प्रधानमन्त्री केपी ओलीले विद्युतीय सवारीको युग शुरू भएको बताए पनि सरकारले विद्युतीय सवारीमा कर थपिदिएको छ । विद्युतीय सवारीलाई जति नै प्राथमिकता दिएको भनेर सरकारले बताए पनि व्यवहारमा भने प्रभावकारी नीति र प्रोत्साहन नीति लिएको देखिँदैन । सरकारी प्राथमिकता पेट्रोल डिजेलका गाडीमै रहेको देखिन्छ । सरकारलको ठूलो आम्दानी यस्ता गाडी र तिनमा प्रयोग हुने डिजेल र पेट्रोल विक्रीबाट प्राप्त हुने राजस्व रहेको छ । त्यसैले सरकार वातावरणभन्दा पनि राजस्व बढी प्राप्त हुने क्षेत्रमै रमाएको अनुभूत हुन्छ ।
चालू आर्थिक वर्षको बजेटमा विद्युतीय सवारीसाधनमा अत्यधिक कर लगाइदियो । सरकारको नीति तथा कार्यक्रममा विद्युतीय सवारीसाधनको प्रवर्द्धन गर्ने भनिए पनि बजेटमा थप कर लगाएपछि सरकारको भित्री चाहना के हो भन्ने स्पष्ट भएको छ । त्यस्तै नेपाल विद्युत् प्राधिकरणले राजधानी काठमाडौंमा ५० ओटा विद्युतीय चार्जिङ स्टेशन बनाउने योजना बनाए पनि काम भने हुन सकेको छैन । प्राधिकरणले बिजुलीको महसुल घटाएको थियो । सरकारले विद्युतीय सवारीमा कर नलगाएको भए निजीक्षेत्रले सहज रूपमा नै चार्जिङ स्टेशन निर्माण गर्न सक्थ्यो । तर, सरकारको अस्थिर नीतिका कारण विद्युतीय सवारीमा निजीक्षेत्र लगानी गर्न डराएको छ ।
छिमेकी मुलुक भारतले भने विद्युतीय सवारीको नीतिअनुसार काम तीव्र अगाडि बढाएको छ । दिल्लीमा मात्रै हाल ७० चार्जिङ स्टेशन निर्माण भइसकेको छ । सरकारले दुईपांग्रे सवारीसाधनका लागि ३० हजार भारू बराबरको अनुदान दिन थालेको छ । यस्तै विद्युतीय कारका लागि पनि ३ लाख अनुदान दिने व्यवस्था गरिएको छ । नेपालमा भने ठीकविपरीत कर लगाएर व्यवसायीलाई हतोत्साही बनाइयो । नेपालमा विद्युतीय सवारीसाधनको प्रयोगका लागि प्रोत्साहनको व्यवस्था छैन । सडक दस्तुर र आयातमा केही छूटबाहेक अन्य व्यवस्था छैन । चार्जिङ स्टेशनधरी बनाउन सक्रियता देखिँदैन ।
विद्युत् प्राधिकरणले विद्युतीय सवारी चार्जिङका लागि महसुलसमेत न्यून हुने गरी निर्धारण गरिसकेको छ । हाल केही निजी कम्पनीहरूले आफ्नो प्रयोजनका लागि निर्माण गरेका बाहेक सरकारले दुईओटा मात्रै चार्जिङ स्टेशन बनाएको छ । तर, त्यसलाई व्यावसायिक प्रयोजनका लागि सञ्चालन गर्न सकिएको छैन । त्यसैले सरकारको भनाइ र गराइको अन्तरले विद्युतीय सवारीको संख्या उल्लेख्य बढ्ने देखिँदैन । व्यवसायीहरूले विद्युतीय सवारी आयात गर्न पनि पछिल्लो समय चासो कम दिएको देखिन्छ ।
हेमन्त मल्ल
सामाखुशी, काठमाडौं ।