ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast | Newbiz
arthik abhiyan
ad banner Apache RTR 200 ABS

उच्च रक्तचापबारे चेतना बढे पनि पर्याप्त छैन

२०७७ फागुन, १४  
स्वास्थ्य र जीवन शैली
Image Not Found

रक्त नलीमा रगतको माथिल्लो चाप १४० र तल्लो ९० भन्दा माथि भए उच्च रक्तचाप भएको मानिन्छ । रक्तचाप दुई प्रकारको हुन्छ । यसलाई प्राइमरी र सेकेन्डरी भनिन्छ । सामान्यतः प्राइमरी रक्तचापका बिरामीहरू बढी हुन्छन् । ९० देखि ९५ प्रतिशतलाई प्राइमरी रक्तचापको समस्या हुन्छ । यस्तोमा ८० देखि ९० प्रतिशतमा लक्षण देखिँदैन । प्रेसर जाँचेपछि मात्रै थाहा हुन्छ । १० देखि २० प्रतिशतमा चाहिँ टाउको दुब्खे, टाउको भारी हुने, चक्कर लाग्ने, नाकबाट रगत बग्ने, दम वा एकै पटक ब्रेन हेमरेज वा पक्षघात हुनेजस्ता समस्या देखिन्छन् । पक्षघातको एउटा मुख्य कारण उच्च रक्तचाप हो । वंशानुगत कारणले पनि उच्च रक्तचाप हुन सक्छ । बाबुआमामा उच्च रक्तचापको समस्या छ भने सन्तानलाई पनि हुने सम्भावना बढी हुन्छ ।

सेकेन्डरीमा अन्य कारणले रक्तचाप बढेको हुन्छ । जस्तो, मिर्गाैलामा समस्या भए पनि यो हुन सक्छ । महिलाहरूमा गर्भावस्थामा पनि सेकेन्डरी उच्च रक्तचापको समस्या देखिन सक्छ । थाइराइडका बिरामी, मुटुको मुख्य नली खुम्चिएर, पेन किलर बढी सेवनले पनि उच्च रक्तचापको समस्या हुन सक्दछ । सेकेन्डरी उच्च रक्तचाप ५ देखि १० प्रतिशतलाई मात्र भेटिन्छ । ५० वर्षमाथिको उमेर समूहमा उच्च रक्तचापको समस्या बढी देखापर्छ । तर, हिजोआज ३०/३५ वर्षका युवामा पनि देखिएको छ । कम उमेर समूहमा सेकेन्डरी रक्तचापको सम्भावना बढी हुन्छ । यस्तोमा मिर्गौलाको समस्या, थाइराइड, पेनकिलर सेवन छ कि छैन, यसको निदान गरेपछि उच्च रक्तचापको समस्या निको हुन्छ । यस्ता कारणले उच्च रक्तचापको समस्या देखिएको हो भने मुख्य समस्याको उपचार भएपछि रक्तचापको औषधी आवश्यक पर्दैन । गर्भवतीलाई भएको हो भने बच्चा जन्मिएपछि समान्य हुन्छ । यदि प्राइमरी कारणले भएको हो भने नियमित रूपमा औषधी खानुपर्दछ । केही बिरामीलाई औषधीको सामान्य साइड इफेक्ट पनि हुन सक्छ । केहीलाई खोकी, टाउको दुख्ने, खुट्टा सुन्निने हुन सक्छ । तर, यस्तो अत्यन्तै न्यून मात्र हुन्छ । यस्तो भयो भने चिकित्सकको परामर्शमा औषधी परिवर्तन गर्नुपर्दछ । उच्च रक्तचापकाबारे पहिलाको तुलनामा चेतना बढे पनि पर्याप्त छैन । जीवनशैली सुधार यसबाट जोगिने मुख्य उपाय हो ।

विलासी जीवनशैली अपनाउनेमा यसको जोखिम बढी हुन्छ । दिनमा कम्तीमा ३० देखि ४५ मिनेट व्यायाम गर्नुपर्दछ । दैनिक रूपमा भ्याइएन भने साताा ५ दिन त अनिवार्य गर्नुपर्दछ । कामकाजी र व्यस्त दिनचर्या भएकाले प्रत्येक आधा, एक घन्टामा २०० कदम हिँड्ने गर्दा पनि व्यायाम हुन सक्छ । धूमपान नगर्ने, मोटोपन घटाउने, चिल्लो, तारेको र कार्बोहाइड्रेडयुक्त खानेकुरा कम खाने, खानामा प्रोटिनको मात्रा बढाउने, रातो मासु कम खाने गर्नुपर्दछ । माछा खान सकिन्छ । हरियो सागसब्जी, फलफूल खानुपर्दछ । उच्च रक्तचापको जोखिममा रहेकाले नुनको सेवन कम गर्नेजस्ता व्यवहार अपनाउनुपर्दछ ।

 मुटुरोग विशेषज्ञ डा मधु गुप्तासँग गरिएको कुराकानीमा आधारित

 

प्रतिक्रिया [0]
प्रतिक्रिया दिनुहोस्