ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

वित्तीय संकट बुझाउने अंग्रेजी पुस्तक "फाइनान्सियल क्राइसिस : लेसन्स फ्रम एक्सपेरियन्सेस"*

२०७७ फागुन, १४  
विविध
Image Not Found

वित्तीय संकट बेलाबेलामा देखा पर्ने विश्वव्यापी घटना हुन् । तर देशहरूले इतिहासबाट पाठ सिकेर भविष्यमा हुन सक्ने त्यस्ता संकटको सम्भावनालाई न्यूनीकरण गर्ने प्रयास लिई लाभ लिन सक्दछन् । भुवनेश पन्तद्वारा लिखित पुस्तक ‘फाइनान्सियल क्राइसिस : लेसन्स फ्रम एक्सपेरियन्सेस’को उद्देश्य केही प्रमुख वित्तीय संकटहरूको सूक्ष्म समीक्षा गर्दै भविष्यमा आउन सक्ने त्यस्ता संकटका प्रतिकूल प्रभावलाई कसरी कम गर्न सकिन्छ भन्ने सिकाइहरू पहिल्याउने रहेको छ ।

पुस्तकमा ६ अध्यायहरू छन् । परिचयको अध्याय पश्चात् दोस्रो अध्यायले १९९४ को मेक्सिकोमा भएको वित्तीय संकटको कारण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावहरूको समीक्षालाई समेटेको छ ।

यो अध्यायले कडा आलोचनाका बाबजुद गरिएको अन्तरराष्ट्रिय बेलआउट (उद्घार) र संकटको प्रभाव न्यूनीकरणका लागि चालिएका नीतिगत व्यवस्थाहरूको परीक्षण गर्दछ । तेस्रो अध्याय सन् १९९७ को पूर्वी एशियाली (इस्ट एशियन) संकटमा केन्द्रित छ । शुरूमा संकट प्रभावित मुलुकहरूका संकट आउनुभन्दा पहिलेको आर्थिक अवस्थाको बारेमा चर्चा गरिएको छ । त्यसपछि थाइल्यान्डबाट संकट उत्पन्न भएकाले उक्त देशकोे बारेमा चर्चा गरिएको छ ।  

वित्तीय संकटका मुख्य कारक तŒवहरू औंल्याउँदै संकटबाट प्रभावित देशहरूका लागि अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)का सहायता कार्यक्रमहरूको सूक्ष्म मूल्याकंन
गरिएको छ ।

चौथो अध्याय २००७ को विश्वव्यापी वित्तीय संकटका बारेमा छ । २००७ को विश्वव्यापी वित्तीय संकट पहिलेको अरू संकटभन्दा एकदम फरक मानिन्छ । उक्त संकटको स्रोतका बारेमा व्याख्यापछि यही अध्यायमा अन्य संकटहरू र यो विश्वव्यापी वित्तीय संकटबीचमा के समानता र भिन्नताहरू छन् भन्ने स्पष्ट पार्न खोजिएको छ । त्यसपछि विकसित, विकासशील र अति कम विकसित अर्थतन्त्रमा विश्वव्यापी वित्तीय संकट र त्यसको असर न्यूनीकरणका लागि सरकारले लिएका प्रयासहरूको प्रभावको सँगसँगै परीक्षण गरिएको छ ।    
पाँचौं अध्याय १९२९ को स्टक मार्केट क्र्यास र द ग्रेट डिप्रेसन, १९८० को डेब्ट क्राइसिस, १९९८ को रसियाको वित्तीय संकट, २००१ को टर्कीको वित्तीय संकट र २०१० को यूरोपको डेब्ट क्राइसिस लगायत अन्य संकटका उत्पत्ति, प्रभाव र सिकाइको समग्र समीक्षामा केन्द्रित छ ।

यी संकटबाट सिक्न सकिने पाठहरूलाई अन्तिम अध्यायले  संक्षेपमा समेटेको छ ।

समग्रमा यो पुस्तकले १९९४ को मेक्सिकोको वित्तीय संकट, १९९७ को पूर्वी एशियाली (इस्ट एशियन) संकट र विश्वव्यापी वित्तीय संकट लगायत अन्य वित्तीय संकटहरूको प्रष्ट र सीधा विवरणहरू प्रस्तुत गर्दछ । वित्तीय संकटका कारणहरूको सघन रूपमा चर्चा गर्दै यो प्रकाशनले आजको वित्तीय प्रणाली अनुमानयोग्य र सुदृढ बनाउन एउटा दृष्टिकोण दिने प्रयास गरेको छ ।

विगतमा उत्पन्न वित्तीय संकटहरूको सैद्घान्तिक र नीतिगत दृष्टिकोण प्रवाह गर्न लेखक सफल भएका छन् । वित्तीय संकटहरूको उत्पत्ति र त्यसका लागि सरकारहरूले ल्याएका नीतिगत व्यवस्थाका विविध आयामहरू समेटिएको यस पुस्तकले त्यसबाट सिक्न सकिने पाठहरू ग्रहण गर्न सहयोग गर्दछ । साथै आर्थिक र वित्तीय क्षेत्रमा लागेकाहरूले वित्तीय संकटहरूको कारण, समानता, भिन्नता र सम्भावित उपचार सम्बन्धी चेतना बढाएर लाभ लिन सक्छन् ।  

अर्थशास्त्र विषयमा विद्यावारिधि गरेका पन्त राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक समेत हुन् ।  

*भुवनेश पन्तद्वारा लिखित पुस्तक ‘फाइनान्सियल क्राइसिस : लेसन्स फ्रम एक्सपेरियन्सेस’ हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ ।

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्