापारी घरघरमा आउँथे । यस वर्ष कोही आएनन्,’ उनले भने । उनका अनुसार विगतमा ४० केजीको २८ हजारमा घरमै चिराइतो खरीद गर्न व्यापारी आउने गरेका थिए ।

अहिले चिराइतोको मूल्य नभएकाले कुनै पनि व्यापारी नआएको शेर्पाले बताए । उनले विगतमा एक सय मन चिराइतो उत्पादन गर्थे । अहिले उनको घरमा औषधिका लागि ६/७ केजी मात्र छ । चिराइतोको बजार नभएपछि उनले व्यवसाय परिवर्तन गरिसके । त्यस्तै फक्ताङलुङ गाउँपालिका–६ का राजकुमार राईले पनि चिराइतो खेती गर्न छोडेर अहिले सामान्य मिस्त्री काम गर्न लागेको बताए । विगतमा चिराइतो खेती गर्ने अहिले प्रायः सबैले व्यवसाय परिवर्तन गरेका छन् ।     

विगतमा एक मन चिराइतो २ हजार ६०० मा विक्री हुन्थ्यो । हिमाली समुदायका चिराइतो कृषकले राम्रो आम्दानी गर्थे । जैविक विविधताको देश नेपालमा विभिन्न जडीबुटी पाइन्छन् । चिराइतो महŒवपूर्ण जडीबुटी हो । यो एक हजार ५०० मिटरदेखि दुई हजार ५०० मिटरसम्म अत्यधिक हुने गर्छ । यो दुई वर्षसम्म बाँच्ने जिल्ला वन कार्यालय ताप्लेजुङका कर्मचारी कमला खतिवडाले बताए ।

ज्वरो, कमलपित्त, दम रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटको जुका, सुन्निएको, पोलेको आदि रोगका लागि यसका पात, डाँठ, जरा सम्पूर्ण भाग नै प्रयोग गर्न सकिने खतिवडाले बताए ।

ताप्लेजुङमा सरकारी वनबाट तीन हजार ५०० केजी उत्पादन गर्ने लक्ष्य रहेको वन कार्यालयले बताएको छ । गत आर्थिक वर्षमा ताप्लेजुङबाट १४ हजार ४२० केजी चिराइतो निकासी भएको वन कार्यालयको तथ्यांक छ । चालू आर्थिक वर्षको हालसम्मको अवधिमा ११ हजार १०० केजी निकासी भएको बताइएको छ ।  
   
गतवर्ष इलाम, पाँचथर र संखुवासभामा उत्पादन भएको चिराइतो ओलाङचुङ्गोला नाका हुँदै चीनतर्फ निकासी हुने गरेको चिराइतो व्यापारी दाबा ज्युङदाक शेर्पाले बताए । कोरोनाको कारणले ओलाङ्चुङ्गोलातर्फको टिपताला नाका ११ महीनादेखि बन्द भएको छ । रासस

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्